इस्लामाबाद (एपी)पाकिस्तानका एकजना नेतालाई लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा आजन्म काराबासको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले सो सजाय सुनाएको बताइएको छ । उनी पाकिस्तानको सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता तथा वर्तमान सांसद हुन् । सो दल पूर्व प्रधानमन्त्री नवाज शरिफको दल हो । 

सांसद हनिफ अब्बासीमाथि लागुऔषधको प्रयोग गरेका अभियोगमा मुद्दा थियो । सो मुद्दामा भएको अन्तिम सुनुवाइमा शनिबार सो आदेश भएको हो । उनी आगामी बुधबार पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा पनि सांसदको उम्मेदवार रहेका थिए । तर मुद्दाको अन्तिम किनारा नलागिसकेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी स्वीकार गरेको थियो । 
उनको आफ्नो औषधि कम्पनीले यस्तो लागु औषध उत्पादन गरेर बजारमा बेच्ने गरेको लागुऔषध नियन्त्रण विभागले पत्ता लगाएको थियो । 
लामो समयको अनुसन्धानपछि उनी दोषी रहेको पत्ता लागेको हो । पाकिस्तानमा जारी कानूनमा लागुऔषधको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । 
तर उनलाई भने आजन्म काराबास तोकिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा जनाइएको छ । उनीमाथि सन् २०१२ मा सो मुद्दा लगाइएको थियो । उनी पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफका एक जना नजिकका सहयोगी हुन् । निर्वाचनको तीन दिनअघि उनलाई अनायासै यो काराबासको सजाय तोकिएको छ ।  यो फैसलाले पनि नवाज शरिफको दललाई राजनीतिक रुपमा ठूलो घाटा पुगेको अधिकारीहरुले जनाएका छन् । 
उनलाई यो फैसला सुनाइएपछि अदालतभित्र उपस्थित उनका समर्थकहरुले अदालतले राजनीतिक रुपमा प्रेरित भएर यो फैसला गरेको आरोप लगाउँदै अदालतका विरुद्धमा नाराबाजी गरेका थिए ।