लोकतन्त्रमा निर्वाचनलाई जनताले सार्वभौम सत्ताको प्रयोग गर्ने मुख्य विधि मानिन्छ । शासनका लागि जनादेश प्राप्त गर्न बालिग मताधिकारका आधारम आवधिक निर्वाचन हुने गर्छ । यसैले निर्वाचन स्वच्छ र निष्पक्ष भएन भने वा मतदाता कुनै पनि रूपमा अलमलिए वा अनुचित प्रभावमा परे भने लोकतन्त्र नै कमजोर हुन्छ । मतदाताले आफ्नो ठानेनन् भने जति नै ठूलो बहुमत ल्याए पनि सरकार स्थिर हुनसक्तैन ।
मतदाता लोभलालचमा परेर बहकिन पनि सक्छन् । बलपूर्वक मतदाताको अधिकार खोस्ने प्रयत्न पनि हुनसक्छ । चुनावमा उम्मेदवार र तिनका समर्थकले ढाँट, छल, झुट, फरेब प्रयोग गरेर मतदातालाई बराल्न पनि खोज्छन् । यस्ता कुनै पनि कार्य नहुनु पर्ने हो तर भइरहेको छ । नेपालमा मात्र हैन अधिकांश गरिब मुलुकमा यस्तै हुनेगरेको छ ।
नेपालमा मतदाताको निर्णयमा खोट देखाउने ठाउँ खासै देखिएको छैन । उनीहरुले मौका पाएका बेला राम्रै निर्णय गरेका छन् । नेपाली मतदाताले सबै ठूला दललाई मौका र सजाय दुवै दिएका छन् । दलका नेताले भने आफू वा आफ्नो दलले चुनाव हार्दा मतदाताको सधैँ अपमान गर्ने प्रवृति हटाउनु पर्दछ । जनताले सही काम गरेका छन् । जनताले जसलाई जनादेश दिएका छन् । त्यो दलले जनतालाई धोका दिनु हुदैन । ५ बर्ष पछि फेरी निर्णय गर्ने अधिकार जनतामा आउछ । यसको सबै दलहरुले हेक्का राख्नु पर्दछ ।