• डा मधुर बस्नेत

सुर्तीजन्य पदार्थको प्रयोगले ज्यान जान्छ भन्ने कुरा हरेक जसो अध्ययन अनुसन्धानले पुष्टी गरेका मात्र छैनन्, सुर्तीजन्य पदार्थको सेवन संसारमै मानिसहरुको ज्यान लिने प्रमुख कारण हो भन्ने कुरा पनि जग जाहेर छ |
यस्तो तथ्य जान्दाजान्दै पनि सुर्तीजन्य पदार्थको सेवन गर्ने आम मानिसहरु त्यसको सेवन रोक्दैनन् वा रोक्न चाहे पनि रोक्न सकिएन भन्ने गुनासो गर्छन | यसका धेरै आयामहरु छन् जसको चर्चा यो पोस्टमा सम्भव छैन तर आफ्नो चिकित्सकीय अभ्यासको क्रममा भएको बिरामीसंगको अनुभव यहाँहरुको निम्ति पनि काम लाग्न सक्छ भन्ने लागेकाले "विश्व धुम्रपान रहित दिवस"को अवसरमा शेयर गर्दैछु !

मेरो ओपीडी मा केही महिना अघि ८२ वर्ष उमेरका एकजना बा "डिप्रेसन"को रोगको शिकायत लिएर आउनुभयो | थप जाँचका क्रममा बा ले पांच वर्षको उमेरदेखि "सुतली"/बिडी/तमाखु खान थाल्नु भएको र हालमा दैनिक कम्तीमा दुई बिटा र बढीमा चार बिटासम्म बिडी खाने गर्नुभएको कुरा खुल्यो | "डिप्रेसन"को उपचार संगै मैले उहाँलाई बिडी छाड्ने सल्लाह दिएँ र बा ले अर्को पटक आउँदा छोडेर आउने प्रतिबध्दता जनाउनुभयो | तीन हप्तामा आउँदा बा ले बिडी छोड्नु भएको एघारौं दिन भैसकेको रहेछ |

म आफूले जाँचेका हरेक बिरामीमा अनिवार्य रूपमा सुर्तीजन्य पदार्थ सेवनका बारे खोजबिन गर्छु र त्यस्तो पाइएमा अनिवार्य रूपमा छाड्ने सल्लाह र सोही अनुरुप परामर्श समेत दिन्छु | धेरै बिरामीहरु यसबाट लाभान्वित हुनुभएको छ |

तर मेरो निम्ति पनि यी बा को केश अलिक बढी चाख लाग्दो रह्यो किनकि झन्डै ७७ वर्ष सुर्तीजन्य पदार्थ सेवन गर्नुभएको, त्यो पनि दिनमा सालाखाला तीन बिटा बिडी सेवन गर्ने मान्छे दशै दिनमा चट्टै छोड्न सफल हुनुभएको थियो (र हाल छ महिनासम्म पनि सेवन गर्नु भएको छैन) !!!

मैले उहाँलाई सोधें कि कसरी उहाँ यति छिट्टै छाड्न सफल हुनुभयो ?

बा को जवाफ थियो- "पैले पैले नि यो खानु हुन्न, ज्यान लिन्छ भन्ने त थाथ्यो, रेड्यो/टीबीले भन्या नि सुन्याथें तर दुन्याले खाका छन्, तेइ नि केइ भा छैन, मलाई नि के होला र जस्तो लाग्थ्यो| तर ह्याँ आएसी त त्यस्तो हैन रछ, यल्ले त साँच्चिकै ज्यान लिन्छ भन्ने आँखा खुले| तेइ नि अलि अलि खांदै थें | तर बाबुले भन्या जस्तो जति सर्को लियो उति यल्ले ज्यान लिराछ भन्नी मनाँ लाग्न थालेसी त दश दिनां त छुटी गो नि नाथे बिडी त... हेहे!!!"

हो वास्तवमा सुर्तीजन्य पदार्थ सेवन गर्ने अक्सर मानिसहरुमा के भ्रम हुन्छ भने सुर्ती/चुरोटले आफ्नो चाहिं ज्यान जाँदैन होला...

तर यथार्थ के हो भने यसले व्यक्तिको आयु सरदरमा १०-२० वर्षले कम गरिरहेको हुन्छ (त्यसबीचमा रोगले भोग्नुपर्ने पीडा त छँदैछ )| हरेको खिल्ली चुरोट सेवन गर्दा सरदरमा पाँच मिनेटको आयु कम भैरहेको हुन्छ |

अब तपाइंले हरेक पटक चुरोटको सर्को तान्दा वा सुर्तीको पित्को ओठमा च्याप्दै गर्दा आफ्नो आयु साँचै घटाइरहेको छु भन्ने सोच्नुस त.......

वा हरेक पल्ट चुरोट तान्न बट्टा खोल्दा वा सुर्तीको पाकेट खोल्दा त्यो फोक्सो/मुखको क्यान्सर सान्चैको भोलि आफुलाई भएको कल्पना गर्नुस त......

अवश्य पनि तपाईं त्यो सुर्ती/चुरोट/गुट्खा/मधु छोड्न सफल हुनुहुनेछ | मात्र जरुरत छ सुर्तीजन्य पदार्थ छाड्ने तपाईंको द्रीढ़ अठोटको .......

त्यसका साथमा थप केही टिप्स:

१. आजै खैनी/सुर्ती/चुरोट/बिडी लगायतका सुर्तीजन्य पदार्थ सेवन गर्ने कुलत त्याग्ने अठोट गर्नुहोस....

२. कुन दिनबाट छाड्ने निर्णय गर्नुहोस र सबैलाई आफुले छाड्ने दिनको बारे बताउनुहोस (किनकि यो तपाईंको जिन्दगीको एकदमै महत्वपूर्ण दिन हो, जसले तपाइंको आयु थप घट्नबाट जोगाउनेछ)...

३. छाड्ने अघिल्लै दिन राति सुत्नु अघि भोलिको त्यो सुन्दर दिनको कल्पना गरेर सुत्नुहोस र भोलिपल्ट बिहानैबाट पूर्ण रूपमा त्याग गर्नुहोस...

४. त्यसरी छाडेपछि अरूलाई सुनाउनुहोस र आफ्ना सुर्ती/चुरोट सेवन गर्ने साथीभाईहरुलाई पनि छाड्नको निम्ति प्रोत्साहन गर्नुहोस...

५. त्यसरी छाडेपछि हरेक दिन बिहान नित्यकर्म सक्ने बित्तिकै मनमनै(डायरी नै लेख्न सके अझै राम्रो) आफुले सुर्ती/चुरोट छाड्न सफल भएकोमा खुशी व्यक्त गर्नुहोस र अब फेरी कहिल्यै सेवन नगर्ने प्रणलाई पुनर्ताजगी गर्नुहोस!!!

यसो गर्दा तपाइंले सुर्ती/चुरोट छाड्न सफल हुने सम्भावना धेरै हुन्छ र मेरो तपाईंलाई अग्रिम बधाई तथा शुभकामना.... तथापि आफ्नो अथक प्रयासका बाबजूद पनि सफल हुनुभएन भने पनि हरेस नखानुस किनकि अब सुर्ती/चुरोटको कुलत छुटाउन धेरै प्रभावकारी वैज्ञानिक विधिहरु उपलब्ध छन्.....जसको सेवा तपाईंले नजिकैको मनोचिकित्सकसँग लिन सक्नु हुन्छ | पूर्वी नेपालका व्यक्तिहरुले यसको निम्ति बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको मनोचिकित्सा ओपीडीमा सम्पर्क राख्न सक्नुहुन्छ | बस्नेतकाे फेसबुकबाट