धरान । कुनै समय समाचार लेख्ने कलमसँगै इतिहास पनि लेखिँदैछ भन्ने चेत सायद कमै पत्रकारमा थियो । दिनदिनैका घटना, राजनीतिक उतारचढाव र सामाजिक परिवर्तनलाई टिपोट गर्दै हिँड्ने पत्रकार आफैंले आफ्नो क्षेत्रको इतिहास खोज्न थाल्दा त्यसको अर्थ अझ गहिरो हुन्छ । धरानलाई कर्मक्षेत्र बनाउनु भएका क्रियाशिल पत्रकार भोजराज श्रेष्ठले यही यात्रामा सात वर्ष बिताउनु भयाे । उहाँले सुनसरीको पत्रकारिता र सञ्चार क्षेत्रको विगत खोत्नु भएकाे छ ।
दैनिक अखवारको कामसँगे उहाँले त्यही खोज, अनुसन्धान र अभिलेखीकरणले ‘सुनसरीको मिडिया परिदृश्य’ एउटा पुस्तकको रुपमा बजारमा ल्याउनु भएकाे छ ।
धरान रिडर्स ग्रुपले प्रकाशन गरेको यो पुस्तक आइतबार धरानमा सार्वजनिक गरिएको छ । पुस्तक सार्वजनिक भइरहँदा कार्यक्रममा उपस्थित पत्रकार, लेखक, प्राध्यापक र साहित्यकारका लागि यो एउटा पुस्तक सार्वजनिक भएको क्षण मात्र थिएन, सुनसरीको पत्रकारिताको छरिएको इतिहासलाई एउटै दस्तावेजमा भेट्ने अवसर पनि थियो । अतिथि दीर्घाबाट बोल्ने बक्ताहरुले पनि त्यही सन्देश दिइरहेका थिए ।
सुनसरीमा पत्रकारिता कसरी सुरु भयो ? यहाँका सञ्चारमाध्यमले कुन समय कस्तो स्वर बोके ? समाज र राजनीतिमा स्थानीय पत्रकारिताले कस्तो भूमिका निर्वाह ग¥यो ? समयसँगै सञ्चारमाध्यम कसरी बदलिए ? यिनै प्रश्नको उत्तर खोज्दै श्रेष्ठले पुस्तक तयार पारेका हुन् । २०३८ सालमा बग्रेल्ती खुलेका पत्रपत्रिकाबारेदेखि आजभोली खुलेका डिजिटल मिडियाबारे पुस्तकमा समेटिएको छ ।
श्रेष्ठका लागि यो पुस्तक लेख्नु नियमित पत्रकारिताजस्तो सहज यात्रा थिएन । समाचार लेखेर अर्को दिन नयाँ विषयको खोजीमा दौडिनुपर्ने पत्रकारिताभन्दा फरक थियो । पुराना तथ्य, अभिलेख, व्यक्तिका अनुभव र सञ्चार क्षेत्रका घटनाक्रमलाई जोड्दै उहाँले करिब सात वर्ष बिताउनु भयाे । ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादकसमेत रहनु भएका श्रेष्ठ विगत १८ वर्षदेखि धरानमा पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
‘सुनसरीको मिडिया परिदृश्य’ तयार पार्नुको उद्देश्य केवल पुराना सञ्चारमाध्यमको सूची बनाउनु नभएको उहाँ बताउँनु हुन्न्छ । उहाँका लागि स्थानीय पत्रकारिता समाजको ऐना हो । समाचारसँगै त्यसले आफ्नो समयको समाज, राजनीति, अर्थतन्त्र र सामाजिक परिवर्तनलाई पनि अभिलेखित गरिरहेको हुन्छ । त्यसैले उहाँले सुनसरीको पत्रकारिताको विगत र वर्तमानलाई एउटै कृतिमा समेट्ने प्रयास गरेका छन् ।
पुस्तकमाथि परिचर्चा गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले यसलाई सुनसरीको पत्रकारिता र सञ्चार क्षेत्र बुझ्न महत्वपूर्ण कृति भएको बताउनु भयाे । उहाँका लागि पुस्तक केवल सञ्चारमाध्यमको विवरण होइन, सुनसरीको पत्रकारिताको इतिहास भएको प्रष्ट पार्रेनु भएकाे छ । पुस्तकमा समेटिएका तथ्य र सामग्रीले जिल्लाको पत्रकारिता कसरी विकसित हुँदै आयो भन्ने बुझ्न सहयोग गर्ने उहाँको भनाइ थियो ।
प्रा. डा. टङ्कप्रसाद न्यौपानेले भने पुस्तकको अर्को पाटो उजागर गर्नु भयाे -'अनुसन्धान' । उहाँका अनुसार पुस्तकमा खोज, अनुसन्धान र विषयवस्तुको विस्तार गरिएको छ । त्यसैले यो पत्रकारिता पढ्नेहरूका लागि मात्र नभई इतिहास खोज्ने अनुसन्धानकर्ता र स्थानीय समाजको विकासक्रम बुझ्न चाहनेका लागि पनि उपयोगी छ ।
‘अनुसन्धानका नियम र प्रक्रिया पूरा गरेर विषयलाई प्रस्तुत गरिएको छ,’ न्यौपानेले भन्नु भयोे, ‘सुनसरीको इतिहाससँगै विश्व पत्रकारिताका विभिन्न पक्षसमेत पुस्तकमा उजागर गरिएको छ ।’ तर पुस्तकलाई अन्तिम सत्य मानेर थन्क्याउनुभन्दा आगामी संस्करणमा विषयवस्तु थप्दै र देखिएका त्रुटि सच्याउँदै लैजानुपर्ने उहाँको सुझाव थियो ।
सुनसरीको पत्रकारिताको इतिहास विभिन्न व्यक्ति, संस्था, पुराना प्रकाशन र अभिलेखमा छरिएर रहेको थियो । त्यसलाई एउटै पुस्तकमा ल्याउने प्रयास ‘सुनसरीको मिडिया परिदृश्य’ले गरेको धरान रिडर्स ग्रुपका सदस्य तथा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष राजेस विद्रोही बताउँनु भएको छ ।
उहाँका अनुसार यसअघि सुनसरीको पत्रकारिताबारे फुटकर लेख र इतिहास सार्वजनिक भए पनि जिल्लाको मिडिया क्षेत्रलाई समग्रतामा समेटेर पुस्तकका रूपमा ल्याइएको यो पहिलो पुस्तक हो ।
कार्यक्रमका प्रमुख अतिथि धरानका पूर्वनगरप्रमुख तिलक राईले पुस्तकलाई सुनसरीको पत्रकारिता क्षेत्रको ऐतिहासिक दस्तावेजका रूपमा लिन सकिने बताउनु भयो ।
स्थानीय पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई व्यवस्थित रूपमा अभिलेखित गर्नु आफैंमा महत्वपूर्ण काम हो। किनकि समय बित्दै जाँदा मानिसहरू बिर्सन्छन्, संस्थाहरू बदलिन्छन् र पुराना कागजपत्र हराउँदै जान्छन् । तर पुस्तकमा सुरक्षित गरिएको इतिहास पुस्तौँसम्म पढ्न सकिन्छ । ‘सुनसरीको मिडिया परिदृश्य’ले यही काम गर्ने अपेक्षा गरिएको छ ।
डिजिटल युगमा समाचार क्षणभरमै हराउने जोखिम छ । आज प्रकाशित समाचार भोलि अर्को समाचारले विस्थापित गर्छ । तर पत्रकारिताले निर्माण गरेको समाजको स्मृति जोगाउन अभिलेख आवश्यक हुन्छ । श्रेष्ठको सात वर्ष लामो खोजले त्यही स्मृतिलाई पुस्तकको आकार दिएको हो ।
‘सुनसरीको मिडिया परिदृश्य’ त्यसैले केवल पत्रकारिताको किताब होइन । यो सुनसरीले आफूलाई कसरी लेख्दै, पढ्दै र अभिव्यक्त गर्दै आयो भन्ने एउटा सामाजिक दस्तावेज पनि भएको बक्ताहरुले उल्लेख गर्नु भएको छ ।
समाचारका पछाडि दौडिने पत्रकारले एकपटक आफ्नै क्षेत्रको विगततिर फर्केर हेरेका छन् । त्यो फर्काइबाट जन्मिएको पुस्तकले अब सुनसरीको पत्रकारितालाई हेर्ने एउटा नयाँ अवसर खोलेको मान्न सकिन्छ ।
पुस्तकः सुनसरीको मिडिया परिदृश्य
विधाः पत्रकारिताको इतिहास
प्रकाशकः धरान रिडर्स ग्रुप
मूल्यः रु.७९९/–




















