धरान / नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले आफू राजनीतिक पर्यटक नभई धरानमै जन्मेर हुर्केको स्थानीय उम्मेद्वार भएको बताउनुभएको छ । उहाँले धरान र सुनसरी निर्वाचन क्षेत्र नं. १ लाई पर्यटकीय सहर बनाउने लक्ष्य राखिएको भए पनि हालसम्म राजनीतिक पर्यटक उम्मेद्वारकै प्रभावमा परेको टिप्पणी गर्नुभयो ।
आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उम्मेद्वार भट्टराईले आफू धरानमै जन्मेको, हुर्केको, अध्ययन गरेको र यहीँको सामाजिक परिवेशमा सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन जितेपछि मात्र नभई हार–जित जे भए पनि सधैँ जनताकै बीचमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“हामीले धरान र सुनसरी–१ लाई खर्च गर्ने पर्यटक आउने सहर बनाउने भनेका छौँ । तर यहाँ खर्च गर्ने पर्यटकभन्दा राजनीति गर्न आउने पर्यटक उम्मेद्वारहरूका कारण जनताले सास्ती भोग्नुपरेको छ,” उहाँले भन्नुभयो, “विगतदेखि नै बाहिरबाट आउने उम्मेद्वारहरूले जित्दै आएको अवस्था छ । त्यसैले जनतामा जितेपछि फर्केर नआउने हो कि भन्ने आशंका देखिन्छ ।”
उहाँले आफूलाई जनताले विश्वासका साथ मत दिएर विजयी गराए पछुतो हुन नदिने दाबी गर्नुभयो । “म यहाँबाट मोटरसाइकलमा हिँडे आधा घण्टाभित्र सुनसरी–१ को जुनसुकै स्थानमा पुग्न सक्छु । दुःख–सुखमा साथ दिन सधैँ तयार छु । हार्दा पनि यहीँ हुन्छु, जित्दा अझ बढी जिम्मेवारीका साथ काम गर्नेछु,” उहाँले भन्नुभयो ।
उम्मेद्वार भट्टराईले नेपाली कम्युनिष्ट पार्टी नै वास्तविक अर्थमा नयाँ राजनीतिक शक्ति भएको जिकिर गर्नुभयो । उहाँका अनुसार २५ भन्दा बढी घटक एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको हो र यही पार्टी नयाँ विकल्पका रूपमा निर्वाचनमा सहभागी भएको छ ।
“कम्युनिष्ट आन्दोलनलाई एकीकृत केन्द्रमा ल्याउने उद्देश्यले २५ भन्दा बढी घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भएको हो । चुनाव चिह्न ‘तारा’ लिएर हामी पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछौँ,” उहाँले भन्नुभयो, “पार्टी दर्ता भएपछि नयाँ दर्ता भएको दल अरू छैनन् । नयाँ शक्ति खोज्ने हो भने नेपाली कम्युनिष्ट पार्टीलाई नै हेर्नुपर्छ ।”
उहाँले नयाँ शक्ति भनेर चर्चा गरिएका अन्य दलहरू यसअघि नै निर्वाचनमा सहभागी भइसकेकाले ती नयाँ नभएको दाबी गर्नुभयो ।
प्रतिबद्धता सार्वजनिक
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जीवनकुमार राईले पार्टीको केन्द्रीय घोषणापत्रको जगमा तयार गरिएको क्षेत्रीय प्रतिबद्धता पत्र वाचन गर्दै सुनसरी १ केन्द्रित योजनाहरू सार्वजनिक गर्नु भएको थियो ।
प्रतिवद्धता पत्रमा भौतिक पूर्वाधारतर्फ सबैभन्दा महत्वाकांक्षी योजना धरान लेउती बहुउद्देश्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिउको छ । ३२ किलोमिटर घुमाउरो सडकलाई ५ किलोमिटरमा छोट्याउने धरान लेउती बहुउद्देश्यीय सुरुङमार्ग अघि सारिएको छ । यसले धरानलाई पूर्वी पहाडसँग छिटो जोड्ने, व्यापारिक र शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनसरी १ भित्र रहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता गरिएको छ । वास्तविक सुकुम्बासी परिवारको पहिचान गरी उनीहरूको रोजगारी, शिप विकास तथा जीविकोपार्जनका अवसर सृजना गर्न नीतिगत पहल गरिने जनाइएको छ ।
धरान १७ का दुई कार्यकाल वडाअध्यक्ष भइसकेका मनोज भट्टराईले आफ्नो कार्यकाललाई आधार बनाउँदै पारदर्शिता र उत्तरदायित्वलाई प्रमुख एजेन्डा बनाएको छ ।
उम्मेदवार भट्टराईले नेपालको सार्वजनिक खरिद ऐनको “सबैभन्दा कम कबोल गर्नेलाई ठेक्का दिने” प्रावधानले विकासको गुणस्तर खस्किएको तर्क गगदैं त्यसलाई सुधार गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
धरान, बराहक्षेत्र र आसपासका धार्मिक तथा ऐतिहासिक स्थल पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, विष्णुपादुका, बराहक्षेत्र, विजयपुर दरबारलाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने प्रतिबद्धता गरिएको छ । ‘थाउजेन बिग बुद्ध’ परियोजना, सिमसार संरक्षण, जलपर्यटन, आदिवासी जनजाति संग्रहालय पूर्णता, सप्तरंगी पार्क र बोटानिकल गार्डेन निर्माणलाई प्राथमिकता दिइएको छ ।
धरान ४, ५, ६ मा बेमौसमी तरकारी, बराहक्षेत्र र रामधुनीमा दूध(मासु उत्पादन, अदुवा, बेसार, तेजपत्ता पकेट क्षेत्र निर्धारण गर्ने योजना सार्वजनिक गरिएको छ । कृषि बजारको स्तरोन्नति, भण्डारण र बजारिकरण सुधार गर्ने प्रतिबद्धता पनि राखिएको छ ।
सुनसरी १ लाई शैक्षिक हब बनाउने, आईटी पार्क निर्माण गर्ने, डिजिटल प्लेटफर्ममार्फत रोजगारी सृजना गर्ने, युवालाई स्वरोजगारमुखी बनाउने लक्ष्य राखिएको छ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र केन्द्रिय प्रविधि क्याम्पसलाई अनुसन्धान उत्पादन केन्द्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधासम्पन्न विश्वविद्यालय र प्रविधियुक्त अस्पतालका रूपमा विकास गर्ने, धरान नगर अस्पताल सुदृढ गर्ने र ट्रमा सेन्टर स्थापना गर्ने योजना समेटिएको छ ।
खानेपानीको दीर्घकालीन समाधान, वितरण प्रणाली सुधार, ११ केभि र ३३ केभि हाइटेन्सन लाइन व्यवस्थापन, फोहरमैला वैज्ञानिक व्यवस्थापन र सर्दु जलाधार संरक्षणको विषयलाई प्राथमिकतामा राखिएको छ ।



















