धरान / मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ ।
तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उहाँ ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष हुनु भयो । पहिलो स्थानीय निर्वाचनमा त धरानमा माओवादीको नाममा खाता खोल्ने उम्मेदवारको नाममा मनोज भट्टराईको नाम जोडिन्छ । यो दुई कार्यकालको अनुभवले मनोजलाई परिपक्व नेतृत्वको रुपमा स्थापित गरायो । यो कार्यकालमा उहाँले धरान १७ को रेल्वेचौकलाई बगैचासहितको ४ लेनको सडक बनाउनु भयो । जो धरानको एकमात्र सडक हो । सरस्वती ढल तथा करिडोर निर्माण ६ करोड बजेट लगाउन सफल हुनु भयो । धरानभित्रकै एकमात्र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र आफ्नो वडामा स्थापना गरे अनि वडाध्यक्ष भए वापत आउने सेवासुविधा नलिएर राजश्वमा जम्मा गरिदिनु भयो । यसैगरि कोभिडको समयमा सचेत नागरिक समाज धरान १७ सङ्गको सहकार्यमा खाद्यान्न वितरण, क्वारेन्टाइन केन्द्र स्थापना तथा अप्ठ्यारेमा परेका ३सय ५० जनालाई दैनिक ४६ दिन खाना खुवाउनु भएको थियो ।
वडाध्यक्ष भएपछि संस्थागतरुपले मनोज भट्टराई खानेपानी व्यवस्थापन बोर्डको सदस्य बन्नु भयो । रेडक्रसमासमेत सक्रिय रहनु भयो । सुनसरी जिल्ला जुडो सङ्घको अध्यक्ष हुनु भयो । धरान उपमहानगरपालिकाको प्रवक्ता बन्नु भयो । अनि नेपाली कम्युनिस्ट पार्टी हुनुअगाडिको नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रदेश सदस्य रहनु भएको थियो । यतिबेला भने उहाँ प्रतिनिधि सभा सदस्यको उम्मेद्वारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । अर्थात, नेतृत्वको कोणबाट अलि ठूलो भूगोल र जिम्मेवारीमा । निर्वाचनमा जित्ने उहाँको आधार के त ? उहाँ भन्नुहुन्छ–‘जनताको माया र सद्भाव अनि मेरो कामप्रतिको जवाफदेशिता ।’
प्रतिस्पर्धीहरुलाई गालीगलौज नगर्ने प्रतिवद्धता लिएर चुनावी मैदानमा उत्रिनु भएका उहाँसँग ‘फिजिकल कनेन्टिभिटी’ र ‘स्पिरिचुवल कनेक्टिभिटि’को मुद्धा छ । अर्थात, उहाँ धरान–बराहक्षेत्र– रामधुनीलाई जोड्न चाहनुहुन्छ । ‘फिजिकल्ली र स्पिरिचुअल्ली’ । सडक सञ्जाल उहाँकाे ‘फिजिकल्ली कनेक्टिभिटि’को मुद्दा हो । मनोज भट्टराई भन्नुहुन्छ–‘सुनसरी क्षेत्र–१ को चुनावी भूगोल धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकासँग जोडिन्छ तर मनमा चै सर्दु वारि र सर्दु पारि भन्ने मनोविज्ञान छ । म यो मनोविज्ञानलाई ‘फिजिकल कनेक्टिभिटि’को मुद्दाले निमिट्यान्न पार्न आएको हुँ ।’
उहाँको ‘स्पिरिचुवल’ मुद्दा चै धरान, बराहक्षेत्र र रामधुनीलाई धार्मिकरुपमा जोड्ने मुद्दा हो । उहाँको विचारमा धरान, बराहक्षेत्र र रामधुनीलाई धार्मिकरुपमा जोड्न सकिन्छ भन्ने छ । धरान–१४ मा रहेको दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर तथा धरान–२० मा रहेको विष्णृुपादुका मन्दिरलाई बराहक्षेत्र नगरपालिकाको बराहक्षेत्र मन्दिर र रामधुनी रामधुनी नगरपालिकाको रामधुनी मन्दिरसँग जोडेर ‘स्पिरिचुवल कनेक्सन’ गर्न सकिन्छ भन्ने सोच बाक्नु भएको छ । मनोज भट्टराई भन्नुहुन्छ–‘यसरी जोडेर धार्मिक पर्यटनमार्फत हामी 'स्पिरिचुवल कनेक्टिभिटि’मा रहन सक्छौ ।’ यी बाहेक उहाँसँग धरान–२० लाई पहाडी वडाको रुपमा स्थापित गरेर यसको सुन्दरतालाई जोगाउनु पर्छ भन्ने मान्यता छ । किन पहाडी वडाको रुपमा जोगाउने त ? उहाँको तर्क छ –‘धरान यस्तो होस्, जहाँ पहाड पनि होस् र मैदान पनि ।’ उहाँसँ्ग भएको अर्को योजना भनेको धरान–१४ लाई धरानको धार्मिक पर्यटनको हब’ बनाउने, किनकि यहाँ धरान नामलाई चलायमान बनाउने दन्तकाली र पिण्डेश्वरी मन्दिर छ भने किरातहरुको आस्था जोडिएको बुढासुब्बा माङ्खिम पनि छ । यही सेरोफेरोमा किरात इतिहाससँग जोडिएको दरबार क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि उहाँसँग छ ।
उहाँले ॅस्पिरिचुवल र फिजिकल कनेक्टिभिटी’ को कुरा गर्दा उद्योग, शिक्षा र स्वास्थ्यलाई भुलेको भने होइन । केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरेर शैक्षिक तथा स्वास्थ्य केन्द्रको थलो बनाउने हुटहुटी छ । निर्वाचन क्षेत्रभित्र रहेका विभिन्न वन तथा प्राकृतिक तालहरुलाई स्तरोन्नती गर्ने योजना छ । यसैगरि साहित्य, खेलकुद, सङ्गीत र नाट्य क्षेत्रको प्रवद्र्धनमा जोड दिने, खानेपानीको अभाव तथा सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने योजना पनि बोकेर चुनावी मैदानमा रहेका छन् । अझ, धेरै त धरान–लेउती बहुउद्देस्यीय सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्ने लक्ष्य छ, जुन सुरुङमार्गबाट तमोरको पानी ल्याउने योजना पनि छ ।
सुनसरी–१ को भूगोललाई यति धेरै नजिकबाट हेर्न सक्नु र जोड्न सक्ने रणनीतिको तयारी गर्न के कुराले सक्षम बनायो त ? मनोज भन्नुहुन्छ –‘म रैथाने हुँ नि त ! म धरान–१७ मा जन्मिएँ, हुर्किएँ, महेन्द्र बुहुमुखी क्याम्पस धरानमै पढेँ र धरान–१७ मा दुई कार्यकाल वडाध्यक्ष भएँ ।’ तिलकबहादुर भट्टराई र कृष्णकुमारी भट्टराईको दोस्रो सन्तानकोरुपमा २०४० सालमा जन्मिएका मनोज भट्टराई धरान बसाइको साइनोमा बराजु पुस्ताको 'लिगेसी’ छ । धरान–१७ मा धनकुटाको आँखिसल्लाबाट मनोजका बराजु सनमान भट्टराई धरान झरेका थिए, जसले झोडा फाँडेर घर बनाए । मनोजका एक दिदी, दुई बहिनी र एक भाइ छन् । अन्तरजातीय विवाह गरेका उहाँ तीन सन्तानका बुबा हुन् । मनोज भन्नुहुन्छ–‘मलाई भोट दिनुहोस्, म भूगोल र मन जोड्ने पुलको काम गर्नेछु ।’ उहाँ यि र यस्ता एजेण्डाहरु लिएर मतदाताहरुको घरदैलोमा पुग्नु भएको छ । बुहसांस्कृति, बहुभाषा, बहुजाति, बहुसंस्कारलाई जोगाउदैं एउटा सामाजिक सद्भावयुक्त समाज कायम गराउन सबैसँग सहकार्य गरेर अगाडी बढ्ने उहाँले नीति लिनु भएको छ ।



















