धरान / नयाँ र पुराना राजनीतिक शक्तिबीच सम्भावित द्वन्द्व, हेभिवेट उम्मेदवारको आमनेसामने प्रतिस्पर्धा र सहरी क्षेत्रमा बढ्दो राजनीतिक सक्रियताका कारण कोशी प्रदेशमा सुरक्षा चुनौती उच्च रहेको पाइएको छ । 

निर्वाचन नजिकिँदै गर्दा नयाँ पुराना दलहरूको द्वन्द्वसँगै विशेषगरेर झापा, मोरङ र सुनसरी खुल्ला सिमानाका कारण पनि सुरक्षा चुनौती उच्च रहेको सुरक्षा स्रोतले जनाएको छ । 

झापा–५ र सुनसरी–१ मा सुरक्षा जोखिम

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेका अनुसार झापा–५ र सुनसरी–१ मा सुरक्षा चुनौती रहेको छ । सुनसरी–१ मा हर्क साम्पाङ नगर प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिनु भएको छ । कार्यपालिका बैठकमा पटक–पटक विवाद र तर्क वितर्क हुँदै आएका १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराई (सूर्यप्रसाद) पनि वडाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा हुनुहुन्छ । विगतमा उहाँले हर्क साम्पाङलाई खुल्लारूपमा आफूसँग वडाध्यक्षमा चुनाव लड्न चुनौती दिँदै आउनु भएको थियो । संयोगले श्रम संस्कृति पार्टीबाट साम्पाङ र नेपाली कम्प्युनिष्ट पार्टीबाट भट्टराई आमनेसामने हुनु भएको छ । यी दुई उम्मेदवार र कार्यकर्ताबीच द्वन्द्व हुन सक्ने सुरक्षा संयन्त्रको आँकलन छ । 

सुनसरी–१ मा राई र लिम्बू समुदायको बाहुल्यता रहेको छ । त्यसपछि ब्राह्मण–क्षेत्री, नेवार, दलित र तामाङ समुदाय रहेका छन् ।  यसपटक एमालेले टीका माङ्लेन लिम्बू, काङ्ग्रेसले सुजेन्द्र तामाङ, रास्वपाले गोमा तामाङ (सरिन)लाई उम्मेदवार बनाएका छन् । 

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङको सामाजिक सञ्जाल पृष्ठमा समर्थक र अन्य दलका कार्यकर्ताबीच भएका तीखा टिप्पणी र प्रतिक्रियाले चुनावी वातावरण बिग्रन सक्ने आशङ्का बढेकाले सुरक्षा संयन्त्र कडा बनाइएको प्रहरीले जनाएको छ ।

यस्तै झापा–५ केपी ओलीको क्षेत्र हो । फराकिलो मतान्तरले लगातार संसदीय चुनाव जित्दै आएका नेकपा (एमाले) का पार्टी अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरका पूर्व नगर प्रमुख बालेन साह चुनावी मैदानमा आएपछि सुरक्षा चुनौती बढेको सुरक्षा स्रोतको भनाइ छ । यही माघ ५ गते भएको मनोनयन दर्तामा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूबीच मुठभेड नै भएको थियो । यस घटनाले सुरक्षालाई थप चुनौती थपेको सुरक्षा निकायको भनाइ छ ।  

तराई र सीमावर्ती क्षेत्रमा कडाइ

binod ghimire

डिआइजी घिमिरेका अनुसार तराईका केही सीमावर्र्ती जिल्ला तथा अघिल्लो समय असहज गतिविधि देखिएका क्षेत्रमा विशेष निगरानी बढाइएको छ । सीमाक्षेत्रमा आवत–जावतमाथि कडाइका साथ निगरानी भइरहेको र शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही भइरहेको उनले स्पष्ट पारे ।

“निर्वाचनको समयमा कुनै पनि किसिमको हिंसा, अराजकता वा अबाञ्छित गतिविधि हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय गरी काम भइरहेको छ” घिमिरेले भन्नु भयोे, “शान्ति सुरक्षामा चुनौती सिर्जना गर्नसक्ने तत्ववलाई पहिचान गर्ने र विभिन्न राजनीतिक दल, नागरिक समाजसँग समन्वय गर्ने काम नेपाल प्रहरीले गरिरहेको छ ।” 

उहाँका अनुसार अघिल्ला आन्दोलन, फरार अभियुक्त, आपराधिक समूह तथा हतियार र विष्फोटक पदार्थको सम्भावित प्रयोगलाई ध्यानमा राखेर सुरक्षा रणनीति बनाइएको छ । विगतको तुलनामा अवैध हतियारको पहुँच कम भए पनि त्यसलाई थप नियन्त्रणमा राख्न निरन्तर निगरानी भइरहेको उहाँले बताउनु भयो ।  

उहाँका अनुसार कोशी प्रदेशमा गत भदौ २३ र २४ को आन्दोलनका बेला १५ सय कैदीहरू फरार भएका थिए । तीमध्ये ४ सय जति अझै फरार  रहेको प्रदेश प्रहरीको रेकर्डमा उल्लेख छ । तर ती प्रायः भारत प्रवेश गरेकाले उनीहरू सुरक्षा चुनौती नभएको डिआइजी घिमिरे बताउँनुहुन्छ । लुटिएका हतिहारहरू १०–१२ वटा अझै भेटिएका छैनन् । ती हतियार पनि काम नलाग्ने किसिमको भएको प्रहरीको भनाइ छ । “कोशी प्रदेशमा निर्वाचनका लागि लुटिएका हतियार र फरार कैदी खासै सुरक्षा चुनौती होइन । खुल्ला सिमानामा हुने अवैध हतियार र जाउजाउ तथा नयाँ र पुराना दलहरूबीचको टक्कराव चाहिँ प्रमुख सुरक्षा चुनौती हुन सक्छन्” डिआइजी घिमिरेले भन्नु भयो, “यसपटक कोशी प्रदेशमा सुरक्षा चुनौती बढ्नुको एउटा प्रमुख कारण नयाँ राजनीतिक शक्तिको उदय र पुराना दलहरूसँगको अन्तरविरोध र सङ्घर्ष हो ।”

केही जिल्लाका हेभिवेट उम्मेदवार र नयाँ–पुराना राजनीतिक शक्तिको आमनेसामने प्रतिस्पर्धाका कारण प्रदेशमा मुठभेड हुनसक्ने चिन्ता सुरक्षा निकायमा छ ।

झापामा एमालेको नेसनल भोलेन्टियर फोर्सको झापा जिल्ला कमिटी घोषणा गरेको छ । सुरक्षा अधिकारीहरूका अनुसार यसको मुख्य उद्देश्य आगामी चुनावमा सङ्गठनात्मक प्रभाव जमाउनु हो । एक सुरक्षा अधिकारी भन्छन्, “बालेन साहले समेत झापाबाट उम्मेदवारी दिएपछि अवस्था सोचेभन्दा बढी जटिल बन्न सक्छ । नयाँ र पुरानाबीच प्रत्यक्ष द्वन्द्वको जोखिम देखिएकोले चुनौती उच्च छ ।”

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी १६ पुसमा विराटनगरमा सम्पन्न भएको थियो । त्यतिबेला बालेन साहले झापाबाट उम्मेदवारी दिने चर्चा खासै थिएन । अहिलेको राजनीतिक घटनाक्रमले त्यतिबेलाको आँकलनभन्दा सुरक्षा चुनौती फरक बनेको ती अधिकारीको भनाइ छ ।

डिआइजी घिमिरेले निर्वाचन सफल बनाउन राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै सरोकारवाला पक्षको सहयोग अपरिहार्य रहेको बताउनु भयो । सुरक्षा निकायका अनुसार आगामी दिनमा राजनीतिक गतिविधि थप चर्किंदै जाँदा सुरक्षा सतर्कता अझ बढाइनेछ ।  डिआइजी विनोद घिमिरेले निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले उच्च सतर्कताका साथ सुरक्षा तयारी गरिरहेको बतानु भएको छ । उहाँका अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरी २३ हजार ४ सय १४ जना, सशस्त्रबाट ३ हजार २ सय ६१ जना, नेपाल प्रहरीबाट १२ हजार बढी निर्वाचन सुरक्षाका लागि तैनाथ पारिएको छ । जिल्ला सुरक्षा समितिले तय गरेका संवेदनशील, अति संवेदनशील र सामान्य क्षेत्रको वर्गीकरणअनुसार सुरक्षाकर्मी खटाउने तयारी भएको छ । 

उहाँले निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापन, जोखिम मूल्याङ्कन र सुरक्षा योजना निर्माण भइसकेको जानकारी दिनु भयो । प्रत्येक मतदान केन्द्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने विषय जोखिमको आधारमा निर्धारण गरिएको उहाँको भनाइ छ । डिआइजी घिमिरेका अनुसार तराईका केही सीमावर्ती जिल्ला तथा अघिल्लो समय असहज गतिविधि देखिएका क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ । सीमा क्षेत्रमा आवतजावतमाथि कडाइका साथ निगरानी भइरहेको र शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही भइरहेको उहाँको भनाई छ । 

निर्वाचनको समयमा कुनै पनि किसिमको अराजकता, हिंसा वा अबाञ्छित गतिविधि हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय गरी काम भइरहेको छ । शान्ति सुरक्षामा चुनौती सिर्जना गर्नसक्ने तत्वहरूलाई पहिचान गरी नियन्त्रणमा लिने काम भइरहेको छ । 

कोशी प्रदेशमा कुल ११ हजार ९ सय ७ मतदानस्थल कायम गरिएको छ । तीमध्ये ४ सय ३९ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । सुरक्षा निकायका अनुसार ८ सय २१ स्थल संवेदनशील र ६ सय ४७ स्थल सामान्य चुनावी स्थलका रूपमा वर्गीकरण गरिएको छ । मतदान केन्द्रतर्फ ४ हजार २ सय ७० मध्ये १ हजार १६ अति संवेदनशील, १ हजार ८ सय ६९ संवेदनशील र १ हजार ३ सय ८५ सामान्य केन्द्र रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता छन् । तीमध्ये पुरुष १८ लाख २८ हजार २ सय १३ जना, महिला १७ लाख ४६ हजार ७३ र अन्य २४ जना रहेका छन् । (ब्लाष्ट दैनिकबाट)