मंगलबारको त्यो मनोसामाजिक धक्काले देशलाई झस्कायो—काठमाडौंमा लागेको आगोले केवल भवनहरू जलाएन, यो राष्ट्रको आत्मा नै खरानी बनायो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सर्वोच्च अदालत, संसद भवन—तीनै अंगहरूलाई प्रतिनिधित्व गर्ने संरचनाहरू आक्रोशको लप्कामा परे। यो कुनै सामान्य आगलागी थिएन– यो राज्य संयन्त्रको विफलता, हाम्रो प्रशासनिक सुस्तता र ऐतिहासिक संवेदनशीलताको अपूरणीय क्षति थियो।

२०३० सालको सिंहदरवार आगलागीको सम्झना आज पनि जीवित छ—जहाँ सुगौली सन्धिको मूल प्रति जलेको भनिन्छ। तर, त्यतिखेरको राज्य संयन्त्रले वीरगञ्जसम्मबाट दमकल मगाएर आगो निभाउन प्रयास गरेको थियो। अहिले भने राज्य आफैं असहाय देखियो, संयन्त्र निष्क्रिय देखियो, नेतृत्व मौन देखियो। ‘आगो लगाउनेहरू भए, तर निभाउने कोही भएनन्’ भन्ने वाक्य यस घटनाको सबैभन्दा मार्मिक र भयावह सत्य हो।

samsad1

यसपटकको क्षति आँकलन गर्न पनि कठिन छ। भौतिक संरचनाहरू त फेरि बनाउला, तर जलेर नष्ट भएका कागजातहरू, दस्तावेजहरू, सन्धि–सम्झौताहरू, ऐतिहासिक निर्णयहरू अब कहिल्यै फर्कने छैनन्। ती केवल सरकारी फाइल मात्र होइनन्, ती हाम्रो इतिहास थिए, हाम्रो राष्ट्रिय स्मृति थिए, ती कागजहरूमा हाम्रो अस्तित्व लेखिएको थियो। ती जलेर गएका छन् भने, हाम्रो भविष्य पनि अध्यारोमा हराएको हो।

अत्यन्तै चिन्ताजनक कुरा के हो भने यति संवेदनशील संरचनाहरू—प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, सर्वोच्च अदालत—जसको सुरक्षा राज्यको पहिलो दायित्व हो, त्यहीँबाट सुरु भएको सुरक्षा चक्र भत्किएको पाइयो। नागरिक आन्दोलन वा आन्दोलनकारीहरूको आक्रोश आफ्नै ठाउँमा छ, तर राज्यका अमूल्य सम्पत्तिको रक्षा नगर्नु, समयमै रोकथाम गर्न असफल हुनु—यो समग्रमा राज्य संयन्त्रको गम्भीर विफलता हो।

जेन जी पुस्ताको आन्दोलनले आजको सुशासनविहीन नेतृत्वप्रति प्रश्न उठाउनु जायज हो। तर यो अराजकताको बीचमा हाम्रो साझा सम्पत्ति, हाम्रो ऐतिहासिक धरोहर, हाम्रो अस्तित्व नै सखाप हुनु, कसैको पनि हितमा थिएन। अब प्रश्न उठ्छ—के हामी आफैं आफ्नो इतिहासको संरक्षक बन्न असफल भयौंरु के यो पुस्ताले भावी पुस्ताको स्मृतिमा कालो पानाको हस्तान्तरण गर्‍यो । 

आज हामी अँध्यारो वर्तमानबाट हेर्दैछौं—जहाँ भविष्य अध्यारो छ र इतिहास खरानी। यो केवल एक आन्दोलनको परिणाम होइन, यो दशकौँदेखि संचित विफलताको विस्फोट हो। यसले हामीलाई चेतावनी दिएको छ—यदि अब पनि हामीले आफ्नो इतिहास, आफ्नो सम्पदा र आफ्नो अस्तित्वको रक्षा गर्न सकेनौं भने, अर्को पुस्ताले हामीलाई क्षमादान दिनेछैन। हामीले केवल संरचना गुमाएका छैनौं, हामीले आफ्नै अनुहार गुमाएका छौं।

Supreme-Court