- मञ्जुला तामङ सुब्बा
अभावको थुप्रोबाट देखे कमलले ढुङ्गालाई सुन
गाउँघरको हरियाली, माटो, हावापानीमा देखे गुणैगुण
पाखुरी बजाई, पसिना बगाई उन्नतिको नहर खने गाउँमा
सम्मान, गर्व गर्छन् सामसिङ कमल गिरीको सुनाममा।
उत्तर-पश्चिम डुवर्सको पर्यटकीय
क्षेत्र सामसिङ, प्राकृतिक सौन्दर्य, कृषि क्षेत्र साथै पर्यटन क्षेत्रले सुपरिचित
स्थान हो। चाल्साको समतलदेखि उकालो पहाड़तर्फ लाग्दा मटेली बजार हुँदै सामसिङको
सेरोफेरो रमणीय गाउँहरू पर्दछन्। गुम्पा डाँड़ा,भूजेल गाउँ, शेर्पा गाउँ, मण्डल
गाउँ, तल्लो गाउँ, फारी (वनबस्ती), चिप्ले डाँड़ा, घुम्ती ब्लक, सुन्दर बस्ती,
तल्लो माथिल्लो गन्ती, कुमाईं सामसिङ चिया बगान, पारीपट्टि तीन कटेरी, फेदमा
मूर्ति खोला साथै चिप्ले खोला, हाँड़ी खोला, सुन्तले खोलाहरू बग्दछन्। यी सबै
गाउँबाट हाट भर्न गाउँलेहरू आइतबारे हाटमा मटेली बजार पुग्छन्। उसो त मटेली बजार
व्यवसायको केन्द्र सधैं चहल पहलले व्यस्त रहन्छ यद्यपि हाट बजारको महत्त्व छुट्टै
रहिआएको छ गाउँबस्तीको जैविक, रसायनमुक्त उत्पादित सामग्रीहरूप्रति आकर्षित हुने
गर्छौं हाट बजारमा।
‘सामसिङ’ अपभ्रंश शब्द हो वास्तवमा सामसिङ नभएर श्यामसिंह
हो भन्ने जनश्रुति अथवा इतिहासकारहरू बताउँछन्। पृथ्वी नारायाण शाहको गोर्खा सेनाका
सेनापति श्यामसिंह बस्नेत चढ़ाईं गर्दै अघि बढ्दै कोचबिहार अलिपुर र अन्य ठाउँहरू
विजय हासिल गरी मटेलीको छेउछाउतिर जमिन कब्जा गरी बस्न थाले। मटेलीमा जुरे कोठी
बनाए (अझ पनि छ) जहाँ तिनको मृत्यु पनि भयो, यसरी त्यो भूभागलाई पछिबाट अंग्रेजी
जिब्रोबाट ‘सामसिङ’ भनियो।
सामसिङको भौगोलिक अवस्थान र प्रशासनिक व्यवस्था दुइ भागमा
विभक्त छन्, एकै क्षेत्रको सामसिङ चियाबारी जलपाइगढ़ी जिल्लाभित्र पर्दछ भने खासमल
अनि बनबस्ती क्षेत्र चाहिँ कालेबुङ जिल्लामा पर्दछ। प्रशासनिक व्यवस्था जलपाइगढ़ी
जिल्लाको अधिनस्थ छ। हालैको
जनगणनाअनुसार, यहाँको जनसङ्ख्या करिब ८,००० रहेता पनि मतदाताहरू ६,००० रहेको
अनुमान लगाइएको छ। कुनै समय सुन्तला, धान,
अदुवा, कुचो इत्यादिको ठूलै खेतीपाती हुने यस क्षेत्र वर्तमानमा पर्यटन क्षेत्रको
रूपमा अघि आएको छ।
सामसिङको अप्पर नेउरा भेल्ली नेशनल पार्क र पौराणिक कालदेखि
अविरल बहिरहेको मूर्ति नदी र नेउरा नदीको बीचमा पर्दछ सामसिङ मण्डल गाउँ, जसको
उँचाइ समुद्र तलदेखि २,८०० सय फिटमा रहेको छ। पर्यावरणको दृष्टिले यहाँ अत्यधिक
वृष्टिपात हुने भएको हुनाले यसलाई दोस्रो चेरापुञ्जी पनि भनिन्छ। यहाँको औसत तापमान २८ डिग्री सेन्टिग्रेडदेखि ३०
डिग्री सेन्टिग्रेडसम्म हुने गर्दछ।
मटेली सामसिङ हुँदै झण्डै ७/८ कि.मि. को दूरी तय गरेपछि
मण्डल गाउँ पुगिन्छ जहाँ पहिल्यै पञ्चायती व्यवस्थामा कारबारी अध्यक्ष, सचिव,
मण्डलको कार्यालय अनि निवास स्थान रहेको हुँदा ‘मण्डल
गाउँ’ नाम रहन गयो। वर्तमान मण्डल गाउँमा होम स्टेहरू
(घरवास) लछेप्रै पाइन्छ। सुन्दर सजावट अनि विभिन्न नामहरूले सञ्चालन भइरहेछ होम
स्टे व्यवसाय।
‘टेम्पुला इन’ होम स्टे भव्य रूपमा गजधम्म छ मण्डल गाउँमा।
कृषि क्षेत्रबाट पर्यटन व्यवसाय फस्टाउनमा टेम्पुला इनका अधिपति श्री कमल गिरी
सामसिङको छोरोको अग्र सोंचको उपज हो। आमा लामित गिरी अनि पिता मोहनलाल गिरीका
ज्येष्ठ छोरा कमल गिरीको जन्म ३० मार्च १९६६ मा मण्डल गाउँ सामसिङमा भएको हो। गाउँघरको
ढुङ्गामाटो, हावापानीसँगै खेल्दै, उफ्रँदै आफ्नो प्राथमिक शिक्षा सामसिङ प्राथमिक
पाठशालामा पूर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सिलगढ़ी कलेज चुने। विद्यार्थी
जीवनदेखि नै उनी सामाजिक सेवातर्फ आकर्षित बन्दैथिए। खेलकुदप्रति पनि उनी विशेष
चासो राख्छन्।
कमल गिरी परिश्रमी साथै उद्यमी जाँगरिला युवा थिए। खेलकुद
साथै प्रकृतिप्रेमी, संस्कारी कमल सामाजिक चिन्तक पनि हुन्। आफ्नो गाउँठाउँलाई
संरक्षण गर्न उन्नत दिशातर्फ अग्रसर गराउन सधैं चिन्तन-मनन गर्दथिए। गाउँघरमा फसल
अत्यधिक भएर पनि धेरै परिश्रमपसिना बहाउन पर्ने तर थोरै मात्र रुपियाँ आर्जन
हुन्थ्यो। कष्टकर र अभावहरूले कृषकहरूको जीवन स्तर भनेजस्तो उठ्न नसकिरहेको पीड़ाले
उनको छाती पोल्ने गर्थ्यो। कर्मशील ऊर्जावान् युवा कमल गिरी कुचो, अदुवाको व्यापार
गर्न सिलगढ़ी आउने सामसिङका प्रथम व्यापारी भने हुन्छ। उनले राजदास गुप्ताको आरदमा
भाव मोलतोल गर्ने, सिलगढ़ीमा पनि सफल व्यवसायी बने अनि यस क्षेत्रमा पनि कमल गिरी
मार्गदर्शक बनेका थिए।
पारखी आँखा अनि सृजनशील व्यक्तिलाई चारै ढोकाले खोलेर
स्वागत गर्दछ, बाधाहरू आइपरे पनि चट्टान जस्तै व्यक्तित्वसँग ठोक्किएर आफै चुरचुर
बन्दछ। कमलको प्रगतिशील पथमा खोला-नदीले बगाएर ल्याएका काठका आकृतिहरू (Drift
wood)-ले थप ध्यान आकर्षण
गरेपछि यस कारीगरहरूद्वारा
निर्मित सजावटका सामानहरू बिक्री साथै प्रदर्शनीतर्फ लागे। सन् १९९९ देखि २०१०
सम्म यस क्षेत्रको व्यवसायमा अन्तर्राष्ट्रीय व्यापार मेला (International Trade Fair)
अन्तर्गत नयुमा सिक्किम, जिमखाना दार्जीलिङ, सिलगढ़ी र कालेबुङमा भव्य प्रदर्शनी
साथै बिक्रीमा राखिएको थियो भने केवल १५ दिनको अन्तरालमा कोलकातामा दुइ चोटि भाग
लिएको बताउँछन्। यो ड्रिफ्ट उडको बारेमा उनी निपुण छन्, कुशल कारीगरीद्वारा
मालागेड़ी, टिक, खमारी आदि रूखहरूको जराबाट सुन्दर सजावटका सामानहरू तयार गर्न उनी
दक्ष छन्।
लेप्चा, राई, भूजेल, छेत्री, शेर्पा, गिरी आदि विशेष समुदायहरू
बस्दै आएको मण्डल गाउँमा कुनै पनि धार्मिक स्थान नभएको कुरोले गिरीको मन चिन्तित
रहन्थ्यो, उनी अध्यात्ममा पनि डुबेका मानिस हुन्। गाउँमा कुनै एउटा मन्दिर निर्माण
गर्न सके परोपकार हुने थियो, बाल-वनिता-वृद्ध सबै भेला भएर पूजा-अर्चना, उपदेश सेवातर्फ
लागे मानसिक विकास, धार्मिक प्रवृत्ति, सकारात्मक सोंचले गाउँमा सुमार्ग निर्माण
हुँदछ भन्ने मनसाय राखेर गिरीले आफ्नो १० डेसिमल भूमि दान गरे मन्दिर निर्माण
हेतु। यो निर्माण सन् १९८९ देखि १९९० सम्म पूर्ण भएपश्चात् १९९१ सालमा मन्दिर
उद्घाटन भयो। मन्दिरमा पूजा-अर्चनाको निम्ति पूजारीको नितान्त आवश्यकता पर्दछ तर
ब्राह्मण जाति नभएको गाउँमा पूजा कमिटीद्वारा नै नित्य पूजा गर्न थालियो। ईश्वरको
परिबन्दअघि कसैको केही लाग्दैन, त्यसबेला भूटानबाट लेखेटिएर एकजना एम. प्रसाद
शर्मा नामक ब्राह्मण आश्रय लिन सामसिङ आइपुगे, उनलाई परिवार धान्न रोजगारको खाँचो,
यता मन्दिरमा पूजारीको खाँचो - यो आश्वर्यजनक रूपमा पूर्व निर्धारित नै थियो कि
जस्तो लाग्छ। भूटान सरकारमा एक कर्मचारी शर्मा, पूजापाठमा अनभिज्ञ रहेको साँचो
कुरा उनले बताए। मानिसलाई आवश्यकताले पाठ पढ़ाउँदै लान्छ भने झैं अब मन्दिरको पूजा-अर्चना
गर्ने विधि विधान पनि सिक्न पर्ने, मन्दिरमा पूजारीको उपस्थितिले गाउँघरमा शङ्ख
घण्टी मन्त्रोच्चारण इत्यादिले धार्मिक आस्था साथै अनुष्ठानहरूमा गाउँ-समाज
एकत्रित हुने गर्दछ जहाँ आपसी प्रेम, सद्भावना, एकता, संस्कार आदिको सुन्दर समागम हुँदछ। मन्दिरको जिम्माबारी बोध, शान्त, सुन्दर र मिलनसार
गाउँघरको छत्रछायामा पूजारी एम. प्रसाद शर्माले एकाग्रचित बनी शास्त्र ज्ञान लिए बापत
उनी ज्योतिष शास्त्रमा महापण्डित बने, चर्चित बने।
आफ्नो गाउँ-ठाउँलाई अत्यन्त माया गर्ने कमल गिरी आफू र
आफ्नो परिवार आर्थिक रूपमा सक्षम भएता पनि उनी गाउँघरको जीवन स्तर बढ़ाउन चाहन्थे,
आर्थिक उन्नति चाहने सामसिङको नाम उन्नत सूचीमा अन्तर्भुक्त गराउने उहाँका प्रबल
इच्छाहरूले मार्ग खोजिरहन्थे। सामसिङको सुन्तला उब्जनी प्रशस्त मात्रामा हुन्थ्यो,
स्वादिष्ट अनि ठूला आकारमा बोट नै लच्किने गरी फल्ने सुन्तलालाई बजारमा राम्रो
मूल्यमा विक्रय गर्न सुन्तला उत्सव
(Orange Festival) गर्ने अठोट लिए। यस सन्दर्भमा सिलगढ़ीका एक विशिष्ट
व्यक्तित्व श्री राज वासुसित परामर्श गरी मण्डल गाउँमा सन् २०१० मा तीन दिवसीय
सुन्तला उत्सव आयोजन गरे। उनको यो प्रथम पहल सफल बन्यो। यस समारोहमा उत्तर बंगालका
लोक सांस्कृतिक झलकहरूको पनि प्रस्तुति राखिएको कारण यो उत्सव ऐतिहासिक बन्न गएको
छ। अब मण्डल गाउँ, सम्पूर्ण सामसिङ क्षेत्रको नै कायापलट हुने दिन नजिक आइरहेको
थियो। सुन्तला प्रदर्शनीमा रुचि हुने जनसाधारण, व्यापारीवर्ग, पत्रकार,
फोटोग्राफरको ओइरो लागेको थियो। फिल्म निर्माता श्री शेखर दास गुप्ता जस्ता
व्यक्तित्वहरूको पर्दापण भएपछि अथितिवास गृहको ठूलो अभावले कमल हृदय खट्किएपछि
पर्यटनको एक झोक्का हावाले मलहम लगाउँदै कैयौं परिकल्पनाहरूको द्वार खोलिदिए। होम
स्टे (घरवास) व्यवसायको ढाँचा प्रारम्भ हुनुमा अथिति वासको समस्याले उब्जाएको यो
सफल पर्यटकीय व्यवसाय हो ‘होम स्टे’।
सुन्दर, चुच्चो पहाड़को काखमा
अवस्थित मण्डल गाउँ आमाको न्यानो काखमा शिशु सुरक्षित रहेर खुशी भए झैं देखिन्छ
यसको सौन्दर्य। लेप्चा भाषामा चुचुरोलाई ‘टेम्पोला’ भनिँदो रहेछ। यसैबाट ‘टेम्पुला इन’ नामकरण गरी सन् २०१० मा प्रथम होम स्टे
(घरवास) सामसिङको मण्डल गाउँमा निर्माण गरे। करिब तीन ऐकरको जमिन फैलावटमा निर्मित
यो होम स्टे अत्यन्तै विशिष्ट देखिन्छ। प्रदूषणमुक्त शान्त वातावरण, चारैतिर
हरियाली दृश्यबीच ‘टेम्पुला इन’-को
आफ्नै सानो वन छ। सुन्दरीकरण गरिएको यस वनभित्र तीनवटा आकर्षक साना घरहरू (cottage)
छन् जो ढुङ्गा अनि धुप्पी (पाइन)-को काठद्वारा निर्मित छन्। यस सानो
वन क्षेत्रमा धेरै प्रजातिका समतल/पहाड़ी क्षेत्रका रूखहरू पाइन्छ जसमा धुप्पी
(तीन प्रजातिका), चिलाउने, लामपाते, पानी साँस, मालागेंड़ी, खमारी, चाँप, पैयूँ,
शिरीष, आँप, तेजपत्ता जस्ता रूखहरू छन्। फलदार रुखहरूमा सुन्तला, मेवा, रुख कटहर,
सुपारी इत्यादि पाइन्छ। विभिन्न फूलहरू, औषधीय बिरुवामा पिप्ला, पहेंलो रातो
चुवाको बोट, झारपातले भरिभराउ वन घरबारीले आकर्षण थपेको छ। सुन्दर दृश्य अवलोकन
गर्न आफ्नै ‘भ्यू टावर’ निर्माणले
पर्यटकहरू आकर्षित बन्दछन्।
कमल गिरी प्रकृतिप्रेमी अथवा पर्यावरण संरक्षक पनि हुन्। उनको
‘टेम्पुला इन’-को सानो वनमा
ढुकुर कालिज, लुइँचे, धनेस (हर्नबिल), रानी चरा, हुकुस, कोकले आदि विभिन्न प्रजातिका
चराहरूको आवाजले स्वर्गीय आनन्द प्राप्त हुँदछ। तीनवटा सानो घर (कटेजको) नाम पनि
उस्तै सुन्दर गौंथंली नामहरूमा राखिएको छ, जस्तै- स्वालो ए (Swallow A), स्वालो बी (Swallow B), स्वालो सी (Swallow
C)। यो मनमोहक परिसरमा चराहरूका निम्ति मनपर्ने रुख, उद्भिद्, चारो
प्रशस्त रूपमा उपलब्ध हुनाले लुप्तप्रायः अवस्थामा रहेका ‘भंगेराहरू’ पनि डेढ़-दुइ
सयको सङ्ख्यामा सुरक्षित र संरक्षित पाइन्छ।
पर्यटकहरूका नानीहरूले स्तरीय साइकलहरूद्वारा खेल्न
पाउँछन्, साइकल चलाएर आनन्द उठाउँछन् जसका निम्ति साइकल पनि उपलब्ध छ।
गिरी परिवारद्वारा नै सञ्चालित यो ‘होम स्टे’ स्वच्छ, आनन्ददायक, अतिथि सेवा-सत्कार,
जैविक खानपान, गाउँले परिवेश यहाँको महत्त्वपूर्ण विशेषता हो। कमल गिरीकी
सहधर्मिनी श्रीमती बेनू गिरी अत्यन्तै परिश्रमी, मिष्टभाषी साथै पाककलामा निपुण
छिन्। विभिन्न स्वादिष्ट व्यञ्जनहरू उनै आफै तयार गर्छिन्। जाँगरिली श्रीमती बेनू
फूलबारी, कोठेबारी, कुखुरा पालन इत्यादिमा पनि व्यस्त रहन्छिन्। उनी एक कुशल
फोटोग्राफर पनि हुन्। उनी भन्छिन्- ‘यदि मैले विश्राम लिएँ
भने मैले रोगलाई निम्त्याउनु हो।’ यस्ता परिश्रमी मातापिताका
छोरा श्री दिगान्त गिरी अध्ययनपछि जागिरे भएता पनि पिताद्वारा प्रारम्भ गरिएको
व्यवसायमाथि ध्यान पुऱ्याउँछन्। बाहिरी क्षेत्र प्राकृतिक सुन्दरताले भरिएको पाइन्छ
भने घरभित्र विभिन मूल्यवान् काठद्वारा निर्मित आरामदायक फर्निचरहरू, रुखका
जराहरूबाट बगाएर ल्याएका काठहरूबाट बनिएको अद्भुत कलाकृतिहरू देखेर दङ्गदास नपर्ने
कोही नहोला। विशेष ८६ वर्षीय आमा लामित गिरीको हस्तकला ‘क्रस स्टीच’ हेर्न लायकको
छ भित्तामा। अन्य फ्रेमहरू झुण्डिन पाएको भित्ता पनि सौभाग्यशाली हो नत्र अचेल कृत्रिम
साजसज्जाको जमानामा आमाको हस्तकला पनि जैविक साथै अमूल्य छ भन्नुमा अत्युक्ति
नहोला। आमा अत्यन्तै जाँगरिली छिन्, दिनको समय कोठेबारीमा व्यस्त हुन्छिन्। उनको
देखरेख अनि स्याहारसुसारले घरबारी पनि सफा र मलिलो लाग्दछ, आमाको स्पर्शमा धरती
पनि रमाएर उब्जाऊ भएको भान हुन्छ। साँझ-बिहानको समयमा आमाले बजारमा पाइने प्लास्टिकको
डोरीद्वारा विभिन्न आकारका झोला र ब्यागहरू बुन्छिन्। आमाद्वारा बुनिएर तयार झोला कसैलाई
उपहार दिन्छिन् जो आशीर्वादतुल्य हुँदछ। कतिवटा झोलाहरू पर्यटकहरूले किनेर पनि
लैजान्छन्। ‘टेम्पुला इन’-भित्र आमाको यो सानो घरेलु व्यवसाय नै हो जहाँ जाँगर छ,
प्रेरणा छ, उत्साह छ, शिक्षा छ अनि यी अनमोल सक्रियताले लिन सके आजको घोप्टे युगमा
परिवर्तनको एउटा छुट्टै अध्याय नै लेखिने छ।
वर्तमानमा सामसिङले
पर्यटन क्षेत्रमा माइलखुट्टी गाड़िसकेको साथै यहाँ उपलब्ध ३२ वटा होम स्टे व्यवसायको
कारणले यो विश्वसित जोड़िन पुगेको छ। ‘आफ्नो घरका दुइ
कोठामा पाहुना आउँछन्, खान्छन्, बस्छन् अनि पैसा दिएर जान्छन्, जाँगर चैं हुनुपर्छ’
यो कथन सार्थक बनेको छ कमल गिरीको। गाउँवासीलाई प्रशस्त वृक्ष रोपनप्रति उत्साहित
गराउँछन्, सचेत छन् यहाँका उद्यमी व्यवसायीहरू। गाड़ीको लाम लाग्ने गर्दछ तर
प्रायोजित ढङ्गमा, गाड़ीको विश्राम स्थल पनि रहेको छ यस स्थानमा।
पर्यटन व्यवसायले सामसिङमा हजारौंको सङ्ख्यामा पर्यटकहरू
आएर आनन्द लिन्छन्। प्रायः प्रत्येक घरले नै निजी घरमा ‘होम स्टे’ सेवा प्रदान गरेको पाइन्छ मण्डल गाउँमा।
कति होम स्टेहरूमा सुन्दर ढङ्गमा हावाघर, फूलबारी, खेल मैदान आदिको पनि सुविधा र
मनोरञ्जन पाइन्छ। गाउँमा रोजगार बढ़ेको छ, कोठेबारीका सागसब्जीहरू ताजा पाइन्छन्,
स्थानीय कुखुराहरू प्रशस्त छन् जो पर्यटकहरूको मागअनुसार उपलब्ध गराइन्छ। दाउराको
चुल्हामा उमालेको पानी र पोलेको सुक्खा रोटीको मज्जाको कुरा बेग्लै छ। यसरी उद्यमी
कमल गिरीका सोचहरूबाट सृष्टि भएको यो क्षेत्रले सम्पूर्ण सामसिङवासीलाई उन्नत
दिशातिर अग्रसर हुन सफल बनाएको छ।
सामसिङ मण्डल गाउँ गिरी परिवारकी एक छोरी हुन् डा. साङमु
लेप्चा, पञ्चायती व्यवस्थामा मण्डल बाजेकी नातिनी र नाति साङमु लेप्चा, कमल
गिरीहरू सामसिङका गर्वहरू हुन्।
यसैगरी सामसिङमा व्यवसाय
र समाज सेवाका पायोनियर हुन् कमल गिरी। यी परिवारले समाजलाई
दिएका योगदानहरू धेरै छन्। कमल गिरीका कर्महरूले समाज सेवाका भावनाहरूले आज उनीमाथि
गर्व गर्छन् सामसिङ निवासीहरू। एक सफल व्यवसायी र सामाजिक अभियन्ताको रूपमा धेरै
सामाजिक सङ्गठनहरूद्वारा उनी सम्मानित बनिसकेका छन्।
अभावहरूलाई प्रेरणास्वरूप मानिलिँदै सङ्घर्षशील बनेका अनि
सफल बनेका हाम्रा एक निधि हुन् कमल गिरी। उनी वर्तमानमा सामसिङ ‘होम स्टे एसोसिएशन’-का प्रमुख सल्लाहकारको पदमा
सक्रिय रहेका छन्। मेरो दृष्टिकोणबाट उनलाई ‘पायोनियर’ भन्छु, अब समय र खुल्ला
आँखाहरूबाट यस ‘पायोनियर’ उपाधिको आधिकारिक रूपमा अलङ्करण गर्नुपर्छ भन्ने मेरो
अड़ान हाे ।
***