धरान / धरानभरखरै धरानको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित काजी गिरीलाई यहाँका उद्योगी व्यवसायीहरुले सम्मान गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गिरीधारी सापकोटाको अगुवाईमा शुक्रबार होटल डिमल्याण्डमा सम्मान गरिएको हो ।
नव निर्वाचित अध्यक्ष गिरीलाई कृषी उपज बजारलाई व्यवस्थित र नमुना बजार बनाउन सुझावसमेत व्यवसायीहरुले दिएका थिए । कृषकहरुको उत्पादन विक्रि वितरणमा सहजता गर्न र विषादी परीक्षणमा ध्यान पुर्याउन व्यवसायीहरुले अध्यक्ष गिरीलाई सुझावसमेत दिए ।
अध्यक्ष गिरीलाई खादा माला र अभिर लगाएर सम्मान गरिएको थियो । सापकोटाले सहजिकरण गरेको कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, सदस्यहरु नविन राजभणडरी, स्थानीय भवन निर्माण व्यवसायी संघका अध्यक्ष तथा संघका सदस्य नारायण लिम्बु, निर्माण व्यवसायी नरेश मगर, व्यवसायी हरी कार्कीलगायत उदोगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
बुधबार सम्पन्न भएको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको थियो । अधिवेशनले व्यवसायीहरुको तर्फबाट निर्वाचित हुने तीन सदस्यमा काजी गिरी, रमेशकुमार साह र हेमचन्द्र ढकाल निर्वाचित हुनु भएको थियो । यसैगरी कृषक प्रतिनिधिबाट राजेश मेहता, मच्छिन्द्र राई र महिला सदस्यमा ममता मेहता निर्वाचित हुनुभएको थियो । ब्यबस्थापन समितीको पदेन सदस्यमा धरान वडा नम्बर १३ का वडाध्यक्ष रहने विधानमा ब्यबस्था छ । निर्वाचित सदस्यहरु मध्येबाट गिरी अध्यक्षमा चयन हुनु भएको हो ।