धरान । धरान २० चिण्डे डाँडा नजिक रहेको सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । धरानको मुख्य बजारबाट छ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरु खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।

 पहिले उजाड र सुनसान गाउँका रुपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो । साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।” 

 पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरुको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताउनुभयो । पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरुको आकर्षण बढेको हो । पार्क अढाइ बिघा क्षेत्रफलमा फैलिएको छ ।

पार्कमा बुधबार नेपाल बिजनेश कलेज बिराटनगरका २ सय बिद्यार्थीहरु रमाईरहेका थिए । उनीहरु मध्ये कोही हाईकिङ गर्दा दुखेका खुट्टाहरु सुम्सुमाउदै भएपनि स्काई साईकिलिङ र जिपलाईन सँगै पहाडको मनमोहक दृश्यसँगै रमाउदै थिए  । 

बिबिए ६ सेमेष्टर अध्ययनरत छात्रा मनिषा मेहताले भन्नुभयो, ‘हिडेर आउँदा खुट्टा दुखेर हौरान भयो ,बेकार आए जस्तो लाग्यो तर आएपछि जिवनमा पहिलो पट्क स्काई साईलिङ जिपलाईन गर्न पाए खुसी लाग्यो ।’ पहाडी मनमोहक सुन्दरता देख्दा आनन्द महसुस भएको उहाँले बताउनु भयो । 

पार्कमा एकै ठाउँमा स्काई साइकल, जीपलाईन, हेङ्गिङ ब्रीज, ३६० डिग्री साइकल, रसियन सर्कल लगायतका साहसिक खेलहरू सञ्चालनमा छन । हाईकिङ गर्न नचाहनेहरूका लागि गाडीको पनि व्यवस्था हुनेछ । अन्य आवश्यक सुविधाहरू पार्कमै उपलब्ध हुनेछन ।

 सेछ एडभेञ्चर पार्कले सेछ हस्पिटालिटीका नाममा एकीकृत प्रवर्धन र बजारीकरण गरिरहेको र सेछको पर्यटन कार्यक्रम पछिल्ला समयमा आएर पूर्वको पर्यटनमा ब्राण्ड बनेको बरालको भनाई छ ।