धरान । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम सार्वजनिक गरेको छ ।

छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कवितासंग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्धसंग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध,  इन्दु नेपाल योन्जनको कवितासंग्रह अन्तिम सेलो रहेका छन् । 

यस्तै मन्जुला तामङ सुव्बाको कवितासंग्रह कुहिरोभित्र घुम जोरबङ्गलो, प्रकाश थाम्सुहाङको निबन्धसंग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्धसंग्रह चियागफ रहेका छन् । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएका मध्यबाट १० उत्कृष्ट पुस्तक छनौट गरिएको पुस्तकालयले जनाएको छ ।

यिनै १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभएको छ । पुरस्कार राशि नगद २ लाख रुपैंयाको रहेको छ । पुस्तकालयले दुइ वर्ष अघिदेखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनौट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको हो ।

पुस्तकालयले सार्वजनिक गरेको कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारैकिनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दिपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बूढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमको रैथाने बगैचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मग्रांतीको देशमा मेरो अनुहार रहेका छन् ।

उत्कृष्ट १० मध्ये प्रथमलाई नगद २१ हजार रुपैंया, दोस्रोलाई १८ हजार रुपैंया र तेस्रोलाई १७ हजार रुपैंया र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ । विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीन जनालाई २०८१ कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्वमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।