धरान / पछिल्लो समय निकै लोकप्रिय बन्दैं गएको व्याटमिन्टन खेलको क्रेज टोल, गाउँ  शहर, बजार चारै तिर बढेको छ । यो खेल अलिक महगो भए पनि बालबालिका, युवा, वयस्क सबै उमेरका व्यक्तिहरु उतिकै सहभागी हुने गरेका छन् । झन बेला बेला प्रतियोगिताहरु पनि आयोजना हुँदा यो खेलप्रति खेलाडीहरुको झन लगाव बढ्न थालेको छ । आजभोली स्वास्थ्य हुन र खेलकै माध्यमबाट राष्ट्रलाई चिनाउन व्याटमिन्टनकाे क्रेज बढ्दाे छ ।  

धरानमा राष्टिय स्तरको व्याटमिन्टन प्रतियोगिता धरान व्याटमिन्टन क्लवले यही असोज १८ गतेदेखि प्रतियोगिताको आयोजना गरे पछि देशभरका खेलाडीहरु यति बेला धरानमा छन् । सिक्दै गरेरका नयाँ खेलाडीदेखि व्याटमिन्टन मै जीवन समर्पण गरेका पुराना राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडीहरुको धरानस्थित अमर सेवा समाजको कर्वड हलमा जमघट भएको छ । 

 नेपाल प्रहरी, अर्मी क्लव र सशस्त्रको विभागीय खेलाडीदेखि देशविदेशमा हुने विभिन्न प्रतियोगितामा पदक चुमेका खेलाडीहरु धरानमा जम्मा भएका छन् । प्रतियोगितामा नेपालको ७७ जिल्लाका १०७ टिम सहभागी भएको क्लवका सदस्य देवेन्द्र खड्काले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रतियोगिता खुल्ला मेन्स डबल, खुल्ला महिला डबल, मिक्स डबल, भेट्रान डबल ४५ प्लस, सुपर भेट्रान डबल गरि ५ विधामा प्रतिस्पर्धा भइरहको छ । झण्डै ५० भन्दा बढी राष्ट्रिय खेलाडीहरुले सहभागीता जनाएका छन् । व्याटमिन्टनका राष्ट्रिय प्रमुख कोच सुदिप योञ्जन, कोच अनिल लाखे, रमेश भट्टचनलगायतका पुराना खेलाडी सुपर भेट्रानबाट खेलिरहनु भएको छ । नाम चलेका राष्ट्रिय खेलाडीहरु विशाल तामाङ(भोजपुर), राम राई(ओखलढुंगा), विशाल खड्का(पोखरा) पनि प्रतियोगितामा सहभागी हुनुहुन्छ । आर्मी क्लवका प्रविण लिङथेप,रसिना महर्जन, अमिता गिरी पनि मैदानमा हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रतियोगिता खेलिसकेका सशस्त्रका खेलाडी विशाल प्रधान, प्रेमसिंह ठकुरी पनि सहभागि हुनुहुन्छ । देशविदेशमा खेलेर नाम कमाएका खेलाडीहरुको सहभागिताले रौनक झनै बढाएको क्लवका अध्यक्ष तथा प्रतियोगिता संयोजक टङ्क लिम्बुले बताउनु भयो । प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहनु भएको छ । 


२६ बर्ष पछि धरानमा खेल्न आए -राष्ट्रिय प्रमुख कोच योन्जन

नेपालका व्याटमिन्टनका प्रमुख कोच  सुदिप योञ्जन दिलबहादुर कन्दङवालाई जोडी लिएर ५५ बर्ष माथिको टिमबाट खेलिरहनु भएको छ । उहाँले शनिवार भएको खेलमा विपक्षी टिमलाई सोझो सेटमा हराउदैं सेमी फाइनलको यात्रा तय गरिसक्नु भएको छ । 

खेलमैदानमा भेटिएका योन्जनले आफु २६ बर्ष पछि धरानमा भएको प्रतियोगितामा भाग लिन आएको बताउनु भयो । सुन्दर सहरमा भएको यतिका ठूलो प्रतियोगिता किन छुटाउनु भनेर सुपर भेट्रानबाट भाग लिएको उहाँको भनाई छ । यो प्रतियोगिता व्यानमिन्टन खेलको व्यवसायिकतामा कोशेढुंगा भएको उहाँको भनाई छ ।

सम्भव त नेपाल कै ठूलो पुरस्कार राशी भएको यो प्रतियोगितामा सबै खाले खेलाडीहरुले सहभागिता जनाएका छन् । खुल्ला प्रतिस्पर्धामा एक लाख १५ हजार पुरस्कार राशी निकै राम्रो पुरस्कार भएको भन्दैं आयोजकको उहाँले प्रशंसासमेत गर्नु भयो । 

प्रदेश र स्थानीय सरकारलाई सुझाव

उहाँले यस्ता प्रतियोगिता गर्ने क्लव वा आयोजकलाई प्रदेश सरकार र स्थानीय सरकारलाई लगानी गर्न समेत सुझाव दिनु भयो । प्रदेश र प्रत्येक स्थानीय तहमा व्याटमिन्टनको प्रशिक्षक राखेर विद्यालय स्तरबाट सिकाउनु पर्ने उहाँको भनाई छ । नेपालमा ५ जना मात्र व्याटमिन्टनका प्रशिक्षकहरु छन् । सबै राजधानी केन्द्रित छन् । कोशी प्रदेश तथा यहाँका उपमहानगर र महानगरहरुमा व्याटमिन्टनको प्रशिक्षक राखेर यस खेललाई व्यवसायिक बनाउन पनि उहाँले सुझाव दिनु भएको छ । 

प्रतियोगिताको विजेताहरूले खुल्ला पुरुष डबलका विजेता जोडीलाई १ लाख १५ हजार, उपबिजेताले ५५ हजार, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र पाउने भएकाले पनि खेलाडीहरुको उल्लेखीय उपस्थिति भएको बताइएको छ । यस्तै खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११।११हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको सेमी फाइलन र फाइनल खेल आइतबार हुने क्लवका सल्लाहाकार खगेन्द्र मेन्याङबोले जानकारी दिनु भयो । प्रतियोगिताको समापन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

batminton_1