- धीरेन्द्र प्रेमर्षि
होलीे आनन्द र उत्साहको पर्व हो । मनभित्रका विभिन्न वैमनश्यलाई पखालेर आत्मीयताको न्यानोपनमा बाधिने पर्व हो होली । यो यहि रूपमा मनाइँदै आएको छ र मैले पनि यहि रूपमा नै मनाउँदै गरेको छु ।
हिन्दु सभ्यतामा मनाइने जति पनि चाडपर्वहरू छन् ती सबैको पृष्ठभूमीमा सामान्यतया केही किम्बदन्तीहरू जोडिएका हुन्छन् । त्यसमा असत्यमाथि सत्यको विजयको चर्चा गरिएको हुन्छ । यसमा भक्त प्रह्लादलाई उसका बाबु हिराण्यकश्यपुले सत्यबाट जोगाउन खोज्दा पनि नसकेपछि आफ्नै बहिनी होलीकाको काखमा राखेर भस्म पार्न खोज्दा होलीका नै भस्म भई सत्यको विजय भएको कुरा हामीले किम्बदन्तीहरूमा पाउन सक्छौँ । यी र यस्ता विभिन्न कथाहरू जोडिएका हुन्छन् । खासमा भन्ने हो भने त्यसलाई सत्यतामा पगाल्ने संयन्त्रता हामीमा छैन । यी कथाहरू त हामीले विश्वास गर्दै आएका हौँ । हेर्नुपर्ने के छ भने त्यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ । समाजलाई एउटा सकारात्मक दिशातर्फ लैजाने क्रममा अलिखित प्रकृतिको प्रावधान समाजका ज्ञाताहरूले बनाएका हुन्छन् । त्यसै क्रममा यी चाडपर्वहरूले पनि यहि कुराको संकेत गरिरहेको हुन्छ । नराम्रो पक्षलाई पन्छाउने र राम्रो पक्षलाई अगाल्ने । यो पनि त्यसकै एउटा उपक्रम हो जस्तो मलाई लाग्छ । वर्षभरी हामी कामकाजमा लागिरहेका हुन्छाँै त्यसलाई छोडेर एक ठाउँमा बसेर एकआपसमा उल्लासका साथ रमाईलो गरौँ भन्ने सामान्यता मान्यता यही नै हो । मिथिलाको सन्र्दभमा भन्नुहुन्छ भने मिथिला कृषिप्रधान क्षेत्र भएकाले त्यहाँका मानिसहरू कहिले पनि खाली बस्दैनन् । कृषिकर्मबाट फुर्सद मिल्यो कि कुनै न कुनै चाडपर्वको बाहनामा त्यसलाई सक्रिय तुल्याइहाल्छन् । यो होली पर्व पनि त्यही किसिमको हो । महत्वपूर्ण कुरा त आत्मियताको कुरा छ, संगीतात्मक कुरा छ, त्यो सबैभन्दा पहिले मनभित्र रहेका मैलहरू छन्, पहिले शरीरमा रंग दल्ने र रंगसँगै मनको मैला पनि पखालेर लैजाने । त्यो उत्सवको रूपमा मनाईदै आइरहेको मैले महसुस गरेको छु ।
सबै ठाउँमा होलीको आ–आफ्नै महत्व छ । वास्तवमा भन्नुपर्दा यसलाई उल्लासकै रूपमा मनाइन्छ । पछिल्लो समय मैले मिथिलाको संस्कृतिलाई सुक्ष्म रूपमा हेर्ने प्रयास गर्दैछु । यस क्रममा मैले के देखे भने या पर्वमा उल्लास त छँदै छ अझ प्रेम, समाज सुधार, हामीले मान्दै आएका देवतालाई पूजा गरेर नै हामीले होली पर्वको सुरुवात गर्छौँ । यस किसिमको आस्था र विश्वास रहेको छ । होली पर्व भनेको रंग लगाउने, भाङ धतुरो खाने पर्व मात्र नभई ठूलाको हातबाट टीका लगाएर आशिस लिने, प्रेम र सद्भावको पर्व पनि हो । यो एउटा सांगातीक पर्व पनि भएकाले मिथिलामा एकदम सभ्यताकासाथ वसन्त पञ्चमीदेखि नै होलीका गीतहरू गाउने गरिन्छ । त्यस गीतमा रामरमिताका कुराहरू भन्दा पनि जीवनभर भोगिने दुःख सुखका, अध्यात्म तथा धार्मिक कुराहरू पनि ल्याइन्छन् । त्यस्ता किसिमका गीतहरूले पनि वसन्त पञ्चमीदेखि फागुनसम्म विशेष महत्व पाएको हुन्छ भने घरआँगनमा गृहणीले जुन किसिमको गीतहरू गाउँछन् त्यस गीतले पनि माघ र फागुन महिनामा विशेष स्थान पाएका हुन्छन् । नवविवाहका गीतहरूमा पनि फागु गीत आएको हुन्छ । यस समयमा सम्पूर्ण मिथिला क्षेत्रमा फागुले गहिरो आत्मियताको रंग घोलेको हुन्छ ।
होलीको ऐतिहासिकता बारे यही नै हो भन्न सकिँदैन । हुन त माथि होलीकाको प्रसंग उल्लेख गरियो । भगवान रामचन्द्रजी ससुराली आउँदा खेलिने होली, कृष्णले गोपिनीहरूसँग खेल्ने होलीको चर्चा गरिन्छ । यहिँबाट नै होलीको सुरुवात भएको हो भनेर भन्न सकिदैन । हिराण्यकश्यपु र प्रह्लादको कथा नै सबैभन्दा बढी प्रचलित हो । समग्रमा भन्नुपर्दा यसलाई आत्मियताकै पर्वको रूपमा लिनुपर्ने हुन्छ ।
होलीका गीतहरू जीवनका कुनै पनि पाटोसँग अछुतो छैनन् । प्राय अध्यात्मसँग नै जोडिएको हुन्छ । जीवनमा भोग्ने जति पनि समस्या छन् तिनीहरूलाई समाधान गर्ने तर्फ पनि केन्द्रित छन् भने केही रमाइलोका लागि पनि गाउने प्रचलन छ तर त्यो पनि सस्तो मनोरञ्जनात्मक नै हो । पछिल्लो समयमा भोजपुरी भाषामा केही अश्शील प्रकृतिका गीतहरू बढि बन्न थालेको र त्यसले झन् प्राथमिकता पाउन थालेकोले त्यसको असर मिथिला क्षेत्रमा पनि देखिन्छ । सबै गस्तहरू अश्शील प्रकृतिका पनि छैनन् । कतिपय होलीकै गीतहरू अति नै राम्रा पनि छन् । भोजपुरीको सांगीतिक परम्परा आफैमा समृद्ध छ तर पछिल्लो समयमा भोजपुरी गीत भन्नासाथ त्यसको नकारात्मक छवि मिथिला क्षेत्रमा पनि देखिदै आएको छ । सबैभन्दा ठूलो कुरा हो मंगलकामना । हुन त पर्वहरू व्यक्तिगत आनन्दका लागि मनाइन्छ तर आफ्नो लागि मात्र नभई आफू बस्ने गाउँ, समाज, छरछिमेकले पनि उन्मुक्तका साथ चाडपर्वहरू मनाउँछन् । जीवन भन्ने कुरा आज छ भोली नहुन पनि सक्छ । त्यसैले हामी जति बाँच्छौँ त्यस समयको सदुपयोग ग¥यौँ, प्रेम बाँडौँ । घृणा पस्किने समय त जति पनि समय छ । प्रेम महत्वपूर्ण हो ।
मिथिला क्षेत्रमा गाइने जोगिरा, होलीका गीतहरू लोप नै त भइसकेको छैन तर कमी भने पक्कै आएको हो । कमी कसरी आएको छ भने जुन अविछिन्न परम्परा हुन्छ, त्यो परम्परालाई सामाजिक रहन सहनले सामाजिक व्यवस्थामा आएको परिवर्तनले असर पु¥याइ रहेको हुन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा माओवादी द्वन्द्वकालमा साँझमा बसेर गीत गाउन नै नसक्ने स्थिति बनाइदियो । त्यसले पनि अलिकति प्रभाव पारेको छ । जबसम्म मान्छे जुट्ने भएनन् तबसम्म गीत गाउने कुरै भएन । त्यसले धेरै हदसम्म बाधा पु¥यायो । अब मान्छेहरू कृषि कर्म छोडेर विदेश पलायन हुनेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा गाउँमा सिर्जनशील युवाहरूको संख्या घट्दो क्रममा छ । गाउँमा बुढाबुढी मात्र भएकोले यस्ता गीतहरूलाई निरन्तरता दिन सकिरहेका छैनन् । यी दुईटा प्रमुख कारण हो । यस्ता विविध कारणहरू भएपनि सिर्जनशील मनहरू थाकेका छैनन् । अहिले पनि जिवित नै छ ।
होली मनाइने तरिकामा फरकपना त आए कै छ र यो स्वभाविक पनि हो । यो सांगीतक पर्व भएकाले गीतहरू त गाउँछन् तर आजभोली फिल्मका गीतहरूले ठाउँ पाउन थालेका छन् । फिल्मका गीत व्यापक भइसकेपछि एउटा प्रदेशबाट अर्को प्रदेशमा जान थालेका छन । पहिले जस्तो आफ्नै गाउँ ठाउँमा गरिने सिर्जनशील गीतहरू भने आजभोली हराउँदै गएको छ । अर्को कुरा के छ भने आजभोली होली भन्ने बित्तिकै खाने, रमाउने, होहल्ला गर्ने हो भन्ने मानसिकता पालेका हुन्छन् तर होली एकआपसमा प्रेम भावमा रंग मनाउने पर्व हो ।