काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो । यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ ।
सत्रजना केन्द्रीय सदस्यमा मनोनीत
महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ ।
यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ)र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।
प्रदेश इन्चार्ज हेरफेर
यस्तै, एमालेले प्रदेश इन्चार्ज हेरफेर गरेको छ । महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ । यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा मनोनीत गरेको छ । धरानबाट काेशी प्रदेशकाे सस्थापक सभामुख प्रदिप भण्डारीलाई सल्लाहकार परिषद सदस्यमा मनाेनित गरिएकाे छ । यस्तै डा खालित हुसेन हकलाई पनि मनाेनित गरिएकाे छ ।