चितवन । गृह मन्त्रालयका सहसचिव छबि रिजाल नेतृत्वमा गठित समितिले बुधबार चितवनको सिमलताल घटनास्थलको स्थलगत अध्ययन गरेकोछ । असार २८ गते बिहान करिव ३ बजेको समयमा मुग्लिन – नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिन्दुरे खोल्सीबाट बग्दै आएको गेग्यान सहितको पहिरोले यात्रु र यातायात मजदुर सहित दुइवटा बस त्रिशूली नदीमा बेपत्ता बनाएको र सो विषयमा अध्ययन गर्न असार ३१ गते गृहमन्त्री स्तरिय बैठकले समिति बनाएको थियो । 

१० दिनभीत्र सुझाव सहित प्रतिवेदन पेश गर्नेगरी बनाइएको समितिले काम थालेको हो । समितिका संयोजक छबि रिजाल सहितको टोलीले घटनास्थल पुगेर पहाडमा पहिरोको उद्गम स्थलदेखि त्रिशूली नदिसम्मको भौगोलिक अवस्थाको अध्ययन गरेकोछ । 

समितिले स्थानीयबासीहरु जंगबहादुर मगर, ललित गुरुङ्ग, वडा नम्बर २९ का अध्यक्ष अध्यक्ष सूर्य दोङ बसमा सबार बेपत्ता परिवारका आफन्त, एन्जल डिलक्सका धनी राजेश केसी, गणपति डिलक्सका धनी दिनेश जैसवाल लगायतकासंग कुराकानी गरेकोछ । त्यस्तै घटनामा परेका गणपति डिलक्स बसका बाँच्न सफल यात्रु नन्दन दासलाई भरतपुरस्थित सिएमसि अस्पतालमै भेटेर कुराकानी गरेकोछ ।  

स्थलगत अध्ययनपछि चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सर्वपक्षिय छलफल समेत गरिएको छ । छलफलमा भरतपुरमहानगर प्रमुख रेणु दाहाल, जिल्लास्थित सबै राजनीतिक दलका नेताहरु, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, जनपद तथा शसस्त्र प्रहरीका प्रतिनिधिहरु, सञ्चारकर्मी र बेपत्ता परिवारका आफन्तहरु सहभागी रहेका थिए । 

स्थलगत निरिक्षण र छलफलमा समितिका संयोजक सहित गृह मन्त्रालयका उपसचिव सन्ध्या सेढाई, नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, प्रहरी प्रधान कार्यालयबाट एसएसपी भूपेन्द्र खत्री, शसस्त्र प्रहरी प्रधान कार्यालयका तर्फबाट एसएसपी शंकर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट सडक विभागका डिजी प्रकाश भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम सहभागी रहनुभएको थियो ।