•  देवेन्द्र कार्की 

धरानका प्रेमप्रसाद पराजुली नचिनिएको नाम होइन । पातलो शरीर, झ्यास्स सेता दारी, मैलो रंगको पेन्ट, पेन्ट बाहिर निकालेर लगाइएको सट । उहाँको बाहिरी भौतिक परिचय यही हो । 

धरान- १४ विजयपुर बुढासुब्बा मन्दिर अगाडी उहाँको सानो घर छ । मन्दिरमा आर्शिवाद लिन आउनेहरुलाई उहाँ फुल प्रसादी बेच्नु हुन्छ । यो दैनिकी भ्याउदैं गदा उहाँ ५३ बर्ष पुग्नु भयो । जीवनमा उहाँले संघर्ष गरि नै रहनु भएको थियो । ५१ बर्षको उमेर पुग्दै गर्दा उहाँको मृगौला खराव भएको थाहा पाउनुु भयो । प्रत्यारोपण बाहेक विकल्प नभएको चिकित्सकहरूले बताएपछि उहाँ छाँगाबाट झरे झै हुनु भयो । 

कवि बालकृष्ण समले भन्नु भएको छ, ञदुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।’ ठ्याक्कै यही कतिवाको हरफ उहाँको जीवनमा मेल खान्छ । ५ वर्ष अघि श्रीमती विमला पराजुली घरैमा लडेर स्पाइनल कड इञ्जुरी भएर ओछ्यान पर्नु भएको छ । काठमाडौंको महगो अस्पतालमा उपचार गराएर हाल उहाँलाई घरमा राखिएको छ । घर व्यवहार सबै श्रीमतिले गर्ने, उहाँ नै ओछ्यान परे पछि घरमा खाना बनाइदिने मान्छेको उहाँमा अभाव भयो । उहाँको दुई छोराहरु अध्ययनमै थिए । आमा र बाबुको यो हालत भए पछि उहाँहरुको अध्ययनमा पनि अवरोध भयो । पराजुलीले यि सबै लेखान्त यती नै रहेछ भन्ने सम्झिएर जीवन जसोतसो जीउनुहुदैं थियो । आफैमा अर्को रोग थपियो । कमजोर मन हुनेले सायदै यि र यस्ता पीडा सहरे जीवन विताउदैंन थिए होला । तर पराजुली दह्रो मन भएका जस्तो परिस्थितिलाई पनि ग्रहण गर्न सक्ने र आफुलाई हुने पीडा सहन सक्ने हिक्मत भएका व्यक्तिको रुपमा दरिनु हुन्छ । 

प्रेमप्रसादको सामाजिक मन

धरानमा भएका व्यथिति, सार्वजनिक चासोका विषय, कसैमाथि भएका थिचोमिचो, अन्याय अत्याचार, सामाजिक कुरिती र विसंगतिप्रति उहाँ जहिले जिम्मेवार भएर प्रस्तुत हुनुहुन्थ्यो । सम्बन्धि निकायलाई उहाँ बेलैमा ध्यानाकर्षण गराउनेदेखि सुधारमा पहल कदमीका लागि आफै सशरीर उपस्थित हुने उहाँको वानी थियो । कसैलाई भनेर नविझाउने, अरुसँग झटटै नरिसाइहाल्ने उहाँको अर्को विशेषता हो । झन पत्रकारहरुलाई समाजमा भइरहेको राम्रो र नराम्रो दुवै पक्षको सूचना दिने एउटा इमान्दार सूचक पनि हुन । पत्रकार साथीहरुसँग खुलेर कुरा गर्ने, समाजलाई आँखा देखाइदिने चौथो अंगले जिम्मेवार भूमिका निर्वाह गर्नु पर्छ भनेर बेला बेला चिया खाना बोलाएर उहाँले अर्तिउपदेश पनि दिनुहुन्थ्यो । राजनीतिमा नेपाली कांग्रेस निकट रहनु भएका परालुली सबै वर्ग समुदायका लागि आँखामा राखे पनि नविझाउने व्यक्तित्व हुनुहुन्थ्यो ।

बाच्ने अधिकारबाट बञ्चित भएको गुनासो 

कवि बालकृष्ण समले भने झै दुख पनि दुखमै परेका व्यक्तिलाई आउदो रहेछ । श्रीमति ओछ्यान परेका बेला आफ्नो मृगौला फेल हुने उहाँ माथि महादुख थपिएको छ । उहाँलाई बचाउन धरानका सबै दल,  समुदाय लागेका छन् । उहाँलाई बचाउन मृगौला दिने व्यक्ति पनि तयार छन् । तर नेपाल सरकारले बनाएको कानुनमा आफन्तले मात्र मृगौला दान दिने सक्ने प्रावधानले मनकारी व्यक्तिले गर्ने सहयोग उहाँले लिन नपाउदा उहाँ थप पीडामा हुनुहुन्छ । 

सामाजिक सेवा गर्ने पराजुलीलाई ओछ्यान परेकी श्रीमतीलाई खाना, औषधि, नित्यकर्म गराउने काम आफैले गर्नुपर्दा सामाजिक जीवनबाट उहाँ अलिक टाढिनुपरेको छ । तथापी सामाजिक मुद्धा र समस्याप्रति अझै जिम्मेवारीपन देखाउन भने छाड्नु भएको छैन् । बेला बेला बुढासुब्बा मन्दिर आउने भक्तजनहरुलाई फुल प्रसाद पनि बेच्न भ्याउदैं हुनुहुन्छ । उहाँलाई भेट्न आउने शुभेक्षुक, आफन्तको सहानुभूति ग्रहण गदैं जीवन अगाडी बढेको छ । 

उहाँ यति बेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हप्ताको दुई पटक डायलिसिस गराउँदै आउनुभएको छ । अन्तिम विकल्प भनेकै मृगौला फेर्ने भएकाले उहाँ त्यतातिर लाग्नुभएको छ । तर मृगौला दिने विषयमा कानुन बाधक भए पछि उहाँ भौतारी रहनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गरि आफ्नो समस्या सुनाउनु भयो । ‘कानुन संशोधन गर्न पाए म जस्ता व्यक्तिहरु अझै बाच्ने रहेछन् । तपाईहरु मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ पत्रकार सम्मेलनमा उहाँले अनुनय गर्नु भयो । 

श्रीमती मृगौला दान गर्न तयार भए पनि ओछ्यान परेकी बिरामीको मृगौला लिन स्वास्थ्य, कानुनी, नैतिक दृष्टिले सम्भव भएन । छोराले मृगौला दान गर्न चाहेकोमा चिकित्सकीय जाँचले नमिल्ने देखियो । पछिल्लो पटक छिमेकका धर्मपुत्रका रूपमा रहेका सन्तानले उहाँको अवस्था देखेर स्वतःस्फूर्त रूपमा मृगौला दान गर्न तयार भएर बस्नु भएको छ ।तर कानुन बाधक भएको छ । कमजोर आर्थिक स्थिति, श्रीमतीको अवस्था, धरानका अगुवाहरूले ‘तपाई जस्तो समाजसेवी बाँच्नु पर्छ’ भनी सहयोग समिति समेत गठन गरेपछि उहाँ प्रत्यारोपणको प्रक्रिया सुरु गर्ने तयारीमा हुनुहुन्छ । तर परिवारका सदस्य बाहेकका व्यक्तिले कानुनी रूपमा मृगौला दिन नमिल्ने प्रावधानले उहाँ समस्यामा पर्नु भएको छ ।  ‘प्रत्यारोपणमा देखिएको नेपालको कानुनी अवरोधले व्यक्तिको बाँच्न पाउने अधिकार हनन भएको छ ।’ उहाले भन्नुभयो । 

आफू जस्तै सयौँ अरू बिरामीका लागि समेत कानुनी जटिलहरूले प्रत्यारोपणमा अवरोध गर्ने अनुभव गरेकोले पत्रकारहरू मार्फत सबैको हितका लागि राज्यलाई कानुनमा तत्काल संशोधन गर्न माग गरेको पराजुलीले बताउनु हुन्छ ।

सङ्घीय सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सरोकारवालाहरूलाई प्रेषित निवेदन पीडित पराजुलीले पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै भने ‘ठलो रकमको माग सहित मलाई मृगौला दिन मानिस थुप्रै मेरामा आए, भारतमा गएर ट्रान्सप्लान्ट गर्नुपर्ने रहेछ ।’ आर्थिक अवस्था कमजोर भएकोले त्यसो गर्न आफूले नसकेको उहाँले खुलाउनु भयो । 

नेपालमा मृगौला स्वोच्छाले दान गर्ने मानिस भए पनि कानुनी कठिनाइका कारण मृगौला पीडितहरूले देशभित्रै प्रत्यारोपण गर्न नपाउने अवस्था रहेको उहाँको भनाई छ । तर ठूलो रकम खर्च गराई बाहिर गएर नेपालीकै मृगौलाको प्रत्यारोपण भने भइरहेका छन् । पराजुलीले भने ‘त्यसै कारण कानुनमा संशोधन भए पैसा खर्च गर्न नसक्नेहरूले पनि नेपालमै प्रत्यारोपण गर्न सकुन भन्ने मेरो माग हो ।’

अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी घोषणापत्रमा नागरिकको बाँच्न पाउने हक र अधिकारलाई सम्बोधन गरेको छ । नेपालको संविधानले पनि मौलिक हकको रूपमा यसलाई स्वीकार गरेको छ । यद्यपि विद्यमान कानुन, सो अनुरूप नबन्दा म र म जस्ता हजारौँ नागरिकहरू आज पलपल गरेर मरेर बाँचिरहनु परेको छ ।’ उहाँले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री र सम्पूर्ण मानव अधिकारवादीहरूलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ ‘परिवारका सदस्यहरूद्वारा मृगौला दान गर्न सम्भव नभएको खण्डमा स्वैच्छिक रूपमा यदि कसैले दान गर्न चाहन्छ भने त्यसलाई कानुनले स्वीकार गर्ने व्यवस्था बनाउन वातावरण तयार गरौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछाने तथा मानव अधिकारवादी सङ्घ–संस्थालाई उहाँले खुल्ला पत्रचार गर्नु भएको छ । उहाँले आफ्ना लागि नभए पनि हजारौँ मृगौला पीडितका लागि अभियानकारूपमा अघि बढेको बताउनु भएको छ । कानून संशोधन गर्नुप¥यो । धेरै पीडितलाई राहत हुन्छ । 

‘राज्यका कारणले नागरिक महँगोमा परिरहेका छन् । त्यसैले नेपालमा निश्चित मापदण्ड राखेर आफन्तबाहेकबाट पनि किड्नी लिनदिन पाइयोस् भन्ने अभियान हो’–उहाँले भन्नु भयो । उहाँको खुल्ला पत्रमा –भनिएको छ  ‘म र हामी यो याचना गर्दछौं कि भवितव्य, अनिष्ट, सङ्कट र समस्या भन्ने कुरा मान्छेको जीवनमा कुनै सूचना, सङ्केत र जनाउ घण्टी दिँदै आउँदो रहेनछ । यसबाट मुक्ति र छुट्कारा प्राप्त गर्न उत्पन्न परिस्थिति र प्रतिकूल अवस्था मात्र नभई राज्यको विद्यमान कानून पनि बाधक बन्दो रहेछ’। 

कानुनमा के छ व्यवस्था

डा. पुकारचन्द्र श्रेष्ठका अनुसार प्रत्येक १० जनामध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्छ । नेपालमा वर्षेनि ३ हजार जनाको मृगौला फेल हुने गरेको र उनीहरूमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामा नै मृत्यु हुने गरेको छ ।

मृगौला मात्र नभई कुनै पनि अङ्ग फेल हुँदा अङ्ग प्रत्यारोपण सर्वोत्तम र स्वर्णिम उपचार मान्छि ।  । अङ्ग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को संशोधन २०७२ संसदबाट अनुमोदन भई लागुभएको छ । 

नयाँ ऐनको व्यवस्थाअनुसार अङ्गदान र अङ्ग प्रत्यारोपण सही ढंगले हुनसके कोही पनि नेपालीले प्रत्यारोपणका लागि विदेशिनु पर्दैन । मानव शरीरको अङ्ग प्रत्यारोपण(नियमित तथा निषेध) ऐन २०५५ मा व्यवस्था भएअनुसार सीमित नजिकका नातेदारमा मात्र अङ्ग दान गर्नसक्ने व्यवस्था थियो । संशोधित ऐनमा अङ्गदाताको दायरा निकै फराकिलो बनाइएको छ ।

कसले गर्न सक्छन् अंगदान ?

नयाँ ऐनले अंगदान गर्न इच्छुक र अंग ग्रहण गर्ने व्यक्ति वा नातेदारको परिभाषित गरेको छ । जसमा परिवारका सदस्य, नजिकको नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैले सजिलै अंगदान गर्न सकिनेछ ।

परिवारका सदस्य, नजिकको नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैले सजिलै अंगदान गर्न सकिनेछ । ऐन अनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासूससुरा तोकिएको छ । त्यस्तै नजिकको नातेदारअन्तर्गत अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठान समेटिएका छन् ।

तर, धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तीमा २ वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । त्यस्तै नयाँ संशोधित ऐनअनुसार दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदारले समेत आपसमा मिलेर अंगदान (आपसमा साट्न) गर्न पाउनेछन् । साथै कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिनेछ ।

पश्चिमा मुलुकमा समझदारीबाट यसरी अङ्ग साटासाट गरी प्रत्यारोपण गर्ने क्रम बढ्दो छ । तर यति दायराले पनि कतिपयको जीवन बचाउन समस्या हुदा अझै दायरा फराकिलो बनाउन पर्ने आवाज उठ्न थालेको छ । एउटा निश्चित मापदण्ड बनाएर अन्य नातेदार बाहेककाले पनि दिन मिल्ने ऐन बनाउन आवाज उठन थालेको हो ।

के हो मानव अंग प्रत्यारोपण ?

मानव अंग प्रत्यारोपण भनेको जीवित व्यक्ति वा मस्तिष्क मृत्यु भएको निश्चित समयभित्र शरीरभित्र सक्रिय र स्वस्थ रहेकोे अंगहरू दान गरी अर्को रोगीको शरीरमा काम नलाग्ने अंगको सट्टामा विशेष प्रविधिमार्फत विशेषज्ञ चिकित्सकले प्रत्यारोपण गर्नु हो । मानव शरीरको अंगदान वा प्रत्यारोपणले हरेक वर्ष हजारौं मानिसलाई नयाँ जीवन दिइरहेको छ । एउटा स्वस्थ व्यक्तिले वा मस्तिष्क मृत्युपछि आफ्ना शरीरबाट खेर जाने अंगहरू दान गरेर अर्को रोगी व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग विभिन्न रोगबाट ग्रस्त बिरामीलाई प्रत्यारोपण गरी उनीहरूको ज्यान बचाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९५४ डिसेम्बर २३ का दिन अमेरिकाको बोस्टन सहरमा रहेको बहिगंम हस्पिटलका डा. जोसेफ मुर्रे र डेभिड ह्युमले पहिलोपटक सफल मिगौला प्रत्यारोपण गरेपछि मानव अंग प्रत्यारोपणको इतिहास सुरु भएको पाइन्छ । त्यसपछि क्रमशः सन् १९६३ मा फोक्सो, १९६६ मा प्याङक्रियाज, १९६७ मा कलेजो मुटुलगायतका मानव अंग सफलतापूर्वक प्रत्यारोपण गर्न डक्टरहरू सफल भएका थिए ।

नेपालमा मानव अंग प्रत्यारोपणको सुरुवात 

नेपालमा मानव अंग प्रत्यारोपणको सुरुवात २०५५ सालमा तत्कालीन राजा वीरेन्द्रले नेपालमा मानव अंग प्रत्यारोपणका लागि कानुनको आवश्यकता महसुस गरी मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ जारी गर्नु भएको थियो । तर, विभिन्न बाधा अवरोध र स्पष्ट कार्यनीति बनाउन नसकेपछि यो ऐन निष्क्रियजस्तै थियो । नेपालमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएपछि निष्क्रिय रहेको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई २०७२ फागुन १३ गते संसद्ले संशोधन गर्न बनेको विधेयक पारित गरेपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको थियो ।

त्यसलगत्तै २०६७ मा तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र स्वास्थ्य सचिव प्राडा प्रवीण मिश्रको नेतृत्वमा न्याम्सका अध्यक्ष प्राडा विनयकुमार शर्मासहितको टोलीले नेपालमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्न सरकारलाई सुझाव दिएको थियो । २०६८ मा सुझाव अनुसार स्वास्थ्यमन्त्री राजेन्द्र महतो र स्वास्थ्य सचिव प्राडा प्रवीण मिश्र र वरिष्ठ मिगौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलगायतको टोलीले भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्नु भएको थियो ।