नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । ब्रह्मचारिणीको अर्थ हुन्छ जो असीम अनन्तमा विद्यमान वा गतिमान छ । ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात्, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ । तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।
नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् । धार्मिक मान्यता अनुसार यी देवीको उपासनाबाट मनुष्यहरुमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत बृद्धि हुने गर्दछ । यी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनेछैन ।
माता ब्रह्मचारिणी देवीको स्वरुपको पूजा विधि
देवी ब्रह्मचारिणीको पूजामा सबैभन्दा पहिले फूल, अक्षता, चन्दनद्वारा पूजा गर्ने गरिन्छ । उनलाई दूध, दहि, शख्खर, घिऊ, मह आदिबाट स्नान गराएर देवीलाई प्रसाद अर्पण गर्ने गरिन्छ । प्रसाद ग्रहण गरिसकेपछि आचमन र फेरि पान, सुपारी, भेटी आदि चढाएर कलशको पूजा गर्ने गरिन्छ । यही प्रकारले नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवता आदिको पूजा गर्ने गरिन्छ ।
ब्रह्मचारिणीको पूजा गर्ने समयमा हातमा फूल लिएर निम्न मन्त्रहरुद्वारा अर्चना गर्नुपर्दछ ।
इधाना कदपद्माभ्याममक्षमालाक कमण्डलु
देवी प्रसिदतु मयि ब्रह्मचारिण्यनुत्त्मा
त्यसपछि देवीलाई पञ्चामृतले स्नान गराएर फूल, अक्षता, सिन्दूर अर्पित गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीलाई कमल एकदमै मनपर्ने शास्त्रमा उल्लेख छ । त्यसैले सोही फूलको माला लगाएर घिऊ वा कपुरको माला सहित निम्न मन्त्रहरुद्वारा देवीको आरती गर्ने गरिन्छ ।
के के गर्नुहुँदैन व्रत समयभर
केवल ब्रह्मचारिणी देवीको पूजाको समयमा मात्रै नभएर नवरात्रिभरी नै व्रत बस्ने मानिस नौ दिन नै जमिनमा सुत्नु पर्नेछ । व्रत बस्ने मानिसले फलाहार मात्रै गर्नुपर्ने हुन्छ । पूजाको समयमा नरिवल, कागति, अनार, केरा र मौसमी अरु कुनैपनि फलफूल भोग लगाएर मात्रै खानु पर्नेछ । व्रत गर्नुअघि संकल्प लिनु पर्नेछ ।
कम्तिमा पनि व्रत समयभर क्रोध, लोभ र मोह आदि दुष्प्रवृत्तिहरुको त्याग गर्नु पर्दछ । देवीको आह्वान, पूजन, विसर्जन, पाठ आदि गर्नको लागि प्रातस् कालमा शुभ हुन्छ । अतस् यस समयमा नै तप ध्यान र पूजा गर्नु पर्दछ । घटस्थापना अघि सूतक लागेमा पूजा गर्नु हुँदैन । तर, घटस्थापना गरिसकेपछि सूतक लागेमा कुनै दोष नहुने मान्यता छ ।
“ब्रह्मचारिणी स्रोत पाठ”
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम्।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम्॥
शंकरप्रिया त्वंहि भुक्ति९मुक्ति दायिनी।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम्॥
“ब्रह्मचारिणी कवच”
त्रिपुरां हृदयं पातु ललाटे पातु शंकरभामिनी।
अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो॥
पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी॥
षोडशी सदापातु नाभो गृहो च पादयो।
अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी।
देवी भागवत पुराणमा ब्रह्मचारिणी सम्बन्धी कहानी
देवी भागवत पुराणमा माता ब्रह्मचारिणीको सम्बन्धमा पौराणिक कहानी उल्लेख गरिएको छ । सो पुराणका अनुसार हिमालयकी पुत्री पार्वतीले देवर्षि नारदको सल्लाह अनुसार भगवान शिव पति पाउँ भनी ब्रह्माको कठोर ब्रत बसेकी थिईन् । जसबाट प्रसन्न भएर ब्रह्माले उनलाई मागेको वरदान दिएका थिए । जसको फलस्वरुप यी देवी भगवान भोलेनाथकी वामिनी अर्थात् पत्नी भएकी थिईन् । यो पौराणिक कहानी आध्यात्मिक तथा आत्मिक आनन्दको कामना राख्दै सहज रुपमा धेरै कुरा जित्न सक्ने सन्देश दिने कहानी रहेको छ ।