फेसबुकमा आउने गर्छ – तिमीहरुको मेयरको के छ हौ मानसिक अवस्था ? खै व्यवहारमा त देख्दिनँ भनेर फेसबुकमा आउने गर्छ ।’ वडाध्यक्ष भट्टराईले मेयर साम्पाङलाई कार्यपालिका बैठकमा प्रश्न गदैं भन्नुभयो– ‘कि हामीले सोच्नुपर्ने अवस्था आएको हो धरानको ? कि त्यो अवस्था हो मेयर साबको ?’

  • रणध्वज लाेहार

धरान  / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को मानसिक अवस्थाबारे फेसबुकमा हुने गरेको टिप्पणीबारे कार्यपालिका बैठकमा  विषय प्रवेश भएको छ ।  

उपमहानगरका प्रवक्ता रहनुभएका धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले फेसबुकमा मेयरलक्षित टिप्पणी तथा उहाँले उपमहानगरमा गरिएको मनोमानीका विषयमा खुलेर कुरा उठाउनु भएको छ ।  

सामाजिक सञ्जाल तथा अन्य स्थानका शुभ चिन्तकहरुले मेयर साम्पाङको कार्यशैली र केटाकेटीपनले उहाँको स्वास्थ्य अवस्था के छ भनेर टिप्पणी तथा धरानेलाई सोध्ने गरेको कुरा वडाध्यक्ष भट्टराईले कार्यपालिका बैठकमा राख्नु भएको छ । 

उहाँले धरानको कुर्सीमा बसेर धरानको सिंगो वातावरण खल्बल्याउने काम गरेको समेत आरोप लगाउनु भयो । मेयरको गतिविधि र सामाजिक सञ्जालको टिप्पणीले धराने जनतालाई चिन्तित बनाएको बताउनु भएको छ ।  'मेयर साम्पाङको स्वास्थ्यप्रति जनताको चासो छ, धरानको कुर्सीमा वसेर जथाभावी बोलेर वातावरण विगार्न कसैलाई छुट छैन।’- उहाँले भन्नु भयाे । 

धरान हिजो पनि मिलेर बसेको शहर हो, आज पनि मिलेर नै वसेको छ र भोली पनि मिलेर नै वस्न चाहन्छ तर आज विश्वभर नै धरान अशान्त छ भनेर सवैले चिन्ता व्यक्त गर्न थालेको पनि वडाध्यक्ष भट्टराईले बताउनु भयो । 

‘फेसबुकमा आउने गर्छ – तिमीहरुको मेयरको के छ हौ मानसिक अवस्था ? खै व्यवहारमा त देख्दिनँ भनेर फेसबुकमा आउने गर्छ ।’ वडाध्यक्ष भट्टराईले मेयर साम्पाङलाई कार्यपालिका बैठकमा प्रश्न गदैं भन्नुभयो– ‘कि हामीले सोच्नुपर्ने अवस्था आएको हो धरानको ? कि त्यो अवस्था हो मेयर साबको ?’ वडाध्यक्ष भट्टराईले आफूलाई सामाजिक सञ्जालमा जनताले प्रश्न गर्ने गरेको कार्यपालिका बैठकमा सुनाउनु भएको थियो ।  

धरानको कुर्सीमा बसेर धरानको सिंगो वातावरण खल्बल्याउने जुन काम गर्नु भएको छ तपाईंले, हुन त तपाईं विश्वमा म भन्दा जान्ने र बुझ्ने को छ र भन्नु हुन्छ, अरुले तपाईं भन्ने कुरा हो, आफैं मपाईं भन्नु हुन्छ, यस प्रति दुःख व्यक्त गर्न चाहान्छौं हामी, खेद व्यक्त गर्न चाहान्छौं ।’  भट्टराईले भन्नुभयो । 

धरान धमिलो पानीमा माछा मार्न चाहानेहरुका लागि विश्वास गर्दैन । धराने जनता हिजो पनि मिलेर बसेका थिए, आज पनि मिलेर बस्छन् । धार्मिक र जातीय हिसाबले सद्भावयुक्त धरान बनाउने कुरामा शरीरमा सास रहुन्जेलसम्म दृढतापूर्व उभिन्छौं हामी ।' - उहाँले भन्नुभयो । 

भट्टराईले  मेयरको मानसिक स्वास्थ्य, मनोमानी रुपमा कर्मचारी सरुवा, आफन्तलाई कर्मचारी नियुक्ति गर्ने काम, सामाजिक सञ्जालमा सद्भाव खलवलाएको विषयमा कुरा उठाउदा कार्यपालिका सदस्यहरुले तालि बजाएर समर्थन गर्नु भएको थियो । 

‘धरानमा चारकुनामा प्रहरी नै प्रहरी राखेर धरानलाई विश्वका आँखामा अब धरानमा आगो बल्न आँट्यो धरानबाट जातीय धार्मिक युद्धको शंखघोष हुन आँट्यो मुलुकमा, भन्ने परिस्थिति निर्माण भइरहँदा सिंगो राज्यको संयन्त्र लागि पर्दा, हाम्रो प्रमुखको आँखा कहाँ थियो ? -भन्दै यस बारे प्रष्ट पार्न मेयरलाई वडाध्यक्ष भट्टराईले आग्रह पनि गर्नु भयो । 

उमेर हद भन्दै कर्मचारी निकाल्दा कार्यपालिकामा छलफल नगरेको र अहिले तिनै कर्मचारी राख्न लाग्दा कार्यपालिकामा छलफल गर्न खोजेको विषय उहाँले उठाउनु भएको छ ।  'तपाईंका घरमा भाँडा माझ्न बसेका मान्छे जस्तै कर्मचारी निकाल्ने काम भएको उहाँले भन्नुभयो । निकाल्दा छलफल गर्नुपर्छ कि पर्दैन । कसलाई सोधेर निकाल्नु भयो । राख्न लाग्दा छलफल गर्नुपर्ने ।' भट्टराईले कार्यपालिका बैठकमा मेयर साम्पाङलाई प्रश्न गर्नु भयो । उहाँले मेयरको दवावमा जताभावी निर्णयमा हस्ताक्षर गर्ने प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुलाई पनि चेतावनी दिदैं -'हामीले कुनै दवाव दिएका छैनौ. । मेयर अधिकृत मात्र धरानमा छैनन् .। सिंगो कार्यपालिका छ । हेक्का रहाेस । हामीले दवाव दिएका बेला दवाव झेल्न गाह्रो पर्ला । सुुझबुझका साथ काम गर्नु होला ।'-उहाँले कर्मचारीलाई पनि चेतावनी दिनु भएको छ ।   

'नगरपालिका टाँट पल्टिन लाग्यो, वडामा बजेट छैन । पोहोरको दायित्व तिरिसकिएको  छैन । कर्मचारी भर्ती गरेको गरै हुनुहुन्छ । हिजो झोले भन्दै गेटमा उफ्रिनुहुन्थ्यो, आज तपाईंका झोले झ्याम्टाहरु सबै चाहिं राख्नु भएको छ । म कार्यपालिकालाई सोध्नु चाहान्छु, तपाईंलाई कसले अधिकार दियो सही गर्ने हँ  ?’ वडाध्यक्ष भट्टराईले प्रश्न गरे– ‘आज तपाईंका चुनावी अभियानकर्ताहरु सहपाठीहरु खोलामा ढुंगा बोक्नेहरु खानेपानीका कर्मचारी भएका छन् । तपाईंका हरेक मान्छेहरु जागिरे भइरहेका छन् । जागिर त  ८४ सम्मका लागि त होला नि । यो नगर त हामीले चलाऔं ला नि । हेरौं ८४ मा तपाईंको ।’

वडाध्यक्ष भट्टराईले तत्काल राजीनामा गरेर जनमत लिन साम्पाङलाई चुनौती पनि दिनुभएको छ । त्यसका लागि भिडन आफुखतयार रहेको उहाँको चुनौती थियो । 'म तपाईंलाई च्यालेञ्ज गर्न चाहान्छु म अहिले राजीनामा गर्न तयारी छु, जनताको जनमत लिन । तपाईं राजनीनामा गर्न तयार हुनुहुन्छ ?  तपाईंका लागि म अहिले राजीनामा गर्न तयार छु, तपाईं तयार हुनुहुन्छ ? म तयार भएर आएको छु । किनकि चुनाव हारें भने धरान छाड्दिन्छु, राजनीति छाड्दिन्छु । मेरो तपाईंलाई चुनौती भयो ।' मेयर साम्पाङले धरानलाई बिगारेको उहाँको भनाई थियो । 

धरान उपमहानगरपालिकालाई मेयर साम्पाङले निजी कम्पनीजस्तो र स्टेकहोल्डरलाई कामदार जस्तो गरेको वडाध्यक्ष भट्टराईले खुलाउनु भयो ।  

वैठकको अध्यक्षता गर्न भएका मेयर साम्पाङलुे भने भट्टराई उठाएका प्रश्नहरुको वगोटमटाल जवाफ दिनुभएको थियो । सामाजिक सद्भाव, धार्मिक सहिष्ण्ुता र एकताभाव कायम गर्नको निम्ति आफु लागि परेको जवाफ दिनुभयो । गोपाल मन्दिर  र चर्चको विवादलाई अदालतले मात्रै फैसला गर्न सक्ने उनको भनाई थियो । उहाँले कर्मचारी नियुक्ति, सरुवाका विषयमा सबै कार्यपालिकामा छलफल हुने भए मेयर उपमेयरको के अर्थ हुने भन्ने जवाफ दिनु भएको थियो । बैठकमा १९ नं. का वडाध्यक्ष पूर्णबहादुर लिम्बु, १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईलगायतले मेयरको कार्यशैलीको विषयमा प्रश्न उठाउनु भएको थियो ।