धरान / धरान खेलकुदको शहर भनेर परिचित छ । खेलकुदको शहर भनेर चिनिएको धरानमा खेलकुदको राम्रो पूर्वाधार विकास नहुनु भनेको विडम्बना हो । खेलको विकासका लागि पूर्वाधार नै मुख्य कुरा हो । यद्यपी धरानले राष्ट्रिय स्तरमासमेत धरानले खेलाडी जन्माइसकेको छ । तर, पनि खेलकुद क्षेत्रको व्यवस्थापन र पूर्वाधार विकासको कमीले भनेजति खेलकुद क्षेत्रमा विकास हुन सकेको छैन । पूर्वाधार विकासको मुख्य आधार भनेको स्कुले वालकालिकाहरुलाई प्रोत्सोहान गर्नु हो । धरान उपमहानगरले नगरभित्र रहेका विद्यालयमा खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारसहितको खेलाडी उत्पादन अव भने शुरु गरेको छ । यसका लागि सुवास राईको संयोजकत्वमा नगर खेलकुद विकास समिती नै गठन गरेको छ । समितिले धरान उपमहानगरको आयोजनामा धरानमा विद्यालय स्तरीय ‘मेयर– स्कुल ओलम्पिक प्रतियोगिता’ शुरु गरेको छ । यस विषयमा जनटाइम्स डट कमले गरेको कुराकानीको सार उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छः


खेलकुदको शहर धरान
निश्चय नै हाम्रो धरान खेलकुदको शहर भनेर पहिचान बनाइसकेको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना भएर सफलतापूर्वक सम्पन्न भैरहेका छन् । धरानले बनाएको यो पहिचानलाई अझै हामी धरानवासीले उँचो राख्दै थप खेल तथा खेलाडी विकासका लागि थप योजना बनाएर काम गर्नु पर्छ भनेर धरान उपमहानगरले नगरको खेलकुद विकासको लागि समिती नै बनाएर काम गर्न थालेको हो । यसमा खेलसँग सम्बन्धित र धरानवासीले सहयोग गर्नु हुने छ भन्ने अपेक्षा रहेको छ । समितिले पनि धरानमा खेलकुदको विकास गर्न के गर्न सकिन्छ भनेर सरोकारवालालगायत सबैसँग राय सल्लाह लिएर अघि बढ्ने छ । खेलकुदलाई प्रत्येक विद्यालयसम्म पुर्याउने, खेल फर्मको रूपमा विकास गर्ने, अधिकतम् खेल र खेलाडीको प्रवद्र्धन गर्ने, राखेपमा समावेश भएका सबै खेलहरू धरानका विद्यालयमा गराउने र खेलको विकासको लागि थप योजना बनाएर अघि बढ्नु पर्छ भनेर हामी अभियानमा लागेका छौ । सोही बमोजिम धरानको खेलकुदको विकासका लागि हामीले धरानमा रहेका विद्यालय–विद्यालय बीच मेयरकप स्कुल ओलम्पिक गराउँदैछौँ । यो गर्नुको उद्देश्य नै अब विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नु हो । अनि खेलकुदको लागि विद्यालय स्तरमा पूर्वाधार तय गर्नु पनि हो । अर्को महत्वपूर्ण कुरा धरानका विद्यालयमा खेलकुदको अवस्था कस्तो छ भनेर परीक्षण गर्ने अवसर पनि हो । जहाँ जस्तो छ, त्यसलाई धरान उपमहानगरले थप विकास गरेर लैजाने लक्ष्य लिएको छ । खेलाडी उत्पादन र खेल प्रवद्र्धनका लागि ओलम्पिक ‘माइलस्टोन’ हुने विश्वास लिएका छौँ । आगामी पाँच बर्षमा धरानको खुलकुदको स्तर अर्कै हुने छ ।

प्रतियोगिताको तयारी
सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि फुटबल खेल माघ २२ गतेदेखि धरान १७ स्थित एन्फा एकेडमीमा भैरहेको छ । सबैभन्दा धेरै विद्यालयले सहभागिता जनाएको खेल फुटबलमा धरानका निजी तथा सामुदायिक गरी ४५ वटा विद्यालयको सहभागिता रहेको छ । यो राम्रो पक्ष हो । माघ २८ गते डिपो उच्च माविमा बास्केटबल हुने छ । अनि प्रतियोगिताको उद्घाटन २९ गते धरान १६ स्थित रंगशालामा गर्नेछौँ । दिउँसो १ बजे भव्य रूपमा धरान उपमहानगरका मेयर तारा सुब्बाको प्रमुख आतिथ्यतामा हुने छ । त्यसमा विद्यालयका खेलाडीले मार्चपास गर्नेछन् । आआफ्नो स्कुलको प्लेकार्ड र झण्डासहित विद्यार्थीहरू मार्च पासमा सहभागी हुनेछन् । त्यसको नेतृत्व सशस्त्र प्रहरी बलको फूल ब्रास व्याण्डले गर्दैछ । आदिवासी जनजातिको १३ वटा झाँकी प्रदर्शन हुनेछन् । ३ वटा खेलहरू उसु, तेक्वान्दो र कराँते को प्रदर्शन गरिनेछ । नृत्य र धरानका चर्चित गायकहरूको गायनमा ओलम्पिक गीत प्रस्तुत हुनेछ । मेयर तारा सुब्बाले मेयर स्कुल ओलम्पिक २०७४ को शुभारम्भ भएको घोषणा गर्नु हुनेछ ।
धरानका ५४ वटा विद्यालयहरु सहभागी हुँदैछन् । तर सबै खेलमा ५४ वटा नै सहभागी छैनन् । पहिलो पटक भएकाले यस्तो भएको हो । हाम्रो पहिलो प्रयास हो तर पनि विद्यालय तथा खेलाडी भाइबहिनीहरू उत्साहित छन् । प्रतियोगितामा करिव २ हजार ३ सय विद्यार्थीहरूले सहभागिता जनाउँदैछन् । त्यो सकरात्मक पक्ष नै हो । यो ओलम्पिक खेलाडी उत्पादनसँगै ऐनाको रूपमा आयोजना हुँदैछ । धरानका विद्यालयले खेलकुदलाई कति प्राथमिकता दिएका छन भन्ने कुरा यसै प्रतियोगिताले देखाउने छ । खेललाई विद्यालयले कति लगानी गरेको छ त । विद्यालयमा खेलकुदको लागि भनेर छुट्टै शुल्क समेत लिने गरिएको छ, त्यसमा कसले कति पैसा लगानी गरेको छ भन्ने कुरा पनि देखिन्छ । त्यसैगरी खेलकुदमा कमजोर रहेका त्यस्ता विद्यालयलाई खेलकुदको विकासका लागि धरान उपमहानगरले सहयोग गर्नेछ । खेलको प्रवद्र्धन गर्न विद्यालय स्तरबाटै आधार तय गर्दैछौँ । खेलका विधाहरु १० वटा रहेका छन् ।

ओलम्पिकका विजेता र उप बिजेतालाई पुरस्कार
विजेता विद्यालयलाई राम्रै पुरस्कारको व्यवस्था गरेका छौँ । जसको कारणले धरानको खेलकुदमा थप प्रवद्र्धन होस् । त्यसका लागि विजेता स्कुलले नगद १ लाख रुपैयाँ, ट्रफी प्रमाण पत्र, उप विजेताले नगद ६० हजार ट्रफी, प्रमाणपत्र र तेस्रो हुने स्कुलले नगद ४० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । विजेता विद्यालय सम्वन्धित विद्यालयको खेलाडीले पाएको मेडलको आधारमा विजेता घोषित हुनेछ ।

स्रोत व्यवस्थापन
निश्चय पनि खेल सम्पन्न गर्न लगानीको कुरा नै महत्वपूर्ण पक्ष हो । त्यसका लागि धरान उपमहानगरकै खेलकुद कोषबाट १२ लाख रुपैयाँ प्रतियोगिताको लागि व्यवस्थापन गरेका छौं । जम्मा व्यवस्थापनको लागि १४ लाख ३१ हजार रुपैयाँ खर्च हुँदैछ । खेलको ‘इन्ट्री फी’ वापत ५० हजार अपेक्षा गरका थियौं तर हाल सम्म ६० हजार जम्मा भइसकेको छ । विद्यालयलाई २ हजार ५ सय इन्ट्री फि तोेकेका छौं । सामुदायिक विद्यालयले इन्ट्री फि उपलव्ध गराउन नसकेपछि निशुल्क नै गरेका छौं । हामीलाई इभेन्ट भरी सहयोगी भुमिका खेल्ने एसीसी धरानले ५१ हजार रुपैयाँ उपलव्ध गराएको छ ।

सहभागीता सीमा
हामीले कक्षा १० सम्मका विद्यार्थीलाई मात्रै सहभागी गराउँदैछौँ । त्यसका लागि विद्यालयसँग पनि छलफल गरिसकेका छौं । कक्षा १० भन्दामाथिका विद्यार्थीलाई सहभागी गराउन पाइने छैन । कसैले त्यसो गर्छ भने त्यस्ता विद्यालयलाई कारबाहीसमेत गर्नेछौँ । कारबाहीस्वरुप जरिमाना ११ हजार रुपैयाँ र ३ वर्षसम्म त्यस्ता विद्यालयलाई निलम्वन गरी सार्वजनिक समेत गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न द्खिएका चुनौती
मुख्यतः खेलकुद सम्पन्न गर्नका लागि व्यवस्थित पूर्वाधार नै छैन । स्रोत व्यवस्थापन भइसकेको छ । इभेन्ट गर्न र गराउन धरानमा त्यस्तो भरपर्दो पूर्वाधारको विकास हुन सकेको छैन । खेलकुदको शहर भन्छौँ तर खै त यहाँ खेलकुदको पूर्वाधार सामान्यबाहेक छैन । त्यसैले अब हामी खेलकुदको विकासका लागि पूर्वाधारसहितको काममा लाग्नेछौँ । जसले गर्दा धरान साँच्चै नै खेलकुद शहर भनेर परिचित बनोस् ।
अपेक्षा
हाम्रो अपेक्षा यस प्रतिया्गितामार्फत धरानका सबै विद्यालयहरु खेल प्रति जागरुक बनाउने हो । भएका पूर्वाधारलाई संरक्षण तथा नभएका पूर्वाधारहरु तय गर्ने हो । धरानलाई साचीकै खेलकुदको शहर बनाउने हाम्रो लक्ष्य छ । यसमा सबै नगरवासीको साथ र सहयोगको अपेक्षा गरेका छौ । हामीले राम्रो खेलाडी उत्पादन गरेर ठूलो प्रतियोगिताहरुमा पठाउन सकेका छैनौ । अवका दिनमा विद्यालय स्तरबाटै खेलडी उत्पादन गरेर धरानलाई साचीकै खेलाडी रखेलको शहर बनाउछौं । यसमा सबैको सहयोग, सल्लाहा र सुझावको पनि अपेक्षा गरेका छौ ।