कञ्चनपुर / कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको छ ।
फागुपूर्णिमापछि सो समुदायमा होलीको निकै रौनक छाउँने गर्दछ । गाउँभरिका महिला पुरुष वृद्धदेखि बालकसम्म सबैजना रातदिन होली खेल्छन् । माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । माघ पूर्णिमादेखि फागन पूर्णिमासम्म जीउँदो होली र फागुन पूर्णिमापछि आठ दिनसम्म मृत होली खेल्ले परम्परा रहेपनि पछिल्ला वर्षमा होली खेलिने समय छोट्टिदै गएको राना समुदायका अगुवा बताउँछन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेब रानाले होली खेल्ले समय छोट्टिदै गएको बताउनुभयो । “परम्परा अनुसार यो समयमा हाम्रो समुदायमा होलीको रौनक हुनुपर्ने हो ।” उहाँले भन्नुभयो–“३८ दिनसम्म लगातार दुई चरणमा खेलिने होली अन्य समुदायको जस्तै तीन÷चार दिनमा समिति हुने गरेको छ ।” उहाँले पछिल्लो पुस्ताले अन्य समुदायको सिको गर्दै दुई÷तीन दिनमात्रै होली खेलिने गरेको बताउनुभयो ।
“पहिला रातभर पनि महिना दिनसम्म होली खेलिन्थ्यो अहिले त्यो रौनक देखिदैन ।” उहाँले भन्नुभयो“अहिले त होली गाउने मान्छे पाउनै मुस्किल छ ।”माघ पूर्णिमाका दिन गाउँका दाजुभाइ गुइँठा, काठ दाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् । गाउँको चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्रीसहित यसरी होली राख्ने परम्परागत चलनलाई रानाथारु भाषामा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको सो समुदायका जानकारहरु बताउँछन ।
यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धनवहादुर रानाले होली पर्वको समय छोटिँदै गएपनि युवापुस्ता संस्कृति संरक्षणमा लागेको बताउनुभयो ।
“परम्परा अनुसार माघ पूर्णिमादेखि हरेक दिन बेलुकी खाना खाएर फागुपूर्णमासम्म जिउँदो होली र त्यसपछिका आठ दिन मृत होली खेल्छौँ ।” उहाँले भन्नुभयो“हामी युवा हाम्रा परम्पराको संस्कृति संरक्षणमा लागेका छौँ ।” उहाँले युवा पढाइ र रोजगारीका लागि अन्यन्त्र रहेको र बुढापाकाले होली खेल्न नसक्दा होली पर्वको समय छोटिएको बताउनुभयो ।
सो समुदायले होली पर्वमा सु–स्वास्थ्य र लामो आयुका लागि आर्शीवाद माग्ने चलन रहेको भीमदत्त–१४ का वसन्ती रानाले बताउँनुभयो । “पहिलाको जस्तो रौनक अहिले हुँदैन विस्तारै कमहँुदै गएको छ ।” उहाँले भन्नुभयो–“पहिला हामी हाम्रो परम्परागत पहिरन लगाएर होली पर्व महिनौँ खेल्थ्याँै अहिले त्यस्तो रौनक छैन ।”
महिलाहरूले घगरिया, अङिया, फतुई ९सिक्काको माला० र पुरुषले घगिया पहाना, तुल फेरा ९परम्परागत पहिरन० लगाएर रातभरि होली खेल्ने प्रचलन छ । पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । सो समुदायका जानकारका अनुसार हिरण्यकश्यपले विष्णु भगवानका भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए ।
प्रल्हादले पनि आफ्नो बुबाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन । यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होली पर्व मनाउन सुरुआत भएको जनाइएको छ ।