धरान । वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राईको उम्मेद्वारी रहेको छ । धरानमा खेलकुद क्षेत्रबाट उदाएको किशोर राई युवा माझ लोकप्रिय हुनु हुन्छ ।  नेपाली कांग्रेसको नेता राई संघर्षशिल, स्पष्टवक्ता, लोकप्रिय नेताका रुपमा चिनिदै आउनुभएको छ । धरानमै हुर्किएका उहाँ धरानका सबै समस्याहरुसँग परिचित हुनुहुन्छ । 

राईको राजनीतिक यात्रा 

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म मोरङको बोराबाधमा आमा लक्ष्मी राई र पिता पृथ्वी बहादुर राईको कोखबाट २०२४ साल चैत्र १७ गते भएको हो । उहाँले आइ.ए. सम्मको अध्ययन गर्नु भएको छ । आमा लक्ष्मी धरानमा छापाखाना व्यवसाय र सामाजिक सेवामा सकृय रहनु भएको छ । आमासँग धरानमै बाल्यकाल देखी उहाँ हुर्किनु भएको हो ।  फुटबलको राष्ट्रिय खेलाडीको रुपमा सकृय रहँदा रहँदै २०४७ साल देखी उहाँको सकृय राजनीतिक जीवन धरानमा नेपाली कांग्रेसलाई शसक्त बनाउने उद्देश्यबाट सुरु भएको हो ।

फुटबलका अब्बल खेलाडी राई २०५१ सालमा नेपाली कांग्रेस धरान वडा नम्बर १२ को बुथ सभापति हुनु भयो । २०५४ सालको स्थानीय निर्वाचनमा धरान वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित हुनु भएको थियो । २०५५ सालमा कांग्रेस धरानको नगर सचिब भएका राई २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति हुनु भयो । उहाँले २०६२÷०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गर्नु भएको थियो । २०६६ साल देखि २०७२ साल सम्म नेपाली कांग्रेस धरानको नगर सभापति हुनु भयो । २० वर्ष सम्म धरान नगरपालिका जनप्रतिनिधि विहीन हुँदा सर्वदलिय संयन्त्र मार्फत धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरु निर्णायक पार्टी नेताका रुपमा उहाँको सक्रियता थियो । राजनीतिक संयन्त्रको प्रमुख हुँदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपुर्ण भूमिका उहाँले नै निर्बाह गर्नु भएको थियो । 

सानै उमेरदेखी फुटबलमा रुची राख्ने उहाँ किशोरवयमा टेक्दा टेक्दै राष्ट्रिय खेलाडी मात्र बन्नु भएन नेपालमा फुटबलको सर्वोच्च संस्था एन्फाका केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित हुनु भयो । एन्फामा प्रभावशाली भुमिका निर्वाह गर्दै आउनु भएका राईकै  प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । उक्त परियोजनाको परिणाम स्वरुप धरान–१७ मा एन्फा टेक्निकल सेन्टर स्थापना भएको हो । किशोर राईको पहलामा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीता प्रारम्भ गरेको हो । नेपालमा सबै भन्दा लामो समयदेखी निरन्तर आयोजना भैरहेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगीताको रुपमा बुढासुब्बा गोल्डकप फुटबल अहिले सम्म पनि सञ्चालन हुँदै आएको छ । यो फुटबल प्रतियोगीता २३ वर्ष अघिदेखी शुरु भएको हो ।

उहाँले राष्ट्रिय खेलकुद परिसदका सदस्य धरानमा क्षेत्रीय रंगसालाको निर्माणको लागि भएको संघर्षमा पनि नेतृत्व गर्नु भयो ।  उहाँ धरान मित्र मिलन क्लबका सस्थापक अध्यक्ष, छिमेकी स्पोर्टिंग क्लबका पूर्व अध्यक्ष हुनुहुन्छ । धरानलाई खेलकुदको केन्द्र बनाउन मिनि ब्राजिलको नारा दिएर उहाँ युवाहरु माझ लोकप्रिय बन्नु भयो । उहाँले विदेश भ्रमणबाट पनि विकासमा धेरै अनुभव बटुल्नु भएको छ । २०१४ मा विश्वकप फुटबलमा सहभागी हुन उहाँले ब्राजिलको भ्रमण गर्नु भयो । दक्षिण कोरिया, मलेसियामा भएको एसियन फुटबल स्वर्ण जयन्तीमा नेपालबाट प्रतिनिधित्व, सन २०१२ मा मलेसियामा भएको अन्डर १९ बिश्वकप छनौटमा नेपालबाट टिम म्यानेजर, हङकङमा भएको सुब्बा गोल्डकप प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो । ।

धरानको विकासको बारेमा उहाँ अत्यन्तै उत्साहीत युवा नेताहरु मध्ये एक मानिनुहुन्छ । उहाँको भनाईमा आफैले जग्गा दिएर बाटो बनाउने, आफैले ड्रेन, ढल बनाउन श्रम र पैसा लगानी गर्ने धरानका जनताको साथ पाए धरानलाई हङकंङगको दाजोमा पु¥याउन सकिने कुरामा कसैको दुइमत छैन । प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलन सबैभन्दा पहिले नेपाली कांग्रेसले गरेको थियो । त्यसमा उहाँले निर्णायक भूमिका खेल्नु भएको थियो । धरान राजधानी नभता पनि पूर्वाधारको विकासमा राजधानी बराबरको बनाउने प्रतिबद्धता उहाँको छ । धरानको खानेपानी आयोजनाको असफलताको कारण धरानबासीको अघि खुलासा गर्दै आयोजनाको पूर्व घोषित क्षमतामा खानेपानी व्यवस्थाका पूनस्र्थापन गर्ने नेता किशोर राईको प्रतिबद्धता छ ।