वैदिक संस्कार र विधिअनुसार गोपुच्छ प्रमाणको नखौरीकन सुरक्षित राखिएको कपालको एक अंशलाई टुप्पी भनिन्छ । टुप्पीलाई टुपी, शिखा, चूड़ा पनि भनिन्छ ।  
टुप्पीलाई 'टुप्पी' किन भनिएको हो यसबारे मेरो आफ्नै तर्क छ । शरीरको सबैभन्दा सिरानमा गजधम्म जरा गाड़ेर बसेकोले टुप्पी भनिएको हुनुपर्छ भन्ने मेरो मूर्ख अनुमान छ । अङ्ग्रेजी 'टप' शब्द बाटै टुप्पी शब्द अपभ्रंश भई आएको हुनुपर्छ । कि चाहिँ टोपीभित्र साँपजस्तो गुजुल्टिएर बस्ने हुनाले टुप्पी भनिएको हुनुपर्छ । कि चाहिँ टाउकाको टुप्पोमा ठाँटसितले बसेकोले पनि यसो भनिएको हुनुपर्छ ।
यो टुप्पी शब्द उच्चारण गर्ने बित्तिक्कै मेरो आङ् जिरिङ्-जिरिङ् हुन थाल्छ । बुवाको दाह-संस्कार गरेपछि श्मशानघाटमा हजामले बाजेको निर्देशमा मेरो टाउकाको सिरानमा बसेको सामान्य टुप्पी उचालेर अरस्तुले कपाल खोरँदा नारायण तीन त्रिलोक चैध त्रिभुवन देखेको थिएँ । अन्त्येष्टि क्रिया सिद्धिएकै दिन नूनले मातेर होला खाटमा घोप्टो परी मस्त निदाएको बेला मेरो सानो छोरोले "बुवा ! तपाईको टाउकामा मूसाको पूच्छर " भन्दै मेरो टुप्पी रिङ्टा छुट्ने गरी तान्दा घरै थर्काउने गरी मेरी श्रीमती कहालिएकी घटना सम्झिँदा अहिले पनि कुरीकुरी लाग्छ ।
टुप्पीलाई हिन्दू संस्कारको एक मुख्य चिन्तह मानिए तापनि हिजोआजका पङ्कसहरू टुप्पीसित छुटानाम गरी पूर्पूरोतिर आएका रौंलाई छोटो पारी च्यूँड़ोभरी टुप्पी राख्न थालेका छन् । हामी हिन्दूहरूको टुप्पी सेतेहरूले खोसिसकेका छन् अचेल । वृन्दावनमा यी सेतेहरू लामा न लामा टुप्पी राखी सेतो तिलक लगाई 'हरे कृष्ण ! हरे कृष्ण !' फ्लाक्दै डुलेका देखिन्छन् ।
हाम्रो टुप्पी बिकिसकेको छ सेतेहरूका फेशनमा । अचेलका केही आधुनिक बाहुन बाजे पनि जजमानलाई देखाउनका निम्ति मात्र टुप्पी ऱाख्छन् । बाहुनका बाजेका छोराहरूको टुप्पी त्यति देखिँदैन । कलेज पढ़्नेहरू ता लामो टुप्पी राख्न थुरथुर् । क्लासममा प्रोफेसरले लेक्चर दिँदै गरेका बेला पछिल्तिरबाट केटीहरूले टुप्पी तानेर-तानेर बाजे सहपाठीलाई हत्तुहैरान पारेपछि लामा-लामा टुप्पी कसैले राख्यो ? बाजे युवकहरूको टुप्पीलाई 'एण्टिना' भनी सुम्सुम्याउँदै रोमाञ्चित हुनु ता परै जावोस् कुण्ठित मात्र होइन लाजले पानी-पानी हुनुपरेको पीड़ाले पनि बाजे कलेजियनहरू टुप्पीदेखि टाढ़िन थालेका कुरा अवश्यै ढाँट नहुनुपर्ने ।
क्लासमा टुप्पी तानेर तानेर धुरुक्कै रुवाउने केटीहरूको लामो केशराशी तानेर बदला लिन पनि सक्तैनन् बाजे कलेजियनहरू । किनभने, अचेल कलेजियन केटीहरूले तिनका केश ठुटा पारेकाले ठुटा केश तान्ने कुरै आएन । प्रोफेसरको आँखा छलेर ठुटो कपाल तान्ने कसरी ?
परेला (आँखाको डिल वा पटलका रौं), आँखीभौं (आँखामाथिको डिलमा उम्रने  रौंको रेखा), नाथू (नाकको प्वाल वा पोराभित्रको रौं), जुँगा (उमेर चढ़ेपछि पुरुषका ओंठमाथि उम्रने रौं), दाह्री (गाला, च्यूँड़ो र अघिल्तिर घाँटीसम्म पलाउने रौं), जैरे (काखीको रौं), छुसी (औँलाका बाहिरी खण्डमा हुने रौं) आदि रौंहरूमध्ये शरीरको टुप्पौमै विराजमान टुप्पी उमेरमा सानो भएपनि रौंहरूका राजा हो ।
टुप्पीले गाड़ी तान्छन्, रेलगाड़ी तान्छन् । तर हाम्रा नेताहरू भने आफ्नो टुप्पी बेच्छन् अनि निमुखा जनता-जनार्दनको टुप्पी टेक्छन् । कतिको टुप्पी ऋृणले बिक्छ भने हाम्रा नेताहरूका टुप्पीबाट छिट्टो धुँवा छुट्छ । भलाद्मीहरू टुप्पी जान्छ कि भनेर डरले थुरथुर् हुन्छन् । नेताहरू टुप्पी जोगाउन र टुप्पीकै धाक देखाउनमै व्यस्त र मस्त देखिन्छ । टुप्पी सबैको हुन्छ । हाम्रो राजनीतिमा एकता नभएको जस्तो टुप्पी-टुप्पीहरूमाझ एकता छैन, मेलमिलाप देखिँदैन । यसैले ता हामी 'एक हातमा चूल्ठो, एक हातमा टुप्पी' लिएर भौतारिरहेका छौं ।
अब हामी सबैले शीरदेखि पूच्छरसम्मै लामो न लामो टुप्पी पाल्नुपर्ने जरुरी भएको छ । हनुमानले सामान्य पूच्छरद्वारा लङ्का खरानी बनाउन सके भने हामी सबै एकतावद्ध भई टुप्पीले मुलुक मार्न सक्तैनौ र ? हाम्रो टुप्पी टेकेर  हामीलाई लोप्पा खुवाएको खुवाएकै छ ।
टुप्पी जोगाऔं हाम्रो । टुप्पी टेक्न नदिऔं कसैलाई । बिक्न नदिऔँ । किनभने, टुप्पी हाम्रो शान हो ; टुप्पी हाम्रो धाक हो ।़
जय टुप्पी ।