काठमाण्डौ / सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापाले प्राकृतिक विपत्तिभन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई गुणा धेरै रहेको बताए । उनले भने, ‘सडक दुर्घटना मानवनिर्मित संयन्त्रबाट हुने हुन् । यसबाट ज्यान गुमाउनेको संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेको भन्दा डबल धेरै देखिन्छ । यसो हुनु दुःखद हो ।’

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ को वैशाख मसान्तसम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए ।

७४ प्रतिशत दुर्घटनाको कारण चालकको लापरबाही
सरकारी तथ्यांक विश्लेषण गर्दा मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारीसाधन दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । तथ्यांकअनुसार पाँच वर्षको अवधिमा मुलुकभर भएका ४६ हजार ७ सय ९२ सवारी दुर्घटनामा ३४ हजार पाँच सय २५ दुर्घटना चालकको लापरबाहीले भएको छ । यो जम्मा दुर्घटनाको ७३।७८ प्रतिशत हो ।

सवारी दुर्घटना हुने अर्को कारण तीव्र गति हो । मुलुकभर हुने कुल सवारी दुर्घटनाको १३।२२ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको देखिन्छ । यात्रुको गल्तीका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् । मुलुकभर ३।३२ प्रतिशत दुर्घटना यात्रुको लापरबाहीले भएका छन् । यसबाहेक ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी र ओभर लोडका कारण सवारी दुर्घटना हुने गरेको छ ।

लाइसेन्स वितरण प्रणाली नै असफल
नेपालमा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० वितरण र त्यसका लागि आवश्यक तालिम नेपाल सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले दिन्छ । कानुनअनुसार लाइसेन्सविना सवारीसाधन चलाउन पाइँदैन । त्यसैले प्रत्येक चालकसँग विभागले वितरण गरेकै लाइसेन्स छ । तथ्यांकले झन्डै ७४ प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको देखाउँछ । यसको अर्थ लाइसेन्सवाहक र उसको हातमा लाइसेन्स थमाइदिने सरकारी निकाय ‘फेल’ हुनु हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापा स्विकार्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको देखिन्छ । यसको अर्थ उनीहरूलाई सवारीसाधन चलाउन अनुमति दिने निकायमै केही समस्या छ । अर्को कोणबाट हेर्दा लाइसेन्सप्राप्त चालक असफल हुनु भनेको उनीहरूलाई लाइसेन्स दिने निकाय पनि फेल हुनु हो । अब यो प्रणालीमा सुधार हुनुपर्छ । यसो नगरिए यस्ता दुर्घटना हुन्छन् । मर्नेको दर बढेको बढ्यै हुन्छ ।’

सडक इन्जिनियरिङ पनि असफल
सवारीसाधन दुर्घटना हुनुमा सडकको पनि उत्तिकै भूमिका हुन्छ । विशेषगरी हाइवे र सहरमा हुने दुर्घटनामा केही हिस्सा दोष सडकको पनि छ । यसको अर्थ सडकसम्बन्धी हामीले अपनाउँदै आएको इन्जिनियरिङ पनि फेल हुनु हो । एसएसपी थापाले भने, ‘दुर्घटना सडकका कारण पनि हुने गरेका छन् । यो भनेको सडकसम्बन्धी हामीले अपनाउँदै आएको इन्जिनियरिङ फेल हुनु हो । यसमा पनि अब रिभ्यु आवश्यक भएको आजको नयाँ पत्रिकाले लेखेको छ ।