धरान / मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने कुकुरको दिशा यति बेला शहरमा ठूलो समस्या बनेको छ । विभिन्न नगरहरुले सुचना नै निकालेर कुकुरको दिसा व्यवस्थापन गर्न निर्देशन पनि दिएको पाइएको छ । ग्रामिण क्षेत्रमा मानिसको दिसा अझै समस्या बनिरहेको छ भने शहरी क्षेत्रमा कुकुरको दिसा निकै ठूलो समस्या बन्न थालेको छ ।

बिहानको समयमा बाटोमा कुकुरसहित मर्निङ वाक गर्न निस्कने र कुकुरलाई बिहान, दिउँसो, बेलुका बाटोमा दिसापिसाब गराउने प्रवृत्तीले बाटो घाटो फोहोर हुँदै आएको छ ।
एक तथ्याङ्क अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुन्छ । उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक मानिन्छन । एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन् । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् । जुकाले मानिसको शरीरलाई नकारात्मक असर पार्छ ।

काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । नमान्नेलाई कारवाही गर्ने चेतावनीसमेत दिएको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखाका अनुसार हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ । कुकुर मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो ।