धरान / प्रदेश नं. १ का मुख्यमन्त्रि शेरधन राईले किरात राई यायोखाले प्रदेशको नाम ‘किरात’ हुनु पर्ने माग स्वाभाविक भएको बताए छन् । उनले तर्क,ऐतिहासिकता, विशेषता र तथ्याङ्कका आधारमा गरेको प्रस्तावबारे कोही झस्कन र चस्कन नहुने बताए ।
किरात राई यायोखा सुनसरीले शनिवार धरानमा आयोजना गरेको साकेला उभौली समापना तथा साकेलासिली प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राईले प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा आफुले परामर्श थालेको बताउदै सहमतिबाटै दुई काम टुङ्गो लाग्ने बताए ।
‘तथ्य, तर्क सबैको भावनालाई ध्यानमा राखेर प्रदेशको नामकरण तथा स्थायी राजधानीको विषय टुङ्गो लगाउछौ ।’–मुख्यमन्त्रि राईले भने–‘त्यसको नेतृत्व मैले गर्ने छु । साथ र सहयोग सवैबाट पाउने अपेक्षा मैले गरेको छु ।’
उनले आफू पनि किरातीको छोरा भएको र प्रदेश चलाउने जिम्मेवार पाएको भन्दै किरातहरुको देउता सुम्निमा र पारुहाङलाई धन्यवाद दिए । सुम्निमा र पारुहाङको कृपाले किरातीको छोराले प्रदेश चलाउने जिम्मेवारी पाएको बताउदै प्रतिबद्ध भएर पाएको जिम्मेवारी पुरा गर्ने उनले उद्घोष गरेका छन् ।
कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले किरात राईहरुले आफना् संस्कृति संरक्षणका लागि गरेको कामको प्रसंसा गरेका छन् । भाषा, संस्कृति र संस्कार कुनै जातीको मात्र नभएर राष्ट्रको गहना भएकाले संरक्षणका लागि राईहरुको योगदान उल्लेखनीय भएको बताए ।
कार्यक्रममा किरात राई यायोखाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेशका नामकरण ‘किरात’ राख्न माग गर्दै २५ लाख जनताको हसताक्षर प्रदेश सरकार तथा प्रदेशसभालाई बुझाएको स्मरण गराए । प्रदेशका नाम भूगोल र नदिनालाको नाममा नराख्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।
‘म यही मञ्चबाट किरात’ प्रदेश बनाईयोस भनेर दवाव त दिदिन तर भूगोलको नाममा भने प्रदेशको नाम राख्न उचित हुदैन् ।’– अध्यक्ष राईले भने–‘सगरमाथा, कोशी जस्ता नाम आफै पहिचान बोकेका नाम हुन् । यी नामबाट प्रदेशको नाम कुनै हालतमा स्वीकार्य हुदैन् ।’