सुनसरीका अधिकांश स्थानीय तह दमकलविहीन

धरान /गत महिना सुनसरीको बराहा क्षेत्र र भोक्राहामा आगलागीका ठूला घटना भए । आगलागीबाट बराहा क्षेत्रको इक्राइमा ७० र भोक्राहामा १७ घर जलेर खरानी भए । दुवै ठाउँमा आगलागीबाट बढी क्षति हुनुमा स्थानीय तहमा दमकल नहुनु नै हो ।

सुनसरीका १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगर तथा इनरुवा नगरपालिकासँग मात्र दमकल छ । अन्य स्थानीय तहमा दमकल नहुँदा आगलागीमा ठूलो क्षति हुने गरेको छ । इनरुवा नगरपालिकामा रहेको एउटा दमकलले तीन नगरपालिका र तीन गाउँपालिकामा सेवा दिँदै आएको छ । आगलागीका घटना हुँदा सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको दमकलमा भरपर्नुपर्ने बाध्यता वरपरका अन्य स्थानीय तहलाई छ । समयमै दमकल नआउँदा धेरै क्षति हुने गरेको छ ।

प्राथमिकतामा पर्दैन दमकल
जिल्ला विपद् व्यवस्थापन समितिले गर्मी मौसममा आगलागीका घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्छ । तर, दमकलको व्यवस्थापन गर्नेतर्फ समितिको ध्यान जान सकेको छैन । सबैजसो स्थानीय तहका जनप्रतिनिधिले सरकारी बजेटबाट आफू चढ्ने महँगो गाडी किने । तर, आगलागी नियन्त्रण गर्ने अति नै महत्वपूर्ण दमकल किन्नेतर्फ कसैको पनि ध्यान गएन । सबैजसो स्थानीय तहका प्रमुखले बजेट नहुँदा दमकल किन्न नसकिएको जवाफ दिने गरेका छन् । दुहवी नगरपालिकाका स्थानीय विनोद चौधरीले दमकल किन्नेतर्फ मेयर उपमेयरले चासो नदिएको आरोप लगाए ।

कतै आगलागीका घटना भए जिल्ला प्रहरीले इनरुवा नगरपालिकामा रहेको बारुणयन्त्रलाईलाई खबर गर्ने गरिएको छ । कोसी, भोक्राहा–नरसिंह, हरिनगर, देवानगन्ज, गढी र बर्जु गाउँपालिकाले बजेट अभाव हुँदा दमकल खरिद गर्न नसकिएको बताएका छन् । गाउँपालिकामा आएको बजेट विकास निर्माणमै नपुग्ने हुँदा दमकल खरिद गर्न नसकिएको बर्जु गाउँपालिकाका अध्यक्ष रहुनन्द चौधरीले बताए ।

सुनसरीमा खर र परालका बस्ती धेरै
सुनसरीका ग्रामीण क्षेत्रमा खर, परालले छाएका सयौँ बस्ती छन् । त्यस्ता बस्तीमा आगलागीको जोखिम वढी हुन्छ । दमकल नहुँदा त्यस क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्नसमेत इनरुवा, धरान र इटहरीबाट दमकल जानुपर्ने बाध्यता छ ।

सडकमा धेरै बजेट

सबै स्थानीय तहले सडकका लागि मात्र बजेट छुट्याएका छन् । बर्जु गाउँपालिका अध्यक्ष चौधरीले यो वर्ष सबै वडामा दमकल र एम्बुलेन्स पुग्ने बाटो विस्तार गरिरहेको बताए । ‘आगामी आर्थिक वर्षमा दमकल खरिदका लागि बजेट छुट्याउँछौँ,’ उनले भने । २–३ वटा गाउँपालिका मिलेर दमकल खरिद गर्ने विषयमा पहल भइरहेको अध्यक्ष चौधरीले बताए ।

रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले दमकल आवश्यक भए पनि नगरपालिकाले किन्ने अवस्था नरहेको बताए । ‘दमकलसँगै २० जनाभन्दा बढी कर्मचारी आवश्यक पर्छ,’ चौधरीले भने, ‘त्यत्रो आर्थिक भार धान्ने हाम्रो हैसियत नै छैन ।’ उनले दमकल किन्न प्रदेश सरकारले नै पहल गर्नुपर्ने बताए ।

चौधरीले सानातिना आगलागीका घटना पानीट्यांकीमा पम्पसेट फिट गरी नियन्त्रण गर्ने गरिएको जानकारी दिए ।