धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अब बिचौलियाहरुको अन्त्य हुने भएको छ । प्रतिष्ठानभित्रै प्रतिष्ठानले नै लगानी गरेर औषधि बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि अब विचौलियाको अन्त्य हुने भएको हो । यसअघि बीपी प्रतिष्ठानभित्र नर्स र महिला कर्मचारीसँग रातभर बिचौलियाको सम्पर्क हुन हुने गर्दथ्यो त्यो सम्पर्कमा बाहिरबाट महंगोमा औषधि झिकाउन बाध्य हुनु परेको थियो । प्रतिष्ठान नेपालकै प्रतिष्ठित अस्पतालका रुपमा गनिन्छ । यहाँ कार्यरत नर्स, महिला कर्मचारी (सरसफाइ, रेखदेख वा अन्य काम गर्ने महिला) जागिर त खान्छन् नै बिचौलियासँगको सम्पर्कमा रहेर कमिसन समेत सोहर्ने गर्दथे । रातभर बिरामीको पछि पछि हिँड्ने गिरोह नै परिचालित हुन्छ । नियमतः प्रतिष्ठानभित्रकै कर्मचारीले यता जा उता जा भनेर सेवाग्राहीलाई भन्न समेत पाउँदैनन् । नर्स वा कर्मचारीसँग पहिल्यै तिनीहरुको सम्पर्क हुन्छ, अनि कमिसनको लोभमा उनीहरुले प्रतिष्ठान बाहिर रहेका अनाधिकृतरुपमा सञ्चालित औषधि पसलमा रेफर गर्छन् र कमिसन खान्छन् । यस्ता कुरामा पनि प्रतिष्ठानले ध्यान दिन सकेको थिएन । प्रतिष्ठानले सूचना नै जारी गरी बिरामी बाहिर रेफर गराउन, औषधि दबावमा किनाउन साथै अन्य विचौलियाहरुको विगविगी बढेको गुनासो बढ्दै गएकोले यस्तामा सेवाग्राहीहरु सचेत हुन अनुरोध गरेपनि यो सम्भव हुन सकेको थिएन । सोमबार प्रतिष्ठानका उप–कुलपति प्रा.डा. राजकुमार रौनियारले गाइनो वार्डमा औषधालय (फार्मेसी)को उद्घाटन गरे । प्रतिष्ठानभित्रका सबै उपचार केन्द्रहरुमा फार्मेसी सञ्चालन गरिने र बिरामीलाई औषधी खरिदका लागि बाहिर दौडनु नपर्ने भएको छ । बिरामीलाई आवश्यक पर्ने औषधी फार्मेसी सञ्चालकहरुबाट ल्याउनु पर्दा महङ्गो शुल्क तिर्नुपर्ने र बिरामीका आफन्तलाई झन्झटिलो भएकोले अब सबै प्रकारका औषधीहरु प्रतिष्ठानभित्र उपलब्ध हुने प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिएका छन् । फार्मेसीको उद्घाटन गर्दै उप–कुलपति प्रा.डा. रौनियारले बाहिरका औषधी पसलमा भन्दा प्रतिष्ठान आफैले सञ्चालन गरेको फार्मेसीमा सस्तो मूल्यमा सुलभ तरिकाबाट उपलब्ध हुने बताए । उनले इमर्जेन्सी, हाडजोर्नी, डेन्टल, ओपिडी लगायतका सबै वार्डमा औषधि उपलब्ध गराइने बताए । प्रतिष्ठानका फार्मेसी प्रमुख डा. काजिर आलमका अनुसार प्रतिष्ठानका कक्ष कक्षमा बिचौलियाहरुको उपस्थिति भएको भन्ने कुराको अब अन्त्य हुने बताए । बिरामीलाई कुन औषधी चाहिएको हो सो प्रतिष्ठानभित्रै उपलब्ध हुने र सहुलियत दरमा हुने भएकाले अब कोही पनि ठगिने सम्भावना नभएको उनले बताए । ५ हजार भन्दा बढि प्रकारका औषधी प्रतिष्ठानमा राखिने व्यवस्था तत्कालै हुने डा. आलमले बताए । प्रतिष्ठानले यस अघि नै विभिन्न ल्याब टेष्ट तथा एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान जस्ता परीक्षण बाहिर नगर्न कडाई गर्दै आएको छ । बाहिरका त्यस्ता परीक्षणलाई मान्यता दिएको थिएन ।