काठमाडौँ / नेपाली काँग्रेसको नेतृत्वलाई अबको ५ वर्ष सत्ताको आशा र लिप्सा बोकेर तानावाना बुन्नतिर हैन सशक्त प्रतिपक्षमा रहेर काम गर्न सुझाव दिइएको छ ।  निर्वाचनको समीक्षा गर्न बसेको पार्टी केन्द्रीय कार्य समितिको जारी बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजनीतिक दललाई सत्तामा बस्दा सहिष्णुता र प्रतिपक्षमा बस्दा साहस हुन जरुरी रहेको धारणा राखे । 
 संसद्देखि गाउँ/नगरपालिका र प्रदेशस्तरसम्म प्रभावकारी तथा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दा जनता नेपाली काँग्रेसतर्फ फर्कने विश्वास व्यक्त गर्दै उनले भने, “पार्टीभित्र संस्थागत, विधिसंगत, पारदर्शी, अनुशासित एकतापूर्ण नीतिगत प्रतिबद्धताका साथै वैचारिक अभियानमा समर्पित भएको खण्डमा ५ वर्षमा पार्टीलाई पूर्वस्थितिमा पु¥याउन सक्षम हुनेछौँ ।” 
 पार्टीको असामान्य पराजयका कारक र दोषको क्रूर समीक्षाले मात्र बैठकको औचित्य सिद्ध गर्ने बताउँदै उहाँले भन्नुभयो, “को चिढिएला वा को खुशी होला भन्ने मोलाहिजाको मानसिकता होइन, धरातलीय यथार्थमा टेकेर गरिएका सही समीक्षाले मात्र हामी सबैलाई अगाडिको सार्थक बाटो देखाउनेछ ।” 
 अर्का केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले पार्टीभित्र मूल्यांकन तथा पुरस्कार र दण्डको पटक्कै व्यवस्था नहँुदा निर्वाचनमा पराजय भोग्नु परेको धारणा राख्नुभएको थियो । उनले भने, “अन्तरघात गर्नेलाई कारबाही हुनुप¥यो, चुनावमा टिकट भाग बण्डाका आधारमा गर्ने दोष सभापतिलाई मात्र थोपर्ने कार्य ठीक भएन, स्थानीय तहमा उम्मेदवार हुन नपाएकाले प्रदेश र संघको निर्वाचनमा आवश्यक सहयोग पु¥याएनन् ।” 
 केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनमा हारजीतको साझा जिम्मेवारी लिनुपर्ने धारणा राखे । पार्टीभित्र अनुशासनको अनुभव हुन सकेन, आचारसंहिता बनाएर कडाइका साथ कार्यान्वयनमा लैजानु प¥यो, महासमिति र महाधिवेशन बोलाएर विधान संशोधन गरी पार्टीलाई संघीयताअनुरुप पुनःसंरचना गरेर अघि बढ्नुप¥यो, साउदले बैठकमा भने । पार्टीलाई नयाँ शिराबाट प्रतिस्पर्धी बनाउँदै जनतासँग जोड्ने कार्यक्रम बनाएर अघि बढ्न पनि उहाँले सुझाव दिए। 
 अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्र देखिएको छाडा तन्त्रलाई आचारसंहिता लागू गरेर अनुशासनको दायरामा ल्याउन सुझाव दिए । सार्वजनिक समारोहमा पार्टीलाई गाली गर्दै आफूलाई लोकप्रिय बनाउने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताउँदै उहाँले निर्वाचनमा भएको कमीकमजोरीप्रति सबैले आत्मआलोचना गर्न सुझाव दिनुभएको थियो । बैठकमा राधेचन्द्र यादवले पनि धारणा राखेका थिए ।
        
                    
        
        
        
        


        
        
        
        
        














