हङकङ । भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण प्रभावित बनेका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि हङकङको बेइजिङ समर्थक दल ‘डेमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ’(डिएवि) ले ४० लाख रुपैयाँ (करिब २ लाख ३५ हजार हङकङ डलर) आर्थिक सहयोग प्रदान गरेको छ।
बुधबार हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष कार्यक्रमका बीच डिएबि) पार्टीका अध्यक्ष स्टाररी ली र नेता गेरी चेनले संयुक्त रूपमा कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको थियो ।
विदेशी राजनीतिक दलले आफ्नो पार्टीको आन्तरिक कोषबाट सीधै नेपालका बाढीपिडितका लागि यसरी अलग्गै आर्थिक सहयोग उपलब्ध गराएको सम्भवतः यो पहिलो हो।
चीन सरकारको सहयोग अलग्गै, पार्टीको कोषबाट पिडितलाई प्राथमिकता
नेपाली समुदायका स्थानीय अगुवा कुलप्रसाद गुरुङले बाढीपिडितका लागि प्राप्त यो सहयोग ऐतिहासिक र ठूलो राहतको विषय भएको बताउनु भएको छ । उहाँँले भन्नु भयो–‘चीन सरकारले नेपाल सरकारलाई कूटनीतिक तवरबाट सीधै सहयोग उपलब्ध गराउँदै आएकै छ, तर हङकङको डिएवि पार्टीले भने विशेष चासो देखाउँदै आफ्नो पार्टी फण्डबाटै बाढीपिडितका लागि अलग्गै आर्थिक सहयोग गरेको हो। यो सहयोगले दुई देशका जनताबीचको सम्बन्ध र मानवीय भावनालाई अझ प्रगाढ बनाएको छ।’
कार्यक्रममा उपस्थिति रहेकी हङकङ सरकारकी प्रतिनीधि डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले विपद्को यस कठिन घडीमा डिएविले देखाएको सद्भाव प्रशंसनीय रहेको बताउनु भयो । उहाँले भन्नु भयो–‘नेपालमा परेको प्राकृतिक विपद्को खबर पाउनासाथ हामीले डिएवि नेतृत्वसँग सहयोगका लागि पहल गरेका थियौँ। पार्टीले नेपाली समुदायको मर्मलाई बुझेर तुरुन्तै यो रकम संकलन गरी हस्तान्तरण गरेको छ। यसले हङकङमा बसोबास गर्ने नेपाली र स्थानीय पार्टीबीचको आपसी विश्वास र सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ।’
सहयोग रकम ग्रहण गर्दै कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङले कठिन परिस्थितिमा नेपाली जनतालाई सहयोग गरेकोमा डिएवि पार्टीका सम्पूर्ण नेतृत्व र सहजीकरण गर्ने नेपाली प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले प्राप्त रकम नेपाल सरकारको बाढी–पहिरो राहतसम्बन्धी ‘एकद्वार नीति’ अनुसार तोकिएको आधिकारिक सरकारी कोषमा तत्काल जम्मा गरिने जानकारी दिनु भएको छ ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा डिएविका पार्टीका अध्यक्ष तथा उपाध्यक्षसहित सांसद होल्डेन चो, सांसद भिन्सेन्ट चेन, डिस्ट्रिक्ट काउन्सिलरद्वय अरुणा गुरुङ र बेनी यङका साथै स्थानीय नेपाली अगुवा कुलप्रसाद गुरुङ, प्रदिप थापालगायतको उपस्थिति रहेको थियो।
यसअघि पनि पार्टीले २०७२ सालको विनाशकारी भूकम्पका बेला नेपालका भूकम्पपिडितहरूका लागि पनि ठूलो रकम आर्थिक सहयोग उपलब्ध गराएको थियो।



















