हङकङ । हङकङ कम्युनिटी इमरजेन्सी एड टिम फाउन्डेसनको आयोजना, कम्युनिटी इमरजेन्सी एड टिमको सह-आयोजना तथा नागरिक शिक्षा प्रवर्द्धन समितिको प्रायोजनमा सञ्चालित तेस्रो ‘ब्लु ड्र्यागन लिडर्स’ तालिमको दीक्षान्त शाम शुई पोस्थित म्यापल स्ट्रिटको प्लेग्राउण्डमा भव्य रूपमा सम्पन्न भएको छ। हङकङ सरकारको गृह तथा युवा मामिला ब्युरोका उपसचिव क्लरेन्स लेउङको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा चीनको राष्ट्रिय झण्डोत्तलन गरिनुका साथै क्यामोफ्लाज (सैन्य कमाण्डो)पोसाकमा सजिएका बालबालिका तथा युवाहरूले सैन्य शैलीको ड्रिल, एड्भेन्चर र आपत्कालीन तयारीसम्बन्धी विविध कला प्रदर्शन गरेका थिए। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले समेत सैनिक कमाण्डो पोसाकमा ह्विलचेयरमार्फत सहभागी भई उच्च आत्मबल र समावेशी अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए।

युवाहरूमा अनुशासन, आपत्कालीन पूर्वतयारी र नेतृत्व विकास गराउने उद्देश्यले आयोजित यस समारोहको मुख्य आकर्षण नेपाली समुदायको सशक्त उपस्थिति र ऐतिहासिक नेतृत्व रह्यो। हङकङका १८ प्रशासनिक जिल्लाहरूमध्ये याउ चि मोङ डिस्ट्रिक्टको ‘कम्युनिटी इमरजेन्सी एड टिम’ प्रमुख नेपाली मूलका मनोज गौतमले नेतृत्व गरेका थिए। गौतम हङकङको इतिहासमै यस्तो आधिकारिक निकायको जिल्ला प्रमुख बन्ने पहिलो नेपाली हुन्।
मनोज गौतमको नेतृत्वसँगै नेपाली बालबालिका तथा युवाहरूको उत्कृष्ट प्रतिभा प्रदर्शनले हङकङको स्थानीय सरकार र मूलधारको समाजमा नेपाली समुदाय केवल बसोबासमा मात्र सीमित नरही विपद् व्यवस्थापन र सामाजिक सेवामा कत्तिको सक्रिय छ भन्ने बलियो प्रमाण दिएको छ। यस ऐतिहासिक सहभागितालाई नेपाल चेम्बर अफ कमर्स हङकङले विशेष सहयोग र समर्थन जनाएको थियो। उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शशी मदन राई लगायत कार्यसमितिका पदाधिकारीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
-बज्रकुमार राई
हङकङ



















