काठमाडौं  /  नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्नु भएको  छ । मदन भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा भदन भण्डारी फाण्डेशनले काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले अब आफू एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताउनु भयो।

“अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन,” उहाँले भन्नु भयो।

भण्डारीले यो घोषणा गर्नुहुँदा राष्ट्रिय सभागृह तालिले गुञ्जिएको बताइएको छ। उहाँले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजको सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व अझै बाँकी रहेको स्मरण गराउनु भयो।

तर, कार्यक्रमको एउटा रोचक पक्ष के रह्यो भने, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने विद्या भण्डारीको भाषण नसुनी नै कार्यक्रमबाट बाहिरिनु भयो।

ओलीले आफ्नो भाषण सकेपछि “अब म जान्छु, म पाँच बजे एअरपोर्ट पुग्नुपर्छ,” भन्दै आफ्नाे भाषण सकेर  हिँड्नु भयो। विद्या भण्डारीले “मेरो पनि कुरा सुनिदिनुस्” भनेर आग्रह गर्नुभयो भन्ने सुनियो, तर ओलीले “तपाईं राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ, उहिल्यैदेखि सुन्दै आएको छु” भनेर जवाफ दिनु भयो।

ओलीले यत्तिमा मात्र रोकिनु भएन, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समेत “अनर्थ हुन्छ, म जानैपर्छ” भनेर दोहोर्याउनु भयो।

हालै एमालेभित्र पोखरेल ओलीविरुद्ध स्पष्ट रूपमा देखिन थालेका पात्र हुन् भन्ने चर्चा हुँदै आएको छ।

यसै सन्दर्भमा पोखरेलले शनिबार कार्यक्रममै बोल्दै पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्किनु कुनै अचम्मको कुरा होइन भन्नु भयो ।

“पूर्वराष्ट्रपति पोलिटिकल मान्छे हो, त्यसमा रूचि राख्नु उहाँको धर्म हो,” भन्नु भयो। “के जिम्मेवारी लिने भन्ने कुरा सल्लाहमा हुन्छ,” भन्दै उनले अध्यक्ष ओलीसहित सबैसँग छलफल हुने पनि बताउनु भयो।


यस्तो छ भण्डारीको भाषणको पूर्णपाठ

विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री, मदन भण्डारी फाउन्डेसनका संरक्षक तथा नेकपा (एमाले) का अध्यक्ष श्री केपी शर्मा ओलीज्यू, पूर्व उप–प्रधानमन्त्री तथा नेकपा(एमाले) का वरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेलज्यू, नेकपा (एमाले) का उपाध्यक्षहरूसहित सम्पूर्ण पदाधिकारीज्यू, नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यकर्ताहरू,सञ्चारकर्मीहरू, यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू।

आज २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्ती, यदि उहाँ अहिलेसम्म जीवित हुनुभएको भए आज उहाँको उमेर ७४ वर्षको हुने थियो।

उहाँका युगान्तकारी विचार र ऐतिहासिक योगदानप्रति गहिरो सम्मान प्रकट गर्दै सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्ने उहाँको दूरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नै पर्दछ।

अन्यथा, जननेताद्वारा प्रतिपादित नवीन सिद्धान्त अनुरूपको सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया सफल पार्ने उद्देश्यले बाटो बिराउनेछ र उहाँको सपना अधुरै रहनेछ।

आजको यस कार्यक्रमका सन्दर्भमा म जननेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईहरूको साथमा म आफू पनि सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु।

जननेताको जन्मजयन्तीको सन्दर्भ पारेर आजका दिन मदन भण्डारी फाउन्डेसनले ‘जबजका तीन दशक’ शीर्षकमा विचार गोष्ठीसहित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह आयोजना गरेकोमा सराहना गर्दै यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। मदन जयन्तीका सन्दर्भमा मुलुकभर भइरहेका विविध कार्यक्रमहरूको भव्य सफलताको लागि समेत शुभेच्छा दिन चाहन्छु।

म आफैँ संस्थापक रहेको मदन भण्डारी फाउन्डेसनले आफ्‌नो स्थापनाका २६ वर्ष पूरा गरेको छ। कुनैपनि व्यक्तिको युवावयमै निधन हुनु र उसको नाममा संस्था स्थापना गरेर सञ्चालन गर्नुपर्ने परिस्थिति आउनु असाध्यै दुःखको विषय हो।

विडम्बना, नेपालका एक विचारक जसले मुलुकका निम्ति नयाँ विचार जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्नु भयो, त्यसलाई आफ्‌नो पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित गराउनु भयो, त्यसमाथि छिमेकी मुलुक भारत तथा चीनको भ्रमण गरेर अन्तर्राष्ट्रिय जगतमा विमर्श चलाउँदै हुनु हुनुहुन्थ्यो र मुलुकमा कम्युनिष्ट आन्दोलनको विकास तथा विस्तारका निम्ति सघन रूपमा कार्यक्रममा सहभागि हुँदै जनता एवम् पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तीब्र पार्दै हुनुहुन्थ्यो, यस्तै राजनीतिक व्यस्तताका बीच उहाँ सवार जीप २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्‍यो र उहाँले आफ्‌नो जीवन गुमाउनु पर्‍यो।

मदन भण्डारी फाउन्डेसनको यात्रा यस्तै दुःख र पीडाका बीचबाट सुरु गर्नुपरेको थियो।

मदन भण्डारी फाउन्डेसनलाई एउटा संस्थाका रूपमा भन्दा पनि जननेताका विचारलाई देशभर फैलाएर त्यसलाई स्थापित गराउने र देशमा सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने एउटा अभियानको रूपमा म परिभाषित गर्न चाहन्छु।

यो फाउन्डेसनको यस्तो अभियान जारी राखिरहनु पर्दछ भन्ने मेरो गहीरो विश्वास समेत रहेको छ। यो अभियानका साक्षी र पहलकर्ता यहाँ उपस्थित धेरै हुनुहुन्छ भने नवपुस्ताले समेत सञ्चार माध्यमबाट जानकारी लिएकै होला भन्ने मैले अपेक्षा लिएको छु।

यस संस्थालाई आज एउटा प्रतिष्ठित सामाजिक संस्थाको रूपमा र पवित्र उद्देश्य लिएको अविचलित अभियानकर्ताका रूपमा विकास गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा श्री केपी शर्मा ओलीसहित नेकपा एमाले का नेता तथा कार्यकर्ताको योगदानको म सराहना गर्दछु।

साथै, यस अभियानमा साथ दिने आम जनता, लब्ध प्रतिष्ठित व्यक्ति, सञ्चारजगत लगायत सबैको प्रशंसा गर्दै भविष्यमा पनि विगतमा झैँ सहयोग प्राप्त भइरहने विश्वास लिएको छु।

जननेताको निधनले पार्टीको वैचारिक निरन्तरता र नेतृत्व विकासमा अस्थायी झट्का पुर्‍याए पनि शोकलाई शक्तिमा बदलेर एमालेले जबजलाई क्रान्तिको कार्यक्रम तथा मार्गदर्शक सिद्धान्तको रूपमा थप समृद्ध पार्दै यसकै आलोकमा आज आफूलाई मुलुकको राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सक्षम भएको छ।

जबजले अवलम्बन गरेका राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक नीति, दृष्टिकोण र सोच अन्तरगत नै बितेका तीन दशकमा नेपालको राजनीति, अर्थतन्त्र र समाज लाभान्वित बनेर सकारात्मक परिणामहरू देखा परेका हुन्।

यस बीचमा मुलुकमा निरङ्कुशता लाद्ने दुष्प्रयासलाई निस्तेज पार्न, उग्रवामपन्थी जडसूत्रवादी चिन्तनद्वारा पोषित सशस्त्र द्वन्द्वलाई समाप्त पारेर त्यसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वाचनका माध्यमबाट संस्थागत गरिकन यसलाई सुदृढ तुल्याउन नेकपा एमाले ले आत्मसात गरेको सिद्धान्तबाट नै सफलता मिलेको हो।

नेपालको लामो राजनीतिक संक्रमणकाललाई समाप्त पारेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त भएको यो सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै हो।

अहिले नेकपा एमाले का अध्यक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रूपमा रहको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लागिरहनु भएको छ। म यसमा खुसी व्यक्त गर्दै यस अभियानको सफलताको निम्ति शुभकामना दिन चाहन्छु।

जबज कुनै विदेशी सिद्धान्तको नक्कल होइन, बरु नेपाली जनताको जीवन, सामाजिक संघर्ष, ऐतिहासिक सन्दर्भ र भविष्यप्रतिको सामूहिक आकांक्षाबाट उत्पन्न एक नवीन र सृजनात्मक राजनीतिक विचार हो।

त्यसैले, हामी यसलाई नेपाली माटोमा उत्पत्ति र विकास भएको एक मौलिक राजनीतिक–वैचारिक सिद्धान्तका रूपमा स्वीकार गर्दछौँ। नेपालको माटोमा जन्मेको मौलिक सिद्धान्त जबजको प्रकाशमा मुलुकमा सामाजिक–आर्थिक विकासका क्षेत्रमा अहिलेसम्म प्राप्त भएको सफलता महत्वपूर्ण भएपनि हाम्रो लक्ष्यको सापेक्षतामा यो आंशिक उपलब्धी हो।

अझै पनि मुलुकमा वर्गीय असमानता, क्षेत्रीय विषमता, भ्रष्टाचार, जातिय विभेद, लैङ्गिक असमानता, अवसरवाद र अराजकतावादजस्ता सामाजिक, आर्थिक एवं राजनीतिक विकृति र विसंगतिहरू यथावत छन्। समाजको रूपान्तरणका बाधक यस्ता समस्याहरू अन्त नगरी नेपाल समुन्नत बन्न सक्दैन।

जबजले समाजवादमा पुग्ने मार्गका रूपमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गर्दै विशिष्ट बाटो निर्माण गरेको छ। यो मार्क्सवाद आधारित गतिशील विचार हो, जसलाई समय, समाज र चेतना सँगसँगै समृद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता छ। व्यावहारिक प्रयोगको कसीमा खारिँदै यो सिद्धान्त झनझन् सुदृढ हुँदै जानेछ।

यसर्थ जबज आज पनि मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि उत्तिकै सान्दर्भिक र दिशानिर्देशक रहेको छ। यसका लागि जबजको थप प्रभावकारी कार्यान्वयन र जननेताले देखाउनु भएको राजनीतिक निष्ठा, समर्पण, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहारजस्ता गुणहरूको अनुशरण गरिनु अपरिहार्य छ।

नेपाललाई एक स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र भएको विकसित राष्ट्र बनाउने सपना साकार पार्न सुशासनप्रति अडिग आस्था, नतिजामूलक कार्यक्रमहरू र जनमुखी व्यवहार जबजको आगामी यात्राका मुख्य आधार बन्नुपर्ने आवश्यकता छ।

मुलुकको भविष्यको महत्वपूर्ण आधार आजका बालबालिका, नव–पुस्ता र युवाहरु नै भएकाले उनीहरूलाई आवश्यकता अनुसार गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशिलता प्रदान गर्नुपर्ने खाँचो छ।

साथै, विज्ञान र प्रविधिको विकासमा शैक्षिक संस्था र प्राज्ञिक निकायले विशेष ध्यान दिनु पर्दछ। विचार र व्यवहारको दूरी कम गर्ने, नारा र नतिजा बीचको अन्तर घटाउने अनि भविष्यप्रतिको जनताको विश्वास सुदृढ गर्ने अभियान कुनै सामान्य सुधार होइन, बरु यो त जबजलाई युगानुकूल कार्यान्वयन गर्ने गहन र ऐतिहासिक जिम्मेवारी हो। हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन्।

यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो। यी दुई मुलुकसँगको हाम्रो सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नु पर्दछ।

अब, आजको यस अवसरमा राजनीतिक संघर्ष र अभियान सम्बन्धी मेरा केही व्यक्तिगत अनुभव, अनुभूति र प्रसङ्ग उल्लेख गर्न चाहन्छु। म विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियूको सम्पर्कमा रहेँ, त्यसमा संगठित भएँ र २०३५/०३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनदेखि त विद्यार्थी राजनीतिमा मेरो सक्रियता झनै सघन हुँदै गयो।

अनेरास्ववियुका विभिन्न कमिटीमा आबद्ध भएँ र क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएर विद्यार्थी हक, हित र अधिकार प्राप्तिको अभियानमा केन्द्रित भएँ।

त्यसो त तत्कालीन नेकपा मालेको त्यसबेलाको नीतिअन्तर्गत अगुवा विद्यार्थी नेता कार्यकर्तालाई पार्टीमा जोडेर लैजाने परिपाटीले मलाई पार्टी राजनीतिमा समेत जोडिसकेको थियो।

अर्थात्, मुलुकमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लादिएको बेलादेखि नै म सँगसँगै नै अनेरास्ववियु र पार्टीको समेत कार्यकर्ताको रूपमा भूमिका निर्वाह गर्नुपर्ने परिवेशबाट अगाडि बढेको थिएँ।

नेपाली जनताको अथक संघर्षको बलमा २०४६ सालमा प्राप्त भएको बहुदलीय राजनीतिक प्रणाली पछिको खुल्ला राजनीतिक वातावरणले व्यक्तिका जिम्मेवारी र भूमिका बहनका सन्दर्भमा बेग्लै परिस्थिति निर्माण भयो। मदनसँगको वैवाहिक जीवन, त्यस पछि उहाँसँगको सहयात्रा र नयाँ राजनीतिक परिवेशले मेरो दायित्व बेग्लै ढङ्गले अगाडि बढ्न खोजिरहेको थियो।

उहाँको व्यस्त राजनीतिक जीवनलाई सहज बनाएर आफू पारिवारिक दायित्व अलि बढि लिने कुरा परिस्थितिले माग गरेको थियो। तर नेकपा (एमाले) का तत्कालीन महासचिव समेत रहनुभएका जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले अर्कै मोड लिन पुग्यो।

पार्टीले मलाई विभिन्न जिम्मेवारी दिने, संसदीय निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेपछि राजनीतिक क्षेत्रमा मेरो सक्रियता बढ्दै गयो। संसदीय मोर्चा र पार्टीको जिम्मेवारी सँगै बहन गर्नुपर्ने अवस्था सिर्जना भयो।

नेकपा एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकै परिवेशमा २०७२ सालमा राष्ट्रपतिको लागि हुने निर्वाचनमा पार्टीले मलाई उम्मेद्वारको रूपमा प्रस्तुत गर्‍यो र म राष्ट्रपतिमा निर्वाचित भएँ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष मैले देश र जनताको सेवामा फरक ढङ्गले क्रियाशील हुनुपर्ने अवस्था बन्यो। त्यस जिम्मेवारीमा रहँदा मैले देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेँ र मेरो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम गरिँन।

यो किताबको खुल्ला पाना जस्तै छर्लङ्ग छ। पार्टीको विश्वासका कारणले नै म त्यो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएको हुँ। यसका निम्ति म पार्टी नेतृत्व र सिङ्गो पार्टी परिवारलाई पुनः धन्यवाद समेत दिन चाहन्छु।

आफ्‌नो मातृभूमि र जनताको फरक ढङ्गले सेवा गर्नुपर्ने दायित्वबाट म बाहिर आएको दुई वर्ष बढि भएको छ। यसबीचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया गरेको छु र आफ्‌नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु।

मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो। त्यसैले, यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ।

म राष्ट्रपतिको भूमिकाबाट बाहिर आएदेखि र अलि पछि त सघन रूपमा नै भविष्यमा मेरो सामाजिक तथा राजनीतिक जीवनको बारेमा सञ्चारजगत र पार्टीको कार्यकर्ता पंक्तिबाट समेत चासो राखेको पाएको छु।

सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा मेरा बारेमा चर्चा परिचर्चा भइरहेको देखेको छु र पढेको छु। सार्वजनिक सरोकारका यी विषयहरूलाई मैले गहन रूपमा चिन्तन–मनन गरेको छु। अनि एउटा निष्कर्षमा समेत पुगेको छु। त्यस विषयलाई आज मैले यहाँ स्पष्ट पार्नुपर्दछ भन्ने मलाई लागेको छ।

जननेता मदन भण्डारीको अवसानबाट पार्टी र म समेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौँको संसदीय उप–निर्वाचनमा प्रतिपस्पर्धी बनायो।

यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा–बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ।

जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ। जनताको छोरीको रूपमा मैले सोहि बेलादेखि नै आफ्‌नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ।

देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालयतहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा एमाले मा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ।

वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ।

फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु।

अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन। 

देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन्। साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन।

आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु। व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु। राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्।

मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ।

समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ। सदा झैं सबैको सधैँभरि  माया र विश्वास पाइरहुँ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ।

यस्तो महत्वपूर्ण दायित्व पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा (एमाले) सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुग्ण राख्दै नेपाललाई विश्वसामू एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास समेत लिएको छु।


धन्यवाद।

२०८२ साल असार १४ गते शनिबार।