मोरङ /  विराटनगर महानगरपालिका लगायत सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ‘अस्वस्थकर हावा’ रहेको एक अध्ययनले जनाएको छ ।  विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शुक्रबार गरेको नेपालमा हावामा प्रदूषणको अवस्थाबारे छलफलमा प्रविधि क्याम्पसका प्राध्यापक अलंकार काफ्लेले औद्योगिक कोरिडोरको हावा प्रदूषितरहेको बताए । हावामा बालुवाको सानो कणका साथै सल्फर अक्साइडसमेतरहेकाले यसले मानव स्वास्थ्यलाई असरगर्ने बताए ।

 
कार्यक्रममा नास्टका प्राज्ञ प्रा.डा. प्रमोदकुमार झाले नेपालको पहाडी क्षेत्रभन्दा तराई मधेसको वायु बढी प्रदूषित रहेको बताए । ‘छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तानमा भइरहेको वायु प्रदूषण तराई क्षेत्रको वायुमण्डलमा आउने गरेको छ,’ उनले भने, ‘उक्त प्रदूषित वायु चुरे र महाभात पर्वत शृंखलासम्म मात्रै आउने गरेको छ ।’ उनले तराई मधेसमा हावाहुरीले उडाउने धूलो, धूवाँ, इँटा भट्टाको धुवाँ, सवारी र उद्योग कलकारखानको प्रदूषणसँगै महिलाहरूले खाना पकाउँदा बाल्ने दाउराले अत्यधिक वायु प्रदूषण रहेको बताए ।
 
‘वायुमा भएको १० माइक्रोनदेखि २ दशमलव ५ माइक्रोनसम्मको साना बालुवालगायतका कणहरू श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा जाने गरेको र फोक्सोबाट शरीरको विभिन्न भागमा समेत जानसक्ने हुन्छ,’ उनले भने, ‘त्यसले फोक्सो क्यान्सर, दमलगायतको रोग लागेर नेपालमा वर्षेनी ३५ हजार व्यक्तिको मृत्यु भइरहेको छ ।’ उनले काठमाडौं र लुम्बिनीमा मात्रै वायु प्रदूषण मापन केन्द्र रहेकाले मुलुकको अन्य भागको वायुको अवस्था यकिन गर्नसमेत कठिन रहेको बताए ।
 
‘वायु प्रदूषणको विषयमा हालै सार्वजनिक एक प्रतिवेदनले संसारको १ सय ८० मुलुकमध्ये हाम्रो मुलुक अन्तिम स्थानमा परेको छ,’ उनले भने, ‘छिमेकी मुलुकहरू बंगलादेश १ सय ७९, भारत १ सय ७८, चीन १ सय ७७ र पाकिस्तान १ सय ७६ स्थानमा रहेकाले हामीलाई अझै सन् २०४० सम्म वायु प्रदूषणलाई रोक्न नसक्ने अवस्था छ ।’ संसारभरिको सहरमध्ये वायु प्रदूषणको दृष्टिकोणले काठमाडौं तेस्रो स्थानमा रहेको उनले सुनाए ।
 
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ डा. मदनलाल श्रेष्ठले १० वर्ष अघिसम्म तराई मधेसमा हुस्सु कुनैकुनै वर्ष मात्रै लाग्ने गरेको तर पछिल्लो समय वर्षेनी हुस्सु लागेर हप्ता दिनसम्म सूर्य देख्न नपाउने अवस्था सृजना भएको बताए ।
 
उनले यसको वास्तविक कारणको खोजी हुन सकिरहेको छैन र यो सबै वातावरणीय परिवर्तनले भइरहेको बताए । विराटनगर महानगरका वातावरण शाखा प्रमुख घनश्याम काफ्लेले वातावरण संरक्षणको क्षेत्रमा महानगरले कामको सुरुवात गरिसकेको बताए । ‘महानगरमा चौतर्फी विकास निर्माणको काम भइरहेकाले धुलामे बनेको छ र यसअघिको परियोजनाहरूमा धूलो नियन्त्रणको उपायबारे केही उल्लेख नभएकाले समस्या भएको हो,’ उनले भने, ‘अहिलेको परियोजनाहरूमा निर्माण काम गर्दा वातावरण प्रदूषण हुन नदिन धूलो नियन्त्रण गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
 
उनले सडकमा जम्मा हुने धूलो उठाउनका लागि सक्सन मेसिन खरिदको प्रक्रियामा रहेको बताए । ‘महानगरमा २ सय मेट्रिक टन फोहोर उत्सर्जित भइरहे पनि सबै संकलन गर्न नसकिएको अवस्था छ,’ उनले भने, ‘महानगरमा वातावरण प्रदूषणको कारक तत्त्वमा धूलो, धुँवा, उद्योग, अस्पताल र पुराना सवारी साधन नै प्रमुख हो ।’
 
उनले फोहोर व्यवस्थापन, वृक्षरोपण र पुराना प्रविधिमा भएका उद्योगहरूलाई नयाँ प्रविधिमा लग्ने महानगरको योजना रहेको सुनाए । कार्यक्रममा मिडियामा वातावरण र जलवायु परिवर्तनको मुद्दा विषयमापत्रकार तथा स्नातकोत्तर क्याम्पसका प्राध्यापक रामचन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
उनले अधिकांश पत्रकारमा वातावरण र जलवायु प्रदूषणसम्बन्धी ज्ञानको कमी रत्यसलाई समाचार बनाउने विषयमा जानकारीको अभाव रहेको बताए । पत्रकारहरूलाई वातावरण र जलवायु परिवर्तनसम्बन्धी पत्रकारिता तालिमको आवश्यकता रहेको बताए ।
 
कार्यक्रममा नास्टका उपकुलपति जिवराज पोखरेलले ७ नम्बर प्रदेशबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ल्याबसहितको शाखा स्थापना गर्न सुरु गरेको र चाँडै सातै प्रदेशमा स्थापना गर्ने बताए । प्रदेश १ मा चिया, कफीलगायतको सम्भावना रहेकाले पेय पदार्थसम्बन्धी ल्याबसहितको शाखा स्थापना गर्ने योजना रहेको उनले बताए । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङले गमलाको फूलमा पानी हालेर कार्यक्रम उद्घाटन गरेकाे खवर कान्तिपुर दैनिकले छापेकाे छ ।