धरान / 'स्कुल त सुधार्नुपर्छ, तर सुधार गर्ने भनेपछि पहिले आफ्नै घरबाट सुरु गर्नुपर्छ भन्ने लाग्यो ।'-अध्यक्ष काशीनाथ दङगालले मुस्कुराउँदै बताउनुभयो।

विस २०१३ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालय, इटहरी–९, सुनसरीको यो यात्रामा उनले नेतृत्व सम्हालेको भने खास समय धेरै भएको छैन। तर, विद्यालयको अनुहार फेरिएको छ—अझ भन्नुपर्दा, फेरिदिनुभएको छ।

२०७५ असार ५ गते, अभिभावकहरुको आम भेलाले शिक्षाप्रेमीका रूपमा काशीनाथ दङगाललाई सर्वसम्मत अध्यक्ष बनायो। त्यतिबेला उहाँका आफ्नै छोराछोरी निजी विद्यालयमा पढ्थे। 'विद्यालयको नेतृत्व गर्दा आफ्ना बच्चा निजी स्कुलमा भन्ने कुरा नैतिक रूपमा मलाई चित्त बुझ्दैनथ्यो ।'-उहाँले भन्नुभयो। त्यसपछि निर्णय भयो—आफ्नो बच्चालाई सामुदायिक विद्यालयमै भर्ना गर्ने।

त्यहीबेला एउटा संकल्प जन्मियो—विद्यालय सुधारको। संकल्प मात्रै होइन, कार्यान्वयन पनि भयो। दङगालले पहल गरे, शिक्षक–शिक्षिकाको छोराछोरी पनि विद्यालयमै भर्ना गरिए।'शिक्षकले पढाउने विद्यालयमै आफ्नो बच्चा नपढाउनु भनेको कहीँ न कहीँ त्यो विद्यालयप्रति अविश्वास हो भन्ने महसुस गर्‍यौं हामीले ।' उहाँ सम्झनुहुन्छ।

बदलियो विद्यालयको अनुहार

ती संकल्प र सहकार्यका परिणामस्वरूप विद्यालयले एकदमै फरक मोड लिन थाल्यो। जब दङगाल अध्यक्ष बने, त्यतिबेला विद्यालयमा जम्मा १२८४ जना विद्यार्थी थिए। अहिले ३२०२ जना विद्यार्थी अध्ययनरत छन्।

कक्षा ११ र १२ मा व्यवस्थापन र मानविकीसहित विज्ञान र कानुन विषयसमेत पढाइ सुरु भयो। प्रविधिसँग सुसज्जित कक्षा कोठा निर्माण भए। स्कुल बस थिएन, अहिले तीन वटा स्कुल बस संचालनमा छन्।

सधैं राज्यको भर पर्नुहुँदैन, आफैंले केही गर्नुपर्छ भन्ने सोचले हामी अगाडि बढ्यौं ।'- दङगाल बताउनुहुन्छ। सुरुवाती अवस्थामा यातायातकै सुविधा नभएको यस विद्यालयले तीन वटा स्कुल बस जोड्न सफल भएको छ । अधिकांश कक्षाकोठा प्रविधिमैत्री बनेका छन् ।  विद्यालयमा अहिले राज्य कोषबाट ३२ जना शिक्षक कर्मचारी छन् भने अभिभावकको सहयोगबाट १४८ जना शिक्षक कर्मचारी कार्यरत छन्। 'शिक्षा भनेकै साझा सपना हो, त्यो साकार पार्न समुदायको साथ आवश्यक छ ।' औउहाँले भन्नुभयो।

एक समयमा विद्यालयमा १८ लाख घाटा थियो। अहिले विद्यालयको अक्षयकोषमा ४७ लाख २५ हजार रूपैयाँ छ भने बैंक मौज्दात ५५ लाख ७१ हजार रूपैयाँभन्दा बढी छ।  'हामीले लेखापरिक्षणको नियमितता, पारदर्शिता र आर्थिक अनुशासनलाई प्राथमिकता दियौं ।'-उहाँले प्रस्ट पार्नुभयो।

विद्यार्थीको सङ्ख्या बढेसँगै कक्षा कोठा अपर्याप्त छन्। दरबन्दीको अभाव अझै खट्किएको विषय हो। प्रत्येक वर्ष हजारौं विद्यार्थी भर्ना हुन चाहन्छन् तर विद्यालयले सबैलाई भर्ना गर्न सक्दैन। हामी चाहन्छौं, कसैले शिक्षा नपाएर फर्किन नपरोस् ।'- उहाँले भावुक हुँदै भन्नुभयो।

दुई कार्यकाल नेतृत्व गरें, जहाँसम्म सकिन्छ इमानदारीपूर्वक काम गरें। अझै धेरै गर्न बाँकी छ। अबको नेतृत्वले अझ नयाँ आयाम थप्नेछ भन्ने विश्वास छ ।'- अध्यक्ष दङगाल बताउनुहुन्छ।

विद्यालय व्यवस्थापन समितिको नयाँ व्यवस्थापन समिति आउने दिन नजिकिँदै गर्दा उहाँ सबै अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीहरूप्रति आभार प्रकट गर्दै, विद्यालयको उज्यालो भविष्यका लागि निरन्तर सहयोगको अपिल गर्नुभएकाे छ ।

जनताको विद्यालय साँच्चै जनताकै हातमा हुँदा के–के सम्भव हुँदोरहेछ भन्ने सन्देश दिने उदाहरण बनेको छ—जनता माध्यमिक विद्यालय पूर्वमा एउटा उदाहरण बनेकाे छ । 

जनताको विद्यालय साँच्चै जनताकै हातमा हुँदा के–के सम्भव हुँदोरहेछ भन्ने सन्देश दिने उदाहरण बनेको छ—जनता माध्यमिक विद्यालय, इटहरी।

विद्यालय सुधारको अभियान दुई कार्यकालसम्म चलाएर दङगाल बिदा हुँदै छन्।  'मैले सक्दो गरें, केही छुट्यो भने क्षमा चाहन्छु ।'- भावुक हुदै‌ मङगलबार भएकाे पत्रकार सम्मेलमा भन्नु भयाे- 'अब नयाँ टिम आएर अझ सशक्त रूपमा अघि बढाओस्।'