•  मञ्जुला तामङ सुब्बा

नेपाली साहित्य जगतमा दुलीचन्द सधैँ बाँचेका छन्

उनको योगदानमले साहित्यकारहरू खुलेर हाँसेका छन्

महाकाल बाबाले रोजेर यी परिवार रैथाने बनिएपछि

श्याम ब्रदर्श प्रकाशन’-ले साहित्यको अपार ढुकुटी साँचेका छन्।

 

‘हाम्रो पहाड़ बहुत लद्दु छ हाै भाइ, किताबै बिक्दैन। त्यसमा पनि साहित्यको किताब भन्यो भने त मरिजानु जस्तो हुन्छ ।’ २०/२१ सेप्टेम्बर २०१४ को दिन वाराणसीमा साँवर अग्रवाल आफ्नो मन्तव्य यसरी पोखिरहेका थिए बी.पी. कोइराला नेपाल-भारत फाउन्डेशनको संयोजनमा बनारसमा सम्पन्न लेखन, प्रकाशन र वितरणको समस्या गोष्ठीमा । उनी चिन्ता व्यक्त गरिरहेका थिए ।

आजभन्दा ४७ वर्षअघि प्रकाशित गुमानसिंह चामलिङको बहुमूल्य कृति ‘मौलो’-लाई श्याम ब्रदर्श प्रकाशनले पाठक साथै विद्यार्थीवर्गका निम्ति फेरि पनि दोस्रो संस्करणको रूपमा जुलाई २०२४ मा प्रकाशित गरेको छ।

नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धनमा सदैव लागिपरेका श्याम ब्रदर्श प्रकाशनका प्रमुख साँवर अग्रवालले धेरै भावुक बनेर आफ्ना पुज्य पिताजी स्व. दुलीचन्द अग्रवाललाई सम्झना गर्दै भन्छन् – ‘श्याम ब्रदर्श प्रकाशनको घड़ेरी बुबाले बसाउनुभएको हो जसलाई मैले स्याहार मात्र पुऱ्याउन सकें ।’

शरीरमा मारवाड़ी रगत सञ्चार भएता पनि जन्म अनि कर्मले गोर्खा/नेपाली भूमि रोजेपछि पाँच-छः पुस्ताले दार्जीलिङको हावापानी र माटोमा मालीराम रामेश्वर दास (पुरानो परिचय) अथवा श्याम ब्रदर्श प्रकाशन परिवार यहाँका रैथाने बनिसकेका छन्। पुर्खाहरू सन् १८७० तिर व्यापार गर्न राजस्थानदेखि दार्जीलिङ भित्रिएर पातलेबाँसमा बसोवास गरेका थिए। त्यहीं सन् १९१७ तिर दुलीचन्द अग्रवालको जन्म भयो। उनको शिक्षा दार्जीलिङ गभर्मेन्ट हाई स्कूलमा भएको थियो। खेलकुदको क्षेत्रमा उनको रुचिअनुसार ‘हकी’ खेलका अब्बल खेलाड़ी थिए दुलीचन्द अग्रवाल। दार्जीलिङ बजारमा मूल व्यवसाय (दोकान) रहेको हुँदा अग्रवाल परिवार हरिदास हट्टामा बसोवास गर्न थाले। पछिबाट चाँदमारीस्थित वि. कं. च्याटर्जीको बिल्डिङमा किरायामा बस्न थाले। अग्रवाल परिवार लुगाका व्यापारी थिए, दोरङ्गा बजारमा उनीहरूको लुगा दोकान थियो। दिनभरि गद्दीमा बसेर दोकान चलाउनु पर्दा उनको स्वास्थ्यमा असर हुन थालेको बताउँछन्।

दुलीचन्द अग्रवालका चार छोरा अनि तीन छोरी थिए जसमध्ये साँवर अग्रवाल माइला छोरा हुन्। बाबा दुलीचन्द, आमा स्व. चम्पादेवीको कोखबाट २५ मई १९४४/४५ मा जन्माष्टमीको पावन दिनमा जन्म ग्रहण गरेको हुँदा साँवरिया नामकरण गरियो अनि वर्तमान उनी साँवर नामले परिचित छन्। चार जना छोरामध्ये एक भाइ अरुण अग्रवालको मृत्यु भइसकेको छ।

चाँदमारीमा जन्मेर हिन्दी हाई स्कूल दार्जीलिङबाट प्राथमिक शिक्षा आर्जन गरी उच्च शिक्षाको निम्ति कोलकाताको सेन्ट जेभियर्स कलेजमा भर्ना भएका थिए। उच्च आकाङ्क्षा र लगनशीलताको साथ उनी कोलकाता कलेजबाट वकालत विषयमा अध्ययनशील थिए जो पूर्ण हुन सकेन।

मानिसलाई भाग्य र परिश्रमले जहाँसम्म डोऱ्याउँछ त्यहाँसम्म पुग्नै पर्छ। ईश्वरको चाहना, समयको परिबन्द, नेपाली साहित्यको संवर्द्धन अनि दुलीचन्द अग्रवाल- यी चार रेखाहरू योगद्वारा बनेको चतुर्भुज हो श्याम ब्रदर्श प्रकाशन  जसका संस्थापक हुन् दुलीचन्द अग्रवाल। यसको घड़ेरी बसाल्नुको एउटा मुख्य कारण दुलीचन्दको अस्वस्थता थियो। डाक्टरहरूले उनी एकै ठाउँमा (गद्दीमा) बस्न नहुने तर उठेर मात्र आफ्नो कामकुरा गर्ने सुझाउ दिएपछि उनको श्याम ब्रदर्श पुस्तक पसलको घड़ेरी बसाले। मारवाड़ी जाति व्यापार व्यवसायमा आँटी र खाँटी जाति हुन्, पुस्ता पुस्तादेखि हस्तान्तरण हुँदै आउँछ व्यापारको सिलसिला, व्यापारकै निम्ति बनेका हुन्छन् यी जाति, नत्र लुगाको दोकानदेखि परिवर्तन भएर कुनै सरकारी/गैरसरकारी नोकरी पनि गर्न सकिने थियो होला तर त्यसो नगरेर पुस्तक पसल नै खोलेर आफ्नो व्यवसाय यथावत् राखे जबकि त्यो दोस्रो विश्व युद्ध चलिरहेको समय थियो।

पुस्तक पसलको व्यवसायको यात्रामा नेपाली साहित्यका ज्ञाता सूर्य विक्रम ज्ञवालीको संसर्गमा आउन थाले, मित्रता प्रगाढ़ बन्न थाल्यो। दोरंगा बजारमा पुस्तक पसल अवस्थित छ, त्यसैको नजिक सूर्य विक्रम ज्ञवालीको घर पनि थियो यसैकारण असल छिमेकीको रूपमा पनि उनले पाए। शारीरिक अवस्थाको कारण अबउसो श्याम ब्रदर्शको देखरेख पूर्णतः दुलीचन्दको जिम्मामा आयो पारिवारिक घोषणाअनुसार। दार्जीलिङमा तिनताक अन्य पुस्तक पसल साथै प्रकाशनहरू पनि थिए- जस्तै क्रिश्चियन बुक डिपोट, डा. विष्टको किताब दोकान, परमानन्द शर्माको प्रेस इत्यादि साथै बनारसबाट धेरै पुस्तकहरू प्रकाशित हुन्थे ।

पुस्तकको मोह साथै पाठशालाका अभिन्न मित्रहरू के.डी. राई, शरद मुखिया, हेमलाल गिरी, हेमचन्द्र प्रधान साथै सूर्य विक्रम ज्ञवाली जस्ता प्रखर व्यक्तिहरू पसलमा थुप्रिएर कुराकानी गर्दथिए। यस्तैमा साँवर अग्रवाल भन्नुहुन्छ – ‘कुन्नि के थियो बुबाको मनमा, कस्तो संस्कार बस्यो, नेपाली भाषा र साहित्यप्रति उहाँ किन आकर्षित बन्नुभयो थाहा छैन।’ शायद नेपाली साहित्य संवर्द्धनको उदय हुनु तय थिएछ, साहित्यकारहरूको सल्लाह भयो होला। तब श्याम ब्रदर्श प्रकाशनको पहिलो पुस्तक नैनसिंह योञ्जनको ‘शिशुपाठ’ प्रकाशित भयो।

प्रथम पुस्तक ‘शिशुपाठ’ सूर्य उदाए झैं हुन थाल्यो साहित्यकाशमा सूर्य चम्किए झैं पुस्तकहरू प्रकाशन हुन थाले। लेखक लेखिकाहरूका पाण्डुलिपि स्वयं लिएर बनारस जाने गर्थे अनि त्यहाँबाट पुस्तकहरू मुद्रण गराउँथे। अशेष मल्ल, डा. लक्खीदेवी सुन्दास, इन्द्र सुन्दास, इन्द्र बहादुर राई, नैनसिंह योञ्जन, प्रकाश कोविद, सुवास घिसिङ, हरिश बम्जन, गुमानसिंह चामलिङ, असित राई, जस योञ्जन प्यासी, लगायत अन्य मूर्धन्य साहित्यकारहरूका पुस्तकहरू प्रकाशनमा ल्याए। पुस्तक बिक्री गर्न उनी आफै सड़क किनार साथै हाटबजारतिर लैजाने गर्थे। यो उनमा निहित एक विशेषता थियो। नेपाली साहित्यप्रति उनको असीम श्रद्धा थियो, व्यापारीकै मन भएता पनि त्यो मनभित्र नेपाली भाषा-साहित्यप्रति प्रत्यक्ष एवं परोक्ष रूपमा सेवाको भावना अटुट थियो।  समय बित्दैजाँदा दुलीचन्दको स्वास्थ्यमा ह्रास आउन थाल्यो। उहाँ दुर्बल हुन थालेपछि जेठा छोरा श्यामको अध्ययनमा बाधा हुन थाल्यो, बुबाको साथ र काँधमा श्यामले पुत्र धर्म निर्वाह गर्न थाले। पसलको कार्यभारले उनको पढ़ाइ आधा बाटोमै छुट्यो। माइला छोरा साँवर कोलकातामा वकालती विषय लिएर कलेजमा अध्ययन गर्दैथिए। युवा साँवरका आफ्नै सपनाहरू थिए, भविष्यमा एक सक्रिय, उत्कृष्ट उकिल बनेर समाजमा छुट्टै परिचय दिन उहाँको सुन्दर परिकल्पनाले अवश्य नै घर बनाएकै थियो होला। शुद्ध नेपाली भाषा, अङ्ग्रेजी भाषा, राजस्थानी, बङ्गला साथै अन्य बहुभाषी व्यक्तित्व साँवरले न्यायालयको प्राङ्गणमा पाइला टेकी न्यायको तराजु जोख्न पाएनन्। उनी पनि आफ्नो अध्ययन/सपना/कल्पनालाई तिलाञ्जली दिएर बिरामी बुबाको सेवा साथै (पुस्तक पसल) श्याम ब्रदर्श प्रकाशनको कार्यभारमा दाजु श्यामलाई सघाउन दार्जीलिङ आए। यसरी १९६५ देखि तीन दाजुभाइले व्यवसाय सम्हाले, कारण तमाम साहित्यकारहरू, परिवार, समाज, इष्टमित्रको माया, प्रार्थनाले पनि रोक्न सकेन, उपचारको कमी पनि थिएन। अतः मात्र ५२ वर्षको अल्पायुमै १९६९ तिर दुलीचन्द अग्रवालको दुखद निधन भयो। निष्ठुरी कालले उहाँलाई हामीबाट चुँड़ेर लगे तापनि उहाँ सदैव हामीबीच बाँचिरहनुभएको छ। कर्मले जीवित राख्ने व्यक्ति सधैँ अमर रहन्छ। यसै मैले दुलीचन्दको नामअघि स्वर्गीय लेख्न सकिनँ। यही नै मबाट उहाँप्रति श्रद्धाञ्जली पनि हो। अन्दाजी २००/२५० वटा नेपाली पुस्तकहरू प्रकाशन गरिदिनुहुने उहाँप्रति म सश्रद्धा नमन गर्दछु ।

बुबा दुलीचन्दको स्वर्गारोहणपश्चात् साँवर अग्रवालले पूर्ण इमानदारीसाथ प्रकाशनको कार्यलाई अघि बढ़ाए। बुबाप्रतिको समर्पित भावना, ऊर्जावान् युवा साँवर अग्रवालमा साहित्यको भरपूर ज्ञान भएर पनि उनी ‘प्रकाशकीय’ मात्र लेख्छन्। दार्जीलिङको भूमिमा जन्मेर दार्जीलिङकै सेवामा लागिपर्ने मिश्रित समाजमा आफ्नो योगदान पुऱ्याउनुहुने साहित्य अभिभावक साँवर अग्रवाल हाम्रा निधि हुन्। सधैं शिरमा कालो बुनेको नेपाली टोपी पहिरिएर म मारवाड़ी गोर्खा हुँ भन्न रुचाउने साँवर अग्रवाल हेर्दा उच्च व्यक्तित्वका धनी हुनुहुन्छ। कुनै कार्यक्रमतिर आँखा चिम्लेर उहाँको सम्भाषण सुन्नु हो भने लाग्दछ, कोही नेपाली भाषी विज्ञ व्यक्ति बोल्नुहुँदैछ, यति स्पष्ट, सही शब्द चयन, भाषिक ज्ञानको परिधिभित्र मीठो सम्बोधनमा दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनुहुने उहाँ शब्दका कलाकार नै हुनुहुन्छ। बुबा दुलीचन्द झैं उहाँ पनि पाठ्यपुस्तक अनि साहित्यका पुस्तकहरू प्रकाशन गर्न निरन्तर लागिपरिरहे। कठोर परिश्रम, बुद्धि विवेक लगानीअनुसार अन्य व्यवसायको विस्तार भएर गयो विशेष रूपमा आफ्नो पारिवारिक जीवन धान्न होटलहरूबाट मनग्गे पुगीसरी भएको तथापि श्याम ब्रदर्श प्रकाशनलाई भने मुख्य आय आर्जनको स्रोत मान्दैनन् कारण पुस्तकसम्बन्धी कार्यमा सेवाको भावना बढ़ी रहेको बताउँछन् तर पुस्तक बिक्री वितरणमा ठूलो ह्रास आएको तीतो अनुभव साझा गर्छन्।

भारतीय नेपाली साहित्यका पुस्तकहरू बनारस साथै दार्जीलिङकै अन्य प्रेसबाट मुद्रण गरिए तापनि यसलाई अझ गुणस्तरीय मुद्रण गर्न सिस्टम्याटिक डिजाइनर्स एण्ड प्रा.लि. स्थापना गर्नुभयो जो सिलगढ़ीको सेभोक रोड युनिटी बिल्डिङमा अवस्थित छ। वर्तमानमा अग्रवाल परिवारको मूल वासस्थान दार्जीलिङ लेडेनला रोडमा रहेको छ  साथै सोही स्थानमा दार्जीलिङ सिस्टम्याटिकको भव्य कार्यालय पनि छ जसको देखरेख उहाँका सुपुत्र सन्दीप अग्रवालले गरिरहेका छन्।

साँवर अग्रवाल भन्नुहुन्छ – म गोरुबथानका हायमान दास राई किरातको नवयुग साहित्य मन्दिर प्रकाशनबाट प्रेरित बनेको हुँ । श्याम ब्रदर्श प्रकाशनलाई हायमानदासले उत्तराधिकारी भनेका थिए । अनगन्ती वरिष्ठ स्वनामधन्य साहित्यकारहरूका अनेक कृतिहरू, पाठ्य पुस्तकहरू प्रकाशन गर्नु मात्र होइन भव्य विमोचनको अभिभारा पनि प्रकाशनले लिने गर्थ्यो। आफ्ना बुबा दुलीचन्दको स्मरणमा केही वर्ष स्वर्ण पदक पुरस्कार पनि प्रदान गरे। श्याम ब्रदर्श प्रकाशनबाट जसजसको पुस्तक प्रकाशन भयो उहाँहरूको नामावली लेख्नु सम्भव भएन, लेख्नुपरे सूची अत्यन्तै लामो भएर जानेछ, यद्यपि मीठो स्मरणमा ती नामहरू साहित्यसेवी र साहित्य अनुरागीहरूद्वारा खुबै श्रद्धा र गर्वसहित लिने गरिन्छ- मनबहादुर मुखिया, राजनारायण प्रधान, भोटू प्रधान, दिलीप थापा, ए. जे. प्रधान, जे. एन. प्रधान, शरद छेत्री, हरेन आले आदि। दाहिने हातले गरेको सेवा देब्रे हातले थाहा नपाओस् भन्ने उक्तिलाई शिरोधार्य गर्ने व्यक्तित्व साँवर अग्रवाल धेरै संस्थाहरूसँग आबद्ध थिए, छन् पनि, नेपाली साहित्य सम्मेलनका उनी आजन्म सदस्य हुन्। सेवाकार्यको कुरा उहाँ धेरै खोल्दैनन्, तर हामीलाई थाहा छ उहाँ वृद्ध आश्रम, बाल आश्रम, मन्दिर साथै धर्म कर्ममा तन, मन, धनले सहयोग पुऱ्याउनुहुन्छ।

साँवर अग्रवाल साँचो बोल्ने आँटी खाँटी गोर्खा हुन् भन्नमा दुइ मत नहोला। उमेरले प्रायः अस्सीको सँघारमा पाइला टेकेका उनी शारीरिक अस्वस्थताले केही शिथिल भए पनि मन र स्मरण शक्ति अझै सक्रिय छन्। उहाँ आफूले चाहेको प्रियजनहरूसँग भेट गर्न उहाँहरूका वासस्थान खोजी खोजी गाउँबस्ती, शहरतिर पुग्ने गर्थे, यो आत्मीयता विरलै व्यक्तिहरूमा पाइन्छ। प्रतिष्ठित सङ्घ-संस्था, क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रहरूबाट उहाँ सम्मानित, संवर्द्धित भइसक्नुभएको छ

दार्जीलिङको इतिहासमा १९८६ सालमा जन आन्दोलनले आफ्नै अध्याय लेख्यो भने कुनै एक ठोस कारणवश साँवरको साहित्यबाट चासो हराएको तीतो सत्य उनी बताउँछन् । आफ्ना आदर्श श्रद्धेय बुबाको अजर अमर नाम मेटाइदिनु र यसको कारणले साँवरको मनमा गएको भुइँचालोलाई कसैले अनुभव गरे वा गरेनन् तर उहाँको अश्रुपूर्ण अनुभवले साहित्य क्षेत्रमा ठूलो पैह्रो गयो नै होला। आफ्नो बुबादेखि शिरोपर गर्दैआइरहेको संस्कार, व्यवसाय, सेवा आदिको यतिको लामो यात्रामा बटुलेका साहित्यिक अनुभवहरू निर्भीक भई भन्छन्, आत्मस्वीकृति पोख्छन्- २०/२१ सेप्टेम्बर २०१४ का दिनहरूमा बी.पी. कोइराला नेपाल-भारत फाउन्डेशनको संयोजनमा बनारसमा ‘लेखन, प्रकाशन र वितरणको समस्या’ गोष्ठी आयोजन भएको थियो, जहाँ कमल दीक्षित, दुर्गाप्रसाद श्रेष्ठ, वसन्त थापा, सनत रेग्मी, डा. प्रेम प्रधान आदिले पुस्तक प्रकाशन, बिक्री, रोयल्टी, सीमा अवरोध जस्ता जटिल समस्याहरूमाथि आ-आफ्नो मन्तव्य र तर्क प्रस्तुत गरेका थिए, त्यस गोष्ठीमा साँवर अग्रवालको खरो मन्तव्यले सबैको ध्यान आकर्षण गरेको थियो। उनले जुन तर्क प्रस्तुत गरे सोह्र आना सत्य थियो, देखावटी र ढाँटको मन्तव्य नपोख्ने सुझाउ गहन थियो। साहित्यका पुस्तकहरूको बजार दयनीय छ, लेखक, पसले साथै प्रकाशकबीच ‘डिस्काउन्ट’-को नियमले अन्तमा लेखकले कुनै प्रकाशकबाट रोयल्टी पाउन नसकेको व्यथा पक्का मारवाड़ी हिसाब किताबसहित उदाङ्गो पारेका थिए। कुनै समय उपन्यासको बजार तातिएको समय लोकप्रिय उपन्यासहरू प्रकाशित गरेर बिक्री गर्ने श्याम ब्रदर्श प्रकाशनको वर्तमान हालत दयनीय बनेको बताए। नेपाली पुस्तकको बजार सन्दर्भमा दार्जीलिङबाट सिलगढ़ी, मिरिक, कालेबुङ, सिक्किममा पनि कुनै उपलब्धि प्राप्त नभएको साथै नेपालतिर भंसार, ढुवानी आदिको समस्याले पुस्तक बजार पनि श्याम ब्रदर्श दार्जीलिङभित्रसम्म मात्र सीमित रहेको कुरा उजागर गरे।

यसरी आफ्नो जीवनका भञ्ज्याङहरूमा सुख, दुःख, ओह्राली, उकाली गर्दै मूल विचार साझा गर्छन् ‘एउटा प्रकाशक र लेखकबीचको सम्बन्ध भनेको आमाछोरी अथवा बाबुछोराको सम्बन्ध जस्तै हो। जहाँ छोराछोरीको विवाह अघिसम्म धेरै विषय र मामिला पारदर्शी हुन्छन्, विवाह भएको भोलिपल्टदेखि धेरै कुराहरू गुपचुप रहन्छन्।’

‘प्रायः ५००/६०० पुस्तकहरू प्रकाशन गरियो, कतिको छुटे होलान्, कति दुःखी होलान् तर अब हिम्मत छैन’, यसो भन्छन् साँवर अग्रवाल। श्याम ब्रदर्श प्रकाशनको नाम, कामलाई दीर्घजीवी राख्ने तर समय, विकास, परिवर्तनको असरले साहित्यमाथि परेको प्रभावमा उहाँले भन्नुभएको छ ‘हाम्रो पहाड़ बहुत लद्दु छ हौ भाइ, किताबै बिक्दैन। त्यसमा पनि साहित्यको किताब भन्यो भने त मरिजानु जस्तो हुन्छ।’

यो सत्यलाई कसैले नकार्न सक्दैन कारण यी वाक्यांश रैथाने साँवर अग्रवालको हो जो खाँटी प्रकाशनबाट निस्केका हुन् । धन्य छन् दार्जीलिङ जसले यस्ता सुपुत्र प्राप्त गरे, यहीं जन्मे, हुर्के, बढ़े, पढ़े अनि यहीं भरिपूर्ण सेवा प्रदान गरे। श्याम ब्रदर्श प्रकाशनले दार्जीलिङको भूमिलाई विश्वमा परिचित गराए, एक मारवाड़ी परिवार यहाँकै रैथाने बनेर ।  (लेखक कवि हुनुहुन्छ ।) घूम, दार्जिलिङ