रामपुर / कुनै समय उदयपुरको पूर्वी क्षेत्रका सीमित गाउँमा न्याय र समानताको अभियान चलाउने राजकुमारी चौधरीको काँधमा जिम्मेवारी थपिएको छ । बेलका नगरपालिका १ की राजकुुमारी अचेल गाउँमा भेटिन्नन् । बेलका नगरपालिकाको उपमेयरमा विजयी भएपछि उनी अचेल सिंगो नगरको न्याय, समानता, हक र अधिकारका लागि सक्रिय भेटिन्छिन् ।

उपमेयर हुनुअघि राजकुमारी महिला मानव अधिकार संरक्षक सञ्जालमा आबद्ध थिइन् । त्यसैको माध्यमबाट उनी मानव अधिकार तथा द्वन्द्व रूपान्तरण, व्यवस्थापन, न्याय र लैंगिक समानताका लागि क्रियाशील रहन्थिन् ।

अचेल उनी नगरमा उपमेयरको पदमा भए पनि उनले गरेको सहयोग ती गाउँका महिलाले बिर्सेका छैनन् । त्यसवेला राजकुमारीले विपन्न, पिछडिएका महिलाको न्याय र समानताका लागि वकालत गर्ने क्षेत्र सीमित थियो ।

‘उपमेयरमा चुनिएपछि जिम्मेवारी बढेको छ, क्षेत्र फराकिलो भएको छ,’ उपमेयर राजकुमारीले भनिन् । त्यसवेला ग्रामीण भेगका आम्वासी, भालमन्दी, पुुरन्दहलगायत गाउँमा मात्रै उनी न्याय र समानताका लागि पैरवी गर्थिन् । अचेल जिम्मेवारी र क्षेत्र दुवै थपिएको उनको भनाइ छ ।

सामाजिक अभियानसँगै राजनीतिमा चासो राख्ने चौधरीलाई नेकपा एमाले नगर कमिटीले स्थानीय तहको निर्वाचनमा बेलका नगरपालिकाको उपमेयरमा उम्मेदवार बनयो ।

राजकुमारीले त्यो प्रतिस्पर्धालाई स्विकारिन् र उनी नेपाली कांग्रेसका लोकप्रिय नेता डा. नारायण खड्काले जित्दै आएको क्षेत्रबाट सानदार जितका साथ उपमेयर बनिन् ।

यसअघिका निर्वाचनमा कांग्रेसले कब्जा जमाउँदै आएको यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा भने एमालेका उम्मेदवारले नै प्रमुख र उपप्रमुखमा जित हासिल गरेका हुन् । पहाडी समुदायबाट कांग्रेसले उठाएको उम्मेदवारलाई हराउँदै राजकुमारी पहाडी समुदायकै मतबाट विजयी भएकी हुन् ।

सामान्य र न्यायसम्म पहुँच नभएको परिवारमा महिलाको न्याय र समानताको अभियान चलाउँदै आएकी राजकुमारी उपमेयर बनेपछि उनको परिचय फेरिएको छ । गाउँ–गाउँ पुगेर अभियान चलाउने उनी घुम्ने कुर्सीमा बसेर जनताको सेवामा लागेकी छन् ।

असोज ४ गतेको नगरसभाले उनलाई नगरपालिकाको न्यायिक समितिको संयोजक बनाएको छ । उपमेयरको जिम्मेवारीले आफ्नो राजनीतिक करिअर उचाइमा पुग्ने उनको विश्वास छ ।

विद्यार्थी जीवनदेखि नेकपा एमालेमा आस्था राखे पनि आर्थिक, सामाजिक कारणले राजनीतिमा सक्रिय हुन नपाएको उनको भनाइ छ ।

२०५९ सालमा बलुवा उच्च मावि घोघनपुरबाट प्रवेशिका परीक्षा पास गरेपछि आम्वासीमा उनको विवाह भयो । परिवारको आर्थिक स्थिति निकै कमजोर भएका कारण उनले राजनीतिक क्षेत्रमा राम्रो काम गर्न पाइनन् ।

२०६४ सालदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने सोचले सञ्जालको नेतृत्व आफँै गरेर राजकुमारी अधिकारको क्षेत्रमा लागिन् ।

स्पष्टवक्ता, निडर राजकुमारी हाल पार्टीको नगर सदस्य र त्यसैको भातृ संगठन अखिल नेपाल महिला संघको जिल्ला कमिटीमा आबद्ध छिन् । गाँउमा स्थानीय महिलाको विषयमा वकालत गर्दा उनले ठूलो तनाव पनि बेहोर्नुप-यो ।

छिमेकीको भैँसीले दूध दिन छाडेपछि स्थानीय मनमाया सार्कीलाई बोक्सीको आरोप लगाइयो । कुटपिट गर्दै अमानवीय यातना दिँदा सार्कीकोे पाठेघर नै झ-यो । राजकुमारीले बोक्सीको आरोप लगाएर यातना दिनेविरुद्व मुद्दा दिइन् ।

त्यसका कारण आफूले तीन महिना मानसिक तनाव र धम्की खेप्नुपरेको उनी सम्झिन्छिन् । निकै संघर्ष गरेर पीडकलाई केही दिन थुनामा राख्न सफल भए पनि राजनीतिक आडमा पीडकलाई उम्काइएको राजकुमारी सम्झिन्छिन् ।

ठूलो दबाबका बाबजुद पनि पीडित महिलालाई न्याय दिलाउन सकेकोमा उनी खुसी महसुस गर्छिन् ।

केही महिनाअघिसम्मको सामाजिक अभियान्ता र एमाले कार्यकर्ताको राजकुमारीको परिचय अहिले फेरिएको छ । एमालेका तर्फबाट न्याय र समानताको कुरा गर्ने चौधरी अचेल स्थानीय सरकारको ‘न्यायाधीश’ बनेकी छन् ।

उनी सबै पार्टी र समुदायको साझा नेता बनेकी छन् । उपमेयर चौधरीले भनिन्, ‘पहिले कुनै पार्टीसँग आबद्ध थिएँ, एउटा सीमित गाउँका लागि काम गर्थें । अब म पार्टीको कार्यकर्ता नभई आमनागरिकको प्रतिनिधि हुँ । गाउँघरमा चलाएको अभियान अब सिंगो नगर क्षेत्रमा जारी राख्छु ।’

बेलका नगरलाई महिलामैत्री सहर बनाउने आफ्नो सपना रहेको उनले सुनाइन् । नगर प्रमुख दुर्गा थापा पनि एउटै पार्टीको भएको र उनी विकासप्रेमी भएकाले आफूलाई काम गर्न थप ऊर्जा मिलेको उनले बताइन् ।

नगरका बासिन्दाको सहकार्यमा बेलका नगरको श्रीवृद्धि र समृद्धि आफूहरूको प्राथमिकता भएको उनले बताइन् । लामो राजनीतिक तथा सामाजिक अभियानमा रहँदा समाजमा देखिएका समस्या र महिला अधिकारको सवालमा आफूलाई काम गर्न सजिलो हुने विश्वास उनको छ ।

‘नगरक्षेत्रमा पनि महिला–पुरुषबीचको लैंगिक विभेद, बालविवाह तथा जातीय विभेदको समस्या छ,’ उनले भनिन्, ‘स्थानीय सरकारको हैसियतामा यस्ता विसंगतिविरुद्ध अभियान चलाउँछु ।’ नगरलाई संस्कृति, पर्यटनसँगै महिलामैत्री सहरका रूपमा स्थापित गर्ने उनको धोको छ ।

समाजका हरेक क्षेत्रमा प्रभावकारी महिला सहभागिता र विकास अभियानमा उनीहरूको निर्णायक भूमिका स्थापित गर्ने अभियानमा आफू भएको उनले बताइन् ।

२०५९ सालमा एसएलसी गरेपछि आर्थिक, सामाजिक र पारिवारिक कारणले राजकुमारीको पढाइ रोकिएको थियो । स्थानीय तहको निर्वाचनमा उपमेयर भएपछि उनलाई अब त पढ्नुपर्छ भन्ने लाग्यो । अचेल उनी स्थानीय गुरुङचौरी उच्च माविमा भर्ना भएकी छन् ।

‘पढ्न त मन थियो, तर त्यतिवेलै विवाह भयो । विवाहपछि आर्थिक र सामाजिक कारणले पढाइलाई निरन्तरता दिन पाइनँ,’ चौधरीले भनिन्, ‘पढाइको महत्व धेरै छ, त्यही महसुस गरेर प्लस टुमा भर्ना भएकी छु ।’

प्रस्तुति : देवेन्द्र कार्की/नयाँ पत्रिकाबाट