कृष्ण प्रधान, सिलिगुड़ी (भारत)  

पात्रहरू -

  • लठिबज्रे (फिष्टे र गमसफुलका एकमात्र छोरो),
  • गमसफुल (लठिबज्रेकी आमा),
  • डुकुलण्ठक (गमसफुलका लोग्ने तथा लठिबज्रेका बुवा),
  • धधङ्ग्रे बड़ा (झाँक्री),  
  • धोम्बे (झाँक्रीको सहायक),
  • भम्पे (लठिबज्रेको साथी) 

[दृश्य़ विवरण - समयः साँझ पख । साधारण घरको कोठा । चिरिपको तलतल सुठीसाह्रै खपिनसक्नु हुँदा लकडाउनलाई अटेरी गरी घरदेखि बाहिर निस्केको समयमा लठिबज्रेको जिउभरि पुलिसको लौरोवर्षणपछि थला परेको निकै दिन भइसकेको छ । आय्या...आत्था...भन्नु सामान्य बोलचाल, खानु पिउनु केही छैन । डाक्टरी भाषामा भन्नु हो भने 'कोमा'-मा छ । केश, दाह्री जुङ्गा यतिसम्मकि नाक र कानका भुत्ला पनि गज्जब बढ़ेर दुरुस्तै लादेनजस्तै नै देखिन थालेको छ । तिनका अभिभावकहरू सुर्तामा परेका छन् ] ।

लठिबज्रे (अलस तलस परेर)  आय्या...आय्या....आत्था...आत्था....म मर्छु होला....
गमसफुल (लठिबज्रेको टाउको मुसार्दै ) नानी...काँ दुख्यो बाबु ? छ्या...त्यस्तो मर्ने कुरा पनि गर्नुहुन्छ  ? (रुञ्चे स्वरमा) खै तँ केही पनि ता भन्दैनस्...
डुकुलण्ठक  - हुलमूलमा जीउ जोगाउनु अनिकालमा बीउ जोगाउनुपर्छ । यो लठिबज्रे अचेल यस्तो उपद्रे भाको छ....झन यताको कात्रो उता उताको कात्रो यता गरेर यसलाई दशा लागेको,..,नि । लकडाउनमा फुर्के भएर किन अर्काको कात्रो घुरेनतिर फ्याँक्नु  ?
लठिबज्रे (आय्या...आय्या गर्दै) कात्रो नभन्नोस् बुवा...यो कात्रोले हामीलाई जोगाएको छ । हाम्रो मान र शान बढ़ाएको छ । हाम्रो धम्की, घुर्की, फ्वाँक बढ़ाएको छ । तपाईलाई पछि यै कात्रोले जोगाउँछ । हाम्रो झण्डीजस्तो पवित्र सम्पत्तिलाई कात्रो भनेर तमाम् झण्डीहरूको बदनाम नगर्नोस् बुवा ।
भम्पे के गर्नु डुकुलण्ठक काका...झण्डी यताउता नगरी पनि यहाँ बसिसक्नु छैन । भम्पे ब्र-को कुरा सोह्रै आना सठिक भए पनि झण्डी बोक्दा बोक्दा आफै झण्डीजस्तो फ्याल-फ्याल भइसक्यौ । ऊ....(लठिबज्रेलाई ईङ्गित गर्दै) हेर्नू न हाम्रो सोमलाई झण्डी चुँड़ेलले भेटेर खङरङ्ङै पारिसक्यो ।
लठिबज्रे (आय्या...आय्या गर्दै भएपनि ) तेसो नभन् भम्पे साथी तेसो नभन् । जुत्ता लाउनेलाई मात्र जुत्ताले कहाँ कसरी चेप्दैछ त्यो थाहा हुन्छ । बुझिस् ? आय्या....आय्या...।
गमसफुल हन...यो  लठिबज्रेलाई ता चुँड़ेलले भेटेजस्तो पो लाग्दैछ ता हँ...लठिबज्रेका पापा ।
डुकुलण्ठक अहिले मान्छेहरू नै चुँड़ेलजस्तै भएको यो ठाउँमा चुँड़ेलले ता कसरी भेट्छ हौ । यहाँका मान्छे देखेर बरु चुँड़ेल नै भाग्छे । तिमी पनि मान्छे हँसाउने कुरा नगर न गमसफुल । यसलाई चुँड़ेलले होइन झण्डी चुँड़ेलले बरू भेटेजस्तो छ नि ।
भम्पे यो लठिबज्रेलाई झण्डी चुँड़ेलले ता कोनि...पुलिसको डण्ठीले थला पारेको नि । लकडाउनको बेला किन बाहिर निस्किनु ? कसैलाई ता टेर्दैन यो नाथेले । त्यत्रो पुलिसले भनि हिँड़्दैछ....लकडाउनभरि घरदेखि बाहिर ननिस्किनु भनेर । पुलिसलाई पनि अटेरी गर्दा देखेनौं यसको गति ...लठिबज्रेका ढाढ़मा पुलिसको लौरोवर्षाले सबै ब्लक गरिदेको । (ढोका ढक ढकिन्छ) ।
डुकुलण्ठक गमसफुल को आयो हँ...बाहिर  ? जाऊ हेर...हेर । (गमसफुल ढोका खोल्छे)
गमसफुल (खुशी हुँदै) नमस्ते...(नेपथ्यतिर हेर्दै) औ पापा...धधङ्ग्रे बड़ा पो रहेछन् । आउनोस् न बड़ा भित्रै ।
डुकुलण्ठक लु आउनोस् है बड़ा । (झाँक्री धधङ्ग्रेको प्रवेश) । बस्नोस्...बस्नोस् । (झाँक्री बस्छ ) ।
धधङ्ग्रे बड़ा (नेपथ्यतिर हेर्दै) हन् त्यो कहाँ गएछ हँ .....
गमसफुल को बड़ा  ? बाहिर कोही छन्  ?
धधङ्ग्रे बड़ा छ नि...मेरो पाइलट....धोम्बे क्या । (नेपथ्यतिर हेर्दै) एई धोम्बे...भित्र आइज न । के सारो लजाको हौ यो केटो । (धोम्बे लजाउँदै प्रवेश)
गमसफुल बिचारालाई लाज लाग्छ होला नि ता....बस नानी बस....(म चिया बनाउँछु ल...प्रस्थान)
धधङ्ग्रे बड़ा अब लजाएर भो  ? होइन यसलाई यसो मेरो बिँड़ो थाम्छ कि भनेर झाँक्री ट्रेनिङ गराको यो मोरो के ढ्याङ्ग्रो बोक्नु कम्ति लाज मान्दैन अनि ।      
धोम्बे लाज लाग्दैन अन्त भन्नु ता । बजार बीचमा ढ्याङ्ग्रो बोकेर हिँड़्दा सबैको आँखा मेरैमाथि हुन्छ अन्त ।
धधङ्ग्रे बड़ा ढ्याङरोलाई झण्डी सोंचेर हिँड़दा भैगो नि...
धोम्बे झण्डी सम्झेर हिँड़्नु अरे । अस्ति सिरानघरे बड़ाको घरमा थानाको ओह्रालै जाँदा बाटामा सीआरपीएफले ढ्याङरो देखेर ए....कौन सा आर्म्स है भनेर ढ्याङ्ग्रो बाङ्बुङ पारिदिएको याद छैन ?
धधङ्गे बड़ा अन्त सीआरपीएफको मुखैमा पुगेर ढ्याङ्ग्रो डङ्डङ् गरेपछि ढ्याङरो नफुटाएर ढ्याङरोलाई चुम्मा खावोस् । नहुने कुरा ता गर्नै हुँदैन नि । जङगलमै बिताउनेहरूले ढयाङग्रो कहिले देखेको होस् न ढ्याङरोको बारेमा जानेको होस् ।
धोम्बे ढ्याङरो बोकेर हिँड़्दा कुकुरहरूले पनि कम्ति भुक्दैनन् । थाना छेउमा एउटा कुकुर भुक्दै मलाई झम्टिँदै आयो कि मेरो पाला ढ्याङ्ग्रो ढ्याङ पारिदिएको थिएँ...सीआरपीएफले च्याप्पै समातेर न्याक र झ्याँक पारिहाल्यो नि ।
गमसफुल अन्त धोम्बे नानीले पनि ढ्याङरो बोकेर हिँड़्दा गिटार बोकेको सोंचेर हिँड़्नु नि । झण्डीको नै किन कल्पना गर्नुपऱ्यो र !
लठिबज्रे (आय्या....आय्या गर्दै भएपनि) यहाँ ता अचेल झण्डी बोकेर हिँड़्नु पनि पीर, नहिँड़्नु पनि पीर, ढ्याङ्गो बोकेर हिँड़्नु पनि पीर छ धधङ्गे बड़ा।
डुकुलण्ठक झण्डी बोक्नु ता एकप्रकाले मलाई ठिकै लाग्छ तर ढ्याङ्गो बोकेर हिँड़्दा यो मोराले फेरि कुन पार्टी खोल्ने रहेछ भनेर सीआरपीएफले पानीखेदो गर्नु बेर लाउँदैन । (गमसफुल चिया लिएर प्रवेश)
गमसफुल चिया लिनुहोस् है...यहाँ ता एकक्षणमै चिसो भइहाल्छ ।
गमसफुल के ले पानीखेदो गर्छ अरे ?
 धधङ्गे बड़ा ढ्याङ्ग्रो बोक्नु नि गमसफुल नानी । (चिया पिउँदै )...खै कसलाई के भयो अरे ?
 डुकुलण्ठक यहाँ हाम्रा सरलाई नि धधङ्गे बड़ा । भनेको ठ्याक्कै सुन्दैन यो मोरा । चारैतिर लकडाउन छ...नानी बाहिरतिर नजा भनेको के सुन्थ्यो र ! लकडाउन छ भनेर बाहिर जाने हुँदा पुलिसको लौरोले यो लठिबज्रेका हड्डीहरू सबै ब्लक भएको देख्नुभएन धधङ्गे बड़ा ।
धधङ्गे बड़ा (मुण्टो हल्लाउँदै) हँ....भनिन्छ नि आगो ताप्नु मूढ़ाको कुरा सुन्नु बूढ़ाको । बूढ़ा बाउका कुरा नसुन्दा अहिले कुकाठको मूढ़ाजस्तो लड़्नु परेन अनि ?
डुकुलण्ठक कुकाठको मूढ़ाजस्तो लड़्नु मात्र होइन... तपाईलाई थाहा छ धधङ्गे बड़ा ? जाऊ न भित्र वाशरुममा । अहिले ता यसले वाशरुमको माथि डोरी झुण्ड्याएको छ ।
धोम्बे आम्बो...वाशरुममा डोरी चैँ के को लागि नि ?
डुकुलण्ठक पाखा बस्दा बसिसक्नु छैन ....अऩ्त डोरीमा तुर्लुङ्ङै झुण्डियो अनि हल्लिँदै पाखा बस्यो ।
गमसफुल अम्मुई मेरो लठिबज्रेलाई कम्ति ता साह्रो परेको छैन । हेर न...धोम्बे नानी...यो थला परेको पन्ध्र बीस दिन जत्ति भैसक्यो । बोलचाल, खानु पिउनु केही छैन । केश. जुङा, दारी काट्नु नपाएर हेर्नु न गति कस्तो भएको छ मेरो लठिबज्रे नानुको ।
धोम्बे हो...नि...र ता हेर्दा लादेनजस्तो देखिँदोरहेछ लठिबज्रे भाइलाई ।
भम्पे त्यति मात्रै यसको नाक र कानको भुत्ला बढ़ेर हेर्नु न....नो  म्यान्स ल्याण्डलाई पनि छोप्लाजस्तो भइसकेको छ ।
धधङ्गे बड़ा   (लठिबज्रेको नाड़ी छाम्दै र सर्वाङ्ग मुहार हेर्दै ) हँ....आमामा....हाम्रो लठिबज्रे नानीको दारी ता  ठिकै छ । दारी बढ़्ने समय नै हो तर  यो नानीको नाक र कानको भुत्ला चाहिँ प्यूर अर्ग्यानिक हो है । हाम्रो.....
गमसफूल (कुरा काट्दै) हेर्नु न धधङ्गे बड़ा....पुलिसले कुट्नु पनि कस्तो आँखा नहेरी कुटेको । जीउभरि सुम्ला हेर्नोस् न...सुम्लै सुम्ला बाहेक अरु केङी छैन अऩ्त ।
डुकुलण्ठक यो लठिबज्रेको जीउभरि सुम्लै-सुम्ला देख्दा ता पुलिसको डण्ठा यसकै निम्ति बनाएकोजस्तो लाग्छ ।
भम्पे अन्त पुलिसले कुटदा थापिरायो भने ता हान्छन् नि मोराहरू धुरिएर ।
धधङ्गे (लठिबज्रेको नाड़ी समात्ने प्रयास गर्दै ) खै ता लठिबज्रे नानी ! खै तिम्रो हात यति ल्याऊ नानी । (नाड़ी छामेपछि) यिनको नाड़ी छाम्दा ता यिनको सातो पुलिसको डण्ठाले लगेको देखिँदैछ ।
धोम्बे अऩ्त पुलिसको लट्ठी ल्याएर मन्साउनु धधङ्गे उस्ताद ?
डुकुलण्ठक उस्ताद ? झाँक्री बड़ालाई किन उस्ताद भन्यौ हौ धोम्बे तिमीले ?
धोम्बे अन्त मलाई झाँक्री ट्रेनिङ गराएपछि धधङ्गे बड़ालाई उस्ताद नभनेर के भन्नु ?
गमसफुल त्यो पनि ठिकै हो नानीको कुरा ।
भम्पे पुलिसको लट्ठी तिमीले ल्याउऩ सक्छौ धोम्बे ?
 धोम्बे आम्बो....लट्ठी ? त्यो पनि पुलिसको ? बरु मलाई गिद्देको पहारा बोकेर ले भन्यो भने तुइँतुइँती बोकेर ल्याइदिन्छु कि तर पुलिसको छेउमा ता पर्दै पर्दिनँ ।
गमसफुल किन त्यस्तो एलार्जी पुलिससित ?
डुकुलण्ठक होइन...होइन...पुलिस भन्नेसित जोगिएकै राम्रो । भनिन्छ नि बाघले चिथोरे दसवटा मात्रै घाउ हुन्छ अरे अनि पुलिसले छोयो मात्रै भने पनि सयवटा घाउ हुन्छन् अरे ।
धधङ्गे बड़ा अन्त हाम्रो नानीले पुलिसको गतिलो भेटेको रहेछ नि । पुलिसले पुलिसको लट्ठी वर्षाको ता लाइभ देखेको छु नि....। अम्मुई...हाम्रो धोम्बेबाबुको आङमा पनि पुलिसको लट्ठी वर्षैकै हो होनि  नि । (सहायक धोम्बेतिर दृष्टि फिराउँदै) एई...धोम्बे...भन् ता कसरी वर्षाउँछन् पुलिसले लट्ठी ?
धोम्बे (काव्यात्यात्मक लयमा)
वर्षाउँछ लट्ठी बलजफ्ति हे राम
आँखा नहेरी स्वाम् कि स्वाम्
त्राहि माम् त्राहि माम़्
हान्छ पिठ्यूँ कि चाकमा
एकै स्वाँठले पुऱ्याउँछ नरकमा ।
धधङ्गे बड़ा तिमेरलाई थाहा छैन...यो हिँड़्दा पनि एक महिनासम्प कना भएर हिँड़्नु थालेको थियो । (प्रसङ्ग बद्लिँदै) अच्छा लु ता गमस नानी ! काँसाको थालमा अलकति चोखो पानी, अलकति तितेपाती र एक लोहोटा चोखो पानी ल्याउनु ता ।
डुकुलण्ठक गमस तिमी चोखो पानी र चामल ल्याऊ...म बाहिरबाट तितेपाती ल्याउँछु । (दुवै प्रस्थान )
 भम्पे धधम्बे बड़ा चिन्ता नै बस्नुपर्छ कि ?
धधङ्गे बड़ा हेरौं न अहिले हेरकोर् गर्दा जोखाना के खुट्टिन्छ । मैले नानी लठिबज्रेको नाड़ी छाम्दा ता यिनलाई पुलिसको लट्ठीको निहुँ मात्रै देखेँ।   ठूलो उल्काभ्रामरीमा जाँकेर पनि कुन भगवानले यिनको हात थाम्यो..त्यो ता उनै भगवानलाई मात्रै थाहा होला ।
गमसफुल धन्न पुलिसको लट्ठीले यो उल्काभ्रामरीबाट जोगिएछ है । (गमसफुल र डुकुलण्ठकको प्रवेश)
गमसफुल लु है बड़ा....यी चामल र चोखो पानी ।
धोम्बे यो तीतेपाती धोएर लोहोटामा मिलाएर राखिदिनू ।
गमसफुल अरु केई ल्याउनुपर्छ कि ?
धोम्बे छ भने चोखो घरमै बनाको एक बोतल सगुन पनि राख्नुहोस्...धधङ्गे बड़ाको अघि । (गमसफुल घरमै तयार पारिएको एक बोतल मदिरा ल्याएर राखिदिन्छिन्)
धधङ्गे बड़ा (झाँक्री लयमा मन्त्र गुनगुनाउँछ मात्र) हँ...हँ,...हँ,....हँ....
धोम्बे दुइवटासम्म सिन्के धूप बालेर ल्याउनुहोस् न....(हतार हतार सिन्केघूप बालेर राखिन्छ )
डुकुलण्ठक राम्ररी राख है...धूपले बड़ाको फिला पोल्ला नि ।
भम्पे एक कप्टेरो आलु ल्याउनुहोस् न...अनि त्यसैमाथि धूपको सिन्का गाड़्दा भैगो नि ।
गमसफुल हो ता...(भान्सा कोठातिर प्रस्थान अनि प्रवेश । कप्टेरो आलुमाथि सिन्केधूपको सिन्का गाड़्छिन् )
धधम्बे बड़ा (पुनः होशमा फर्केपछि ) हँ....सबै छतछती देखेँ ।
गमसफुल सबै खुलस्त दिनोस् है धधङ्बे बड़ा ।
डुकुलण्ठक त्यस्तो नराम्रो ता केही छैन होला नि हई ।
धधम्बे बड़ा (गम्भीर मुद्रामा) लठिबज्रेलाई ठूलो दोख लागेको छ । पुलिसको लट्ठी ता एउटा बहाना मात्रै हो । पुलिसको लट्ठी नखाको भा यो मान्छेलाई तपाईहरूले मेरो छोरो भन्न पाउनुहुन्थे नि ।
भम्पे दोख चैँ के लागेको रहेछ धोधोम्बे बड़ा ।
गमसफुल (रुञ्चे स्वरमा) तेसो नभन्नोस् न धोधोम्बे बड़ा । एउटै मात्र यत्रो लाठे छोरो केई भयो भने  म ता झुण्डेर मरे पनि भो नि (रुन्छिन्) पुलिसको लट्ठी नखाको भा यो मान्छेलाई तपाईहरूले मेरो छोरो भन्न पाउनुहुन्थे नि ।
धोम्बे केई हुन्न गमसफुल दिदी केई हुन्न । ठ्याम्मै सुर्ताउऩु पर्दैन तपाईहरू । हाम्रो धधङ्बे उस्तादको फाकफुक परेपछि जस्तै उल्काभ्रामरी पनि पल्लो डाँड़ा काट्छ ।
डुकुलण्ठक खासमा के चैँ भाको रहेछ ? दोष चैँ  के रहेछ धोधोङ्बे बड़ा ?
धधम्बे बड़ा (हाय काढ़्दै) दोष अरु के हुन्थ्यो र ? त्यै ता हो झण्डादोष । अब हाम्रा केटाहरू झण्डा बोक्नु पायो कि लटरी नै पाएजस्तो गर्छन् । एउटा झण्डी छोड़ेर अर्को झण्डी समात्दा पुरानो झण्डीको अपमान गरेकोले त्यै पुरानो झण्डीले भेदेको रहेछ । तर यसको निवारण गर्न सकिन्छ ।
गमसफुल लु जसरी पनि बड़ाले गर्नुपऱ्यो ।
डुकुलण्ठक के गर्नुपर्ने हो ? पुरानै झण्डी समात्नुपर्ने हो कि ?
धधम्बे बड़ा त्यस्तो केई गर्नुपर्दैन । एउटा ठूलो चिन्ता राख्नुपर्छ अर्को हप्ता ।
गमसफुल छिटै चिन्ता बस्दा हुन्न बड़ा ?
भम्पे जतिसक्दो छिट्टै नै गरेको राम्रो होइन फिष्टे काका ?
डुकुलण्ठक हो नि । शुभस्य शिघ्रम ।
धधम्बे बड़ा होइन...छिटै गरेकै राम्रो नि । तर यो हप्ता तल गैरी गाउँमा चिन्ता राखेको छु । त्यहाँ बिजी छु ।
धोम्बे अर्कै हप्ता ठिकै छ । अर्को हप्ता आउनु कति पो समय लाग्छ र ।
डुकुलण्ठक चिन्ताको निम्ति के के चाहिन्छ....भनिदिनोला ।
धधम्बे बड़ा हुन्छ । म भरे-भोलि सबै लेखेर भम्पे नानीको हातमा पठाइदिन्छु । (भम्पेलाई) भम्पे नानी ! भोलि बिहान मेरो घर आऊ ल । (भम्पेको स्वीकारोक्ति) ।
धोम्बे लु...अब जौं हई उस्ताद ।
गमसफुल कहाँ हौ । केही खाएर जानुपर्छ नि ।
धधम्बे बड़ा पर्दैन । अघि भर्खर ता खाएर आएको । डम्मै छ । मन्सी गाउँमा जानुपर्छ ।
डुकुलण्ठक होइन बड़ा...(मदपान गर्ने इङ्गित गर्दै) यसो....पिउनुहुन्न ?
धोम्बे अब्बुइ....अहिले बाटोमा पुलिसले भेट्यो कि मपासे कि मपासे भनेर मुखभित्र के के घुसार्छ घुसार्छ । होस् आज हामीलाई केई पर्दैन । बरु चिन्ताको दिनै जत्ति खाउँला । आखिर चिन्ताको दिन सिङ्गै रात कट्ने नै ता हो ।
गमसफुल ल्या हौ...केही पनि भएन ता बड़ाहरूलाई ।
धधम्बे बड़ा निको छ नानी निको छ । लु हिँड़ौ केटो ।
(क्रमश:  बाँकी‍‍‍.... अर्काे अङ्कमा) [अल इण्डिया रेडियो खरसाङबाट प्रसारित]