- राेमा क्षेत्री
हाम्रो दार्जीलिङे चियापत्ति विश्वभरिनै प्रचलित छ। यसको बजार पनि महङ्गो छ। यो कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन्। आरम्भमा चीन अनि भारतीय उपमहादेशमा सराबरी उत्पादन हुनथाल्यो। उत्तर-पूर्वाञ्चल र दक्षिणाञ्चलभरि ब्रिटिश व्यापारीहरूले चियाको व्यापार गरेका हुन्। दार्जीलिङमा सर्वप्रथम चियाको खेती ज्याकसन साहेबले सन् १८५२ तिर शुरु गरे। यसभन्दा अघि एम. टी. कोलबोयाजले सन् १८५७ तिर चियाको बीउ चियाको गेड़ाबाट उमारेर चियापति हुन सक्छ भन्ने प्रमाण गरे अनि तकभरमा क्यापटन मासोनले, खर्साङमा सी स्मिथले प्रयोग गरे भने अर्कातिर डुवर्समा १८७४ मा चियाको खेती आरम्भ गरिएको हो भन्ने तथ्य पाइएको छ। अहिले चियाकमानहरूमा प्रायः दस लाखभन्दा धेर श्रमिकहरू होलान् कम्ति होइन। चिया भारतवर्षको एउटा वृहत् उद्योग हो। जुन उद्योगबाट भारतलाई लाखौं-लाखौं रुपियाँ आय हुन्छ, तपाई हाम्रै शाखा-सन्तानले अक्लान्त श्रम खर्च गरेर यो वृहत् उद्योग स्थापित हुनसकेको हो। तर भारतवर्षको वृहत् उद्योगको फेटा गुँथेको चियाकमानमा पसिना बगाउने चियाश्रमिकहरूको जीवन करुणादायक देखिन्छ। चियाकमानका यी सरल सोझा, निमुखा चियाश्रमिकहरूको उत्थान-पतनको पर्दा पछाड़ि दोषी को छन्? यसको नेपथ्यमा तपाई-हामी पनि चियाबारीसित केही न केही मात्रामा सम्बन्धित छौं।
दार्जीलिङलाई उन्नत बनाउऩे मुख्य उद्देश्यले ब्रिटिशहरूले दार्जीलिङको कुनाकाप्चामा चियाको खेती आरम्भ गरे। यसको निम्ति ब्रिटिशहरूलाई धन्यवाद नदिई रहन सकिन्न तर ब्रिटिशहरूको समयमा चियाश्रमिकको यथार्थ नाङ्गो चित्र पनि नदेखिएको होइन। दिनभरि लखतरान खटेर धिब्रीको उज्यालोमा (अहिले बिजुली बत्ती उपलब्ध छ) रात बिताउनुका साथै बिहानै लाइन चौकिदारको हुकूम शुरु हुने गर्दथ्यो। आज कहाँ पत्ती टिप्नुपर्ने हो अऩि कारखानाको काम कहिले शुरु हुने? बिहान ७ बजी कारखानाको साइरन बज्ने बितिकै धनमति, फूलमाया, कान्छी, मङ्गलीहरूसितै धनमान, फूलकुमार, नयनहरूको कमान धाउने तरखर शुरु भइहाल्छ। बिहान ७.३० बजी भित्रमा घर छोड़ी कमान धाउनु, लखतरान भएर साँझपख घर फिर्नु नै उनीहरूको शृङ्खलाबद्ध जीवन चलिरहेछ। त्यसताक ब्रिटिश मालिकहरूको हुकूम नटेर्नेको थाप्लोमा चाबुक बर्सिन्थ्यो। कहिले कारणबिनै हट्टाबाहिर गर्ने चलन त थिँदैथियो। (प्रकाश कोविदको ‘तर कहिले?’ उपन्यासमा हट्टा बाहिरको उल्लेख पाइन्छ)।
आफू खटे अनुसार ज्याला नपाउनु। सामान्य सहुलियत सुविधाहरू....त्यो पनि नाम मात्रैको। स्वतन्त्रता अघि यहाँका चियाश्रमिकहरूले निकै कष्ट भोगे। तर स्वतन्त्रतापछिदेखि भने प्रत्येक चियाकमानहरूमा खुसीको हावा बहन थाल्यो। दासत्वको बन्धन र शोषणबाट मुक्त हुने थाले चियाश्रमिकहरू। राजनैतिक दलहरूको चहलपहल, ट्रेड युनियन आन्दोलनको बाढ़, मानिसजस्तो भई बाँच्ने आह्वान कमानभरि गुञ्जियो। सबै मिलाएर एउटा परिवर्तनको नयाँ घाम देखिन थाल्यो। ब्रिटिशहरूले चियाकमानका श्रमिकहरूलाई दास बनाएर राखेका कुरा यी राजनैतिक दलहरूले बुझाए, सम्झाए। कमानमा मानिसजस्तै बाँच्ने अधिकारबाट चियाश्रमिकलाई वञ्चित गरेका कुरा खुलस्त पारे। कमानश्रमिकहरूलाई बुझाउन थाले, चिया उद्योगबाट आय गरेका करौड़ौं-करोड़ौं रुपियाँ सबै बेलायत नगएको होइन। चियाकमानका श्रमिकहरू नै चिया उद्योगका मेरुदण्ड हुन् तरै पनि यी शोषित चियाश्रमिकहरूलाई जुन ज्याला दिन्थ्यो वा दिइँदैछ त्यो भिखभन्दा पनि थोरै छ। यो शोषण, अत्याचार र उत्पीड़नबाट बाँच्नु हो भने सङ्गठन गठन गरी आफ्नो हक र अधिकारको आन्दोलनमा भाग लिनुपर्छ भन्ने कुरा चियाश्रमिकहरूलाई बुझाए। पचास दशकदेखि नै विभिन्न राजनीतिक संस्थाहरूले ‘दुइ पात एक सुइरो’- को देशमा सङ्गठन गठन गर्न थाले। उऩीहरूको सहभागिताले शिक्षित-अर्द्ध-अशिक्षित चियाश्रमिकहरूले नयाँ गोरेटो पाए। यसैबीच भारतको गणतान्त्रिक सरकारले चियाकमानका श्रमिकहरूको स्वार्थमा प्लाण्टर्स लेबर एक्ट (१९५१), इण्ड्रस्टियल डिस्पुट एक्ट, ईपी फण्ड स्किम आदि प्रयोग गरी मालकिहरूले सो एक्ट पालन गर्नुपर्ने निर्देश दिइयो। चिया कमानमा पी एल एक्ट अनुमोदन भएको कारणले चियाकमानहरूमा धेरै परिवर्तनहरू देखिए। जस्तै
१। श्रमिक लाइनमा बसोबास गर्नेहरूको घरहरू संस्कार गरी खरका घरहरू पक्का बनाइए, अहिले चियाकमानका घरहरूको निर्माण निकै परिवर्तन भएको देखिन्छ।
२। श्रमिकहरूको वेतन ढाँचा परिवर्तन गरी प्रति दुइ वर्षको अऩ्तरमा ज्याला र तनखा वृद्धि,
३। १९५१ मा बोनस एक्ट अनुमोदन भएपछि प्रत्येक चियाकमानका मालिकहरूले कमानको वार्षिक लाभांशमाथि ८.२३ प्रतिशत दरमा श्रमिक र कर्मचारीहरूलाई बोनस दिन वाध्य भए। अहिले २०% बोनसको निम्ति प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको छ।
४। प्रोभिडेण्ट फण्ड शुरु भएपछि चियाश्रमिक र कर्मचारीहरू उपकृत भए। तर कतिपय चियाकमानका मालिकहरूले प्रोफिडेण्ट फण्ड सम्बन्धित विभागमा नबुझाएका घटना पनि प्रायः नै सुन्नमा आउँछ। अवसरकालिन भत्तास्वरुप ग्राचुटी दिने व्यवस्था भयो तर अवसरकाल पछि यी चियाश्रमिकहरूले अवसरकालिन भत्ता प्राप्त गर्दैछन् छन् के!
दार्जीलिङलाई सुन्दर बनाउने कल्पनामा ब्रिटिशहरूले चियाकमान स्थापित गरे पनि सुखी जीवनको नेपथ्यमा अर्को रोदनको इतिहास शुरु भयो। चियाकमानमा हरियो सुन लुट्न थाले साहेबहरूले। दार्जीलिङ भनौं कि तराई-डुवर्सका नेपाली आदिवासी श्रमिकहरूमाथि थाहा नपाउने गरी अत्याचार आरम्भ भयो। कमानका दुर्गम ठाउँहरूलमा चिया श्रमिकहरूले साहेबहरूलाई जुन कमाउने बाटो बनाइदिएका थिए तिनै चियाश्रमिकहरूलाई सामग्री बनाए। त्यसताक कोही पनि कमान छोड़ी जान पाउँदैन थिए। मिलिटिरी-पुलिसमा जस्तो ‘गन्ती’ गर्ने नियम थियो। ‘गन्ती’ -मा कहिले काहीँ छोकड़ीहरूको हिसाब मिल्दैन थियो। कारण साहेबहरूको यौनलालसाको शिकारमा परेका छोकड़ीहरूको हिसाब जसोतसो मिलिहाल्थ्यो। मरद श्रमिकका हिसाब नमिले कमानको साइरन बजिहाल्थ्यो। जसरी हुन्छ हराएका श्रमिकहरूलाई खोजी निकालिन्थ्यो अनि भगुवा श्रमिकहरूमाथि नाना प्रकारका निर्यातन शुरु हुन्थ्यो।
जे होस् स्वतन्त्रता भारतमा चियाश्रमिकहरूको अवस्थामा पटक्कै राम्रो छैन। दार्जिलिङ साथै तराई-डुवर्सका चियाकमानहरूतिर अचानक सस्पेन्सन अर्डर झुण्ड्याउने राजनिति आरम्भ भइसकेको छ। बन्द चियाश्रमिकहरूमा मानिस बाँच्ने निम्नतम सुविधा समेत देखिँदैन। चारैतिर रोग-विमार तथा खान नपाएर चियाश्रमिकहरू मर्दैछन् भन्ने खबर समाचार पत्रमा आइरहन्छन्। हरियो गलैँचा मोहलाग्दो देखिए पनि यसको नेपथ्यमा प्रत्येक निमुखा चियाश्रमिकहरू छटपटिरहेका छन् आजसम्म पनि। रित्ता चियाश्रमिकहरूको अऩ्तिम श्वास पनि निचोर्न केही चियाकमानमै आरम्भ भएको सुनिन्छ भने तथाकथित राजनैतिक दलको आशीर्वादले स्वार्थीहरू भूमिष्ठ भएको नदेखिएको होइन। सरकारी उदासीनताको कारणले प्रत्येक चियाकमानमा यी स्वार्थीहरूले प्राइभेट विनियोगकारीलाई कमानभित्र हुल्ने प्रयास गरेको सुनिँदैछ। चियाकमानका कतिपय श्रमिकहरू आधा पेट खाएर पनि कुनै प्रकारले आफ्नो अस्तित्व बचाइँराखेको देखिन्छ। अहिले पहाड़-तराई डुवर्स भेकका चियाकमानहरूमा ब्रिटिश साहेबहरू छैनन् र अब छोकड़ीहरू ब्रिटिश साहेबका यौन तृष्णा मेटन कोठीतिर जानुपर्दैन। बिनाकारण दोष लागेर अब चियाश्रमिकहरू हट्टा बाहिर पनि हुनुपर्दैन। तर भोक, अभावको भुँवरीमा परेर बन्द चियाकमानका चेलीबेटीहरू भने हुद्दा-हुद्दा भई दलालहरूको लोलोपोतोमा परेर हरियो गलैँचाको देश छोड़ी दिल्ली-मुम्बई वा भारततिरका ब़ड़े-बड़े शहरूहरूतिर गई अलपत्र परेका घटनाहरू हामीलाई राम्ररी थाहा भइसकेको कुरो हो।
धेरै चियाकमाहरू बन्द छन् अहिले। खोलिने नामोनिशान छैन (उदाहरण पानीघट्टा चियाकमान) चियाश्रमिकहरू भोकभोकै छन्। कतिपय श्रमिकहरू त मृत्यु कुरिरहेका छन्। असहाय यी निमुखा चियाश्रमिकहरू समक्ष मृत्यु एउटा उत्सव जस्तै भएको छ भन्दा धेर नहोला कि !
हरियो गलैँचाको वक्षस्थलमा रगत पसिना बगाएर हरियो सुन उमार्ने यी चियाश्रमिकहरूलाई मृत्युको मुखबाट बचाउने जिम्मावारी लिने कसले ?
हो, हजूर! साँच्चै हरियो गलैँचा हेर्दा अति सुन्दर देखिए पनि यसभित्र लुकेका यन्त्रणाहरूलाई मल्हमपट्टी गर्ने कसले ? प्रश्न दुइवटा मात्रै । (लेखक क्षेत्रीले उत्तरबङ्ग विश्वविद्यालय बैरातीशाल जोत, न्यू रङ्गियाबाट एम.ए. गर्नु भएकाे छ ।)