धरान / कोशी प्रदेशमा रहेका ४ ऐतिहासिक गढीहरु पछिल्लो समय पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेका छन् । ऐतिहासिक क्षेत्र भोजपुरको हतुवा गढी, उदयपुरको उदयपुर गढी, धनुकटाको साँगुरी गढी र धरानको विजयपुर गढी कोशी प्रदेश सरकारले घोषणा गरेको ८२ गन्तव्यको सूचीमा समेत परे पछि यि क्षेत्रमा पर्यटकहरुको चहल पहल बढेको स्थानीय बताउछन् ।
साँगुरीगढी
प्राचिन किराँत कालमा नेपाल–भारत र भारत–चीन व्यापारको निगरानी स्थलको रुपमा लिइएको धनकुटाको पर्यटकीय नगरी भेडेटारसँगै रहेको ऐतिहासिक साँगुरीगढी पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।
सङ्घीयता पछि गढीको नामबाट यो क्षेत्रको नामसहित साँगुरीगढी गाउँपालिका निर्माण भएको छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्रमा रहेको यो गढीलाई वि.सं १८३१ मा एकीकृत गराएको इतिहास पाइन्छ । त्यसपछि २०३६ सालसम्म यो पूर्वी पहाडको प्रवेशद्वारको रूपमा रह्यो ।
त्यसपछि धरान धनकुटा सडक बनेपछि यो स्थान सुनसान बनेको थियो । स्थानीय सरकारको समन्वयमा यति बेला भने आकर्षक पर्यटकीय गन्तव्य बनाइएको छ । यो क्षेत्रको विकासका लागि धरान उपमहानगरले पनि लगानी गरिरहेका छ । पर्यटकीय नगरी भेडेटारबाट यो गढी ३ किलोमिटर उत्तर पश्चिममा छ । भेडेटारमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । त्यहाँ पुग्ने पर्यटक प्रायः साँगुरीगढी नछुटाउने गरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जीतेन्द्र राई बताउँछन् ।
यहाँसम्म पुग्ने सिढी, प्रवेशद्वार, ट्वाइलेट रेलिङ्गलगायतका संरचना निर्माण भएका छन् । धरानबाट पदैन निस्कन सङ्घीय सरकारको बजेटले साँगुरीगढीसम्म पद मार्ग बनाएको छ । धरानदेखि यस गढी हुँदै एकिकृत पदमार्ग घोषणा गरि मार्ग बनाइएको छ ।
विजयपुर गढी
डेढ शताब्दीअघि मणि मुकुन्द सेनको राज्य विस्तारसँग जोडिएको ऐतिहासिक स्थल विजयपुर गढी यति बेला धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ । धरान बजारको पूर्वी भागको केही उँचो डाँडोमा विजयपुर छ । दरबार भने विजयपुरको उत्तर सालघारीभित्र छ । यो दरबारको अवशेष नै हो भन्ने यहाँ वरिपरि छरिएका इँटाका टुक्राले संकेत गर्छ ।
विजयपुर क्षेत्रलाई तत्कालीन लिम्बुवान शासक र सेनवंशी राजाले दरबार बनाएर बसेको इतिहास पाइन्छ । ती क्षेत्रमा विजयनारायण र बुद्धिकर्ण रायको दरबार रहेको दरवारबारे जानकार स्थानीय राजेन्द्र शर्मा बताउछन् ।
विसं १८३१ साउन २२ अगाडि विजयपुर बेग्लै राज्य थियो । सेनकालीन स्याहामोहोरहरूमा सेन राजाका चौतारिया बुद्धिकर्णले विजयपुरबाट रामभक्त पण्डितलाई विसं १८२४ मा र तुलाराम पण्डितलाई १८२९ मा स्याहामोहोर गरिदिएको इतिहास छ ।
विजयपुर गढी क्षेत्रमा पञ्चकन्या मन्दिर छ । केही तल बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर रहेको छ । दरबार हेर्न र ती मन्दिरमा पूजा गर्न दैनिक सयौ धार्मिक पर्यटकहरु आउने गरेको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् ।
हतुवा गढी
भोजपुरको घोडेटार बजार नजिक हतुवागढी रहेको छ । यही गढीको नाममा पालिकाको नाम राखिएको छ । हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताए । गढी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ । विजयपुर गढी बाहेक सबै गढीहरु नेपाली सेनाले संरक्षण गदैं आएको छ । ‘यो हाम्रो ऐतिहासिक गढी हो ।’–अध्यक्ष राईले भने –‘यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ। पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ । यसको आसपासमा संग्रहालय निर्माणको काम पनि बढ्दैंछ ।’
हतुवा गढी गाउँपालिका–१ मा रहेको यो गढीलाई आधार बनाएर तत्कालीन किरात राजाले शासन गरेको इतिहास रहेको छ । यो गढी समुद्री सतहबाट एक हजार ६३८ मिटर उचाइमा छ । यहाँको ऐतिहासिक तथा पुरातात्विक गढी र दरबार क्षेत्रको पुनःनिर्माण गरी यसको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भइसकेको गाउँपालिकाले जनाएको छ ।
हतुवागढीबाट धरान, इटहरी, विराटनगरका साथै तराईका विभिन्न जिल्लामा सहजै पुग्न सकिने भएकाले पर्यटकको आवगमन बढेको अध्यक्ष राईले बताए । हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङगालगायत हिमालका साथै तराईका फाँटको अवलोकन गर्न सकिने उनको भनाइ थियो । ‘सप्तकोशीमा चतराघाटदेखि हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पुर्रुयाउँदै जलयात्रा गर्न सकिन्छ ।’–उनले भने ।
उदयपुर गढी
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा उदयपुरको पुरानो सदरमुकाम तथा ऐतिहासिक महत्व बोकेको उदयपुर गढीलाई छनोट गरेको थियो । प्रदेश सरकारले पनि ८२ गन्तव्यमा उदयपुर गढी छनौटमा छ । किम्वदन्ती अनुसार राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जंगलको ओडारमा लुक्न गई अलप भएका थिए । पछि तिनै उदय राजाको नामबाट उदयपुरको नाम रहन गएको बताइन्छ ।
उदयपुरगढी गाउँपालिका–५ मा पर्ने उदयपुर गढी उदयपुरको पुरानो सदरमुकाम पनि हो । उदयपुरको नामसँग उदयपुर गढीको मातृसम्बन्ध रहेको पाइन्छ ।
उदयपुर गढी राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुर गढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएको इतिहास रहेको स्थानीय इश्वर तामाङले बताए । प्राडा सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुर गढीको इतिहास र पर्यटन नामक पुस्तकमा इसं १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने बताइन्छ ।
प्रत्येक वर्ष दशैँ, रामनवमीलगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पञ्चावतीगढी देवीको पूजा तथा आराधना गर्न भक्तजन जाने गर्छन् । ऐतिहासिक तथा पौराणिक महत्व भएको यस गढीमा पछिल्लो समय आनतरिक पयृटकहरुको घुइचो हुने गरेको छ ।
उदयपुरगढी समुद्री सतहबाट करिब एक हजार ३ सय मिटरको उचाइमा अवस्थित छ । उत्तरमा सेत्ताम्य हिमालहरू र दक्षिणमा समतल तराईका फाँटहरूका दृश्य अवलोकन उदयपुर गढीबाट गर्न पाइन्छ । उदयपुरगढीलाई प्रदेश १ कै पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना रहेको छ ।
गढी नेपालका इतिहास हुन् । यि स्थान पर्यटकीय गन्तव्य मात्र होइनन्, नयाँ पुस्ताका लागि खुल्ला किताव पनि हुन । यि गढीको संरक्षण, संबद्र्धन र उचित सौन्दरीयकरण गरेर लाखौ पर्यटकहरु भित्राउन सकिन्छ । यसका लागि स्थानीय सरकार पनि जिम्मेवार हुनु पर्दछ ।