धरान / कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना भएको छ । तर राज्यले प्राकृतिक विपत्तिको रुपमा चट्याङलाई प्राथमिकतामा राखेको पाइदैंन् ।
उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका छ सय ९८ घटना भएका थिए । त्यसमा दुई सय ५४ जनाको मृत्यु र पाँच सय ८७ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । प्रदेशभर एक दशकमा सात सय ५७ परिवार चट्याङबाट प्रभावित भएका थिए ।
उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट रु तीन करोड ९५ लाख ५८ हजार पाँच सय बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसान चट्याङको सिकार बन्ने गरेका छन् ।
कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का दुई हजार ६० घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट पाँच सय ८३ मानिसको मृत्यु, एक सय २० बेपत्ता र सात सय ४९ जना घाइते भएका थिएभने १८ हजार सात सय २८ परिवार प्रभावित भएका थिए ।
मनसुनजन्य विपद्मध्ये बाढीका चार सय ६४ घटनामा एक सय ३२ जनाले ज्यान गुमाएका थिएभने ८२ बेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा छ सय ७२ घटना भएका थिए । त्यसमा एक सय ९२ जनाले ज्यान गुमाउनु परेको थियोभने ३८ जना बेपत्ता र एक सय १९ जना घाइते भएका थिए ।
एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ । विपद्विज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताउनुभयो । जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ ।
“प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ”, सुब्बा भन्नुहुन्छ । चट्याङ प्राकृतिक प्रकोप भए पनि यसबाट हुने क्षति न्यूनीकरणका उपाय भए पनि मानवीय लापर्वाहीले बढी क्षति हुने गरेको विज्ञहरु बताउँछन् ।
नेपालमा खेतमा काम गरिरहेका किसान चट्याङको निशानामा पर्ने गरेका छन् । मानिस र पशु चौपायाको बढी सङ्ख्यामा मृत्यु भइरहेको छ । चट्याङबाट विद्युतीय उपकरणमा समेत ठूलो आँकडामा हुने क्षति हुने गरेको छ ।
कोशी प्रदेशमा यस वर्ष एक लाख १३ हजार तीन सय ५३ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये ३७ हजार आठ सय घरधुरी अझ बढी प्रभावित हुनसक्ने अनुमान गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ ।
चट्याङबाट कसरी बच्ने
चट्याङ तथा बायुमण्डल अध्ययन केन्द्रका अध्यक्ष श्रीराम शर्माका अनुसार यो मौसम हावाहुरी, हल्का वर्षा र चट्याङ पर्ने वेला हो । चट्याङ लागेर प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउने गरेका छन् ।
विपरीत दिशाबाट आएका बादल आपसमा ठोक्किँदा तिनका अणुबीच हुने घर्षणबाट चट्याङ उत्पन्न हुन्छ । यो विद्युतीय तरंग हो । यसबाट विद्युतीय विस्फोटन हुन्छ । बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ ।
नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक चट्याङबाट भए पनि यसबाट जोगिनेबारे प्रचुर सावधानी अपनाएको पाइँदैन । यसमा जनचेतनाको कमी देखिन्छ । चट्याङका कारण प्रवाह हुने करेन्टबाट जोगिन सके मानवीय क्षति कम गर्न सकिन्छ ।
पहिलो त चट्याङ प्रतिरोधी घर निर्माण गर्नुपर्छ । घर बनाउँदा छत या छानामा तामाको त्रिशूल वा रड राखेर त्यसलाई जिआई या अल्मुनियमको पाता जोडी जमिनमा पुर्याएर गाड्नुपर्छ । जमिनमा पनि तामाको रड वा पाता आवश्यक हुन्छ ।
यस्तो गर्दा चट्याङबाट प्रवाह हुने करेन्ट तारमार्फत जमिनमा पुग्छ र घरमा क्षति हुन पाउँदैन । सहरका घरमा विभिन्न धातु प्रयोग गरिने भएकाले चट्याङको जोखिम कम हुन्छ । गाउँका घरलाई सुरक्षित बनाउन माथिको विधि उपयुक्त छ ।
बादल र जमिनबीच कम दूरी रहेको स्थानमा चट्याङको जोखिम बढी हुन्छ । त्यसैले त्यस्ता स्थानबाट टाढा रहनुपर्छ । चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रूखनजिक बस्नुहुँदैन । समथर वा खुला भूभाग वा धातुको तारबार भएका स्थानबाट पनि टाढा रहनुपर्छ ।
विद्युतीय तारजडित सामानमा चट्याङ प्रवाह हुने जोखिम बढी रहन्छ । त्यसैले चट्याङ पर्ने मौसममा त्यस्ता वस्तुलाई टाढा राख्नुपर्छ । वर्षात् भइरहेको समयमा टिभी र तारजडित फोन प्रयोग गर्नुहुँदैन । तारसहितको फोनको तुलनामा मोबाइलमा जोखिम कम हुन्छ । त्यसैले आकस्मिक अवस्थामा ल्यान्डलाइन फोन प्रयोग गर्दै नगरौँ । त्यस्तो अवस्थामा मोबाइल फोन उपयुक्त हुन्छ । छत नभएका सवारीसाधनमा हुनुहुन्छ भने तुरुन्त सुरक्षित स्थानमा जानुपर्छ । चट्याङ परिरहेको समयमा धारा खोलेर बस्नु जोखिमयुक्त हुन्छ । यस्तो समयमा हात धुन वा नुहाउन बाल्टिनमा राखेको पानी प्रयोग गर्नुपर्छ ।