धरान  / मानव शरिरको हड्डी भाचियो भने चिकित्सकले उक्त हड्डीलाई ठाउँमा ल्याइ मिलाएर राख्नको लागि धातुको इम्प्लान्ट प्रयोग गर्ने गर्छन् । यस प्रकारको इम्प्लान्टलाई चलन चल्तिको भाषमा स्टिल भन्ने गरिन्छ। स्वास्थ्य क्षेत्रमा विकास हुँदै गएर शल्यक्रियाहरु सुरक्षित हुन थाले सङ्गै हड्डी भाचिएमा शल्यक्रिया गरि हड्डी मिलाइ भित्री इम्प्लान्टले कस्ने चलन बढदो छ । हाडजोर्नीको उपचारमा अत्यावश्यक पर्ने इम्प्लान्ट भने नेपालका अस्पतालले भारत तथा अन्य देशहरुबाट आयत गदैं आएका छन । विदेशबाट ल्याइने इम्प्लान्ट विरामीका लागि निकै महगो हुने गर्दछ । 

अस्पतालहरुलाई आवश्यक पर्ने विभिन्न इम्प्लान्ट नेपालमा उत्पादन नभएको अवस्थामा धरानको जेनोम अर्थोपेडिक्स प्रालिले भने पछिल्लो समय धरान मै उत्पादन गरि नेपालका अस्पतालहरुलाई विक्रि वितरण गदैं आएको छ । लामो समय अनुसन्धान गरि विगत ६ बर्ष अघिदेखी कम्पनिले नेल, प्लेट, स्क्रु, वायर उत्पादन गदैं आएको हो । 

मेरुदण्ड भाचिएर स्पाइनल कर्डमा चोटपटक लागेको बिरामीहरुको लागि पनि टाइटेनियमको पेडिकल स्क्रु, रड, प्लेटहरु पनि उत्पादन गर्दै आएको छ । कम्पनी स्थापना गर्न लगभग ४ बर्ष लागेको र गत दुई बर्ष देखि इम्प्लान्ट उत्पादन गरि विक्रि बितरण सुरु गरिएको जेनोम अर्थोपेडिक्स प्रालिका अध्यक्ष तथा संचालक वीरेन्द्र गुप्ताले जानकारी दिनु भयो । 

उहाँका अनुसार कम्पनिले दुई प्रकारका धातु टाइटेनियम र स्टेनलेस स्टिल (316L) को इम्प्लान्ट उत्पादन गर्दै आएको छ । टाइटेनियम उच्च स्तरको मेटल हो । यो महङ्गो हुनाले सम्पन्न वर्गले प्रयोग गदैं आएका छन् । 

टाइटेनियम इम्प्लान्ट हलुका तथा लगभग प्राकृतिक हड्डीकै बराबरको लचकता हुनाले  शरिरमा लगाए पछि निकाली राख्नु पर्ने खासै जरुरी हुदैन।  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रोसन शाह कलवारका अनुसार टाइटेनियमको इम्प्लान्टमा इन्फेकसनको पनि सम्भावना कम हुने र भविष्यमा एमआरआई गर्नुपर्ने भए पनि बाधक हुदैंन । यो इम्प्लान्ट साधरणतया जीवनभर शरीरबाट ननिकाल्दा पनि कुनै असर गदैंन । 

दुवै प्रकारका स्टील उत्पादन गर्न थाले पछि पूर्वका विर्तामोड, विराटनगर, धरान, जनकपुर, बुटवल, चितवन, नेपालगञ्ज, धनगढी सुर्खेत, काठमाडौं, नुवाकोटलगायत स्थानमा बजार विस्तार गरेको कम्पनिले जनाएको छ । 

नेपाल मै यस्तो सुविधा पाए पछि उपभोक्ताहरुलाई सहुलियत भएको कम्पनि संचालक गुप्ताले दावी गर्नु भयो । पाँच करोड लगानीबाट सुरु गरिएको उत्पादन देश भरीका अस्पतालहरुसम्म पुर्याउने् लक्ष्य भएको कम्पनिका संचालक गुप्ताले जानकारी दिनु भयो । 

इम्प्लान्ट उत्पादनका लागि कम्पनिले  कच्चा पदार्थ भने भारतको वम्वई, गुजरातलगायत स्थानबाट ल्याउने गरेको छ । उत्पादन भएका इम्प्लान्ट नेपालको विभिन्न अस्पताल तथा आफ्नो बिक्रि डिपोमा राखेको छ । 

औषधी व्यवसाय गदैं आउनु भएको गुप्ताले कम्पनि सुरु गरे पछि ६० जना प्राविधिकहरुले उद्योगमा काम पाएका छन्  भने १५ जना जनशक्ति बिक्री बितरण र बजारीकरणका लागि खटाउनु भएको छ । 

'हामी सुरुवाती फेजमा छौं । कतिले नेपालमा पनि इम्प्लान्ट उत्पादन भएको थाहा पाएकै छैनन् । हामी बजार व्यवस्थापनका लागि खटिरहेका छौं । माग अनुसार व्यवस्थापन गर्न सकिरहेका छैनौं ।'- गुप्ताले भन्नु भयाे- 'राज्यले नेपालमा इम्प्लान्ट उत्पादन गर्ने कम्पनिलाई प्रोत्सोहान गर्नु पर्ने हो तर गर्न सकेको छैन् ।नेपालका सबै ठूला अस्पताल र जिल्ला अस्पतालमा पुर्याउने हाम्राे लक्ष्य छ ।' धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिइरहेको उहाँको भनाई छ । 

कम्पनिले मेसिन चलाउने प्राविधिक सुवास यादव र विनोद ठाकुरलाई भारतको अयोध्याबाट हायर गरेर ल्याएको छ । देश भरीका अस्पतालहरुमा सेवा विस्तार गर्ने तयारी भइरहेको प्रबन्ध निर्देशक पन्कज गुप्ताले जानकारी दिनुभयो । कम्पनिले इम्प्लान्ट उत्पादन सुरु गरे पछि दिनहुँ इम्प्लान्टको लागि  विदेशीने पैसा कम भएको छ र साथै रोजगार सृजना भएको छ । 


स्टील इम्प्लान्ट के हो

शरीरभित्रका हड्डी विभिन्न कारणले भाँचिन सक्छन् । अक्सर चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँच्चिने गर्छ भने रोग वा पाको उमेरले मक्किएको हड्डी आफै पनि भाचीन सक्छ । हड्डी भाचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्र्याक्चर’ भनिन्छ । भाँच्चिएको हड्डी जोडिनु प्राकृतिक प्रक्रिया भएकाले निश्चित समयमा आफै जोडिने गर्दछ भनेर डा कलवारले जोड दिनु हुन्छ ।  चिकित्सकले हड्डी जोडिने प्राकृतिक प्रक्रियालाई सहयोग र सहारा दिने बाताबरण मात्रै मिलाइदिनुपर्दछ। 

हड्डी भाचियो भने एओ प्रिन्सिपल अनुसार सो  भाचिएको हड्डीलाई ठाउमा ल्याइ शरीरको आन्तरिक प्रक्रियाले हड्डी नजोडिए सम्म ठाउमा राख्नु पर्ने, रक्त सन्चालन बनाइ राख्ने र सङ्ग सङ्गै मान्शपेशी र जोर्निहरुको व्यायाम गरिराख्नु पर्ने हुन्छ। साचै भन्दा हड्डी जोडिने प्रक्रियामा चिकित्सकको भुमिका भनेको बगैंचाको स्याहार गर्ने माली जस्तो हुन्छ। भाचिएको हड्डीलाई ठाउँमा ल्याएपछी सोहि स्थानमा राखी राख्न  बाहिरी सपोर्टको लागि काम्रो, प्लास्टर वा शरीर भित्र धातुको इम्प्लान्ट प्रयोग गरिन्छ। धातुको  इम्प्लान्ट आवश्यकता अनुसार विभिन्न आकारमा जस्तै तार, पाता (प्लेट), स्क्रु, रड आदिमा हुन्छ। यस्ता इम्प्लान्टलाई आम जनमानसले स्टिल भनेर भन्ने गरेको हुन्छ्न। शल्यक्रिया गरेर भाचिएको हड्डीलाई ठाउँमा ल्याएपछी प्राकृतिक प्रक्रियाले हड्डी नजोडिन जेलसम्म समातेर राख्न इम्प्लान्ट प्रयोग गरिन्छ। काम्रो, प्लास्टर आदिको विकल्पको रुपमा भित्री इम्प्लान्टको प्रयोग बढदो छ।  भित्री इम्प्लान्टको प्रयोग एक बिशिष्ठकृत शल्यक्रिया हो जसले चाडै जोर्नी  र मांसपेशी चलाउन सकिन्छ तथा विशेषज्ञको सल्लाह अनुसार आफ्नो काममा फर्किन सकिन्छ।  इम्प्लान्ट सहि रुपले प्रयोग नभएमा शल्यक्रियाको घाउ पाक्ने, फ्राक्चर ढिलो जोडिने वा जोडिदै नजोडिने, शरीर भित्रै इम्प्लान्ट भाचिने पनि हुन सक्छ। हड्डीको इन्फेकसन उपचार गर्न सार्है जटिल हुन्छ। सुर्ती, खैनी, गुटखा, पेन किलर, दिर्घ रोग आदिले प्राकृतिक हड्डी जोडिने प्रक्रियालाई सुस्त गर्दछ भने प्रशस्त क्याल्सियम, भिटामिन, आइरन, प्रोटिन, व्यायाम, सन्तुलित भोजनले हड्डी जोडिने प्रक्रियालाई सक्रिय र तिब्र बनाउदछ।