पात्र १ : जीवनको नयाँ मोड

सुजाता कोइराला, कांग्रेस नेतृ

 

कुनै समय सत्ता र शक्तिको निकट मात्र होइन, आफैँ पनि सत्तामा पुगेकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला एक समय हारथाक भइन् । उनलाई क्यान्सरले गलायो । त्यसैको डरले डिप्रेसनमा पुर्‍यायो ।

०७३ दसैँताका नेतृ कोइरालाले सपरिवार मलेसिया घुम्ने योजना बनाइन् । ‘त्यतिवेलै बढेको राजनीतिक अस्थिरताले जाऊँ कि नजाऊँ भयो,’ उनले भनिन्, ‘परिवार र साथीभाइको दबाबमा मलेसिया उड्यौँ ।’ त्यहाँ घुम्ने क्रममा छोरीले चेकअप गराउन दबाब दिइन् । छोरीको करले उनी अस्पताल पुगिन् ।

‘त्यसवेला म असामान्य किसिमले थकित हुन्थेँ । ध्यान केन्द्रित हुँदैनथ्यो । थकान महसुस हुन्थ्यो,’ उनले ती दिन सम्झिन्, ‘अरूले बोलेको एकैछिनमा बिर्सने गर्थें । कसैको कुराको मतलबै हुँदैनथ्यो ।’

उनले सुगर भयो कि भनेर चेकअप गराइन् । छोरीले मेमोग्राम गराउन सुझाब दिएपछि उनले त्यो गराइन् । ‘त्यसमा स्तनमा क्यान्सरको लक्षण देखियो । अल्ट्रासाउन्ड गर्दा क्यान्सर स्पष्ट देखियो,’ उनले भनिन्, ‘क्यान्सर हो भन्ने पक्का भयो । म झन् निराश बनेँ । हस्पिटलाइज भएँ ।’

डाक्टरले क्यान्सरको पार्ट निकाल्न सुझाब दिँदा उनले स्तनको पूरै पार्ट निकाल्न लगाइन् । ‘अप्रेसन गरेपछि म ढुक्क थिएँ । अप्रेसन गरेको ६ साताभित्र किमो लिनुपर्छ । म नेपाल फर्किएँ,’ उनले भनिन्, ‘पछि सिंगापुर गएँ, त्यहाँ डाक्टरलाई सोधेँ । जीवनशैली परिवर्तन गर्न सक्यो भने क्यान्सरको सम्भावना कम हुन्छ भन्ने थियो ।’ सबैले उनलाई किमो लिन सुझाए । तर, त्यसले साइड इफेक्ट गर्छ भनेर सुजाताले त्यो नलिने निष्कर्ष निकालिन् । ‘डाक्टरले किमो नलिँदा ३० प्रतिशत र लिँदा २० प्रतिशत क्यान्सर हुने सम्भावना रहने बताए,’ उनले भनिन्, ‘मैले १० प्रतिशतका लागि किमो नलिने, बरु लाइफस्टाइल चेन्ज गर्ने सोच बनाएँ ।’

फेरि जाँच गराइन् । त्यहाँ जाँचका क्रममा उनको ओभरीमा क्यान्सर देखियो । उनी अब निकै तनावमा आइन् । ‘भर्खरै एउटा अप्रेसन गरेको, त्यसमाथि अर्को क्यान्सर !’ उनले भनिन्, ‘त्योजस्तो निराश र दुःखी भएको क्षण अर्को थिएन ।’

हुने कुरा भइसकेपछि मानिसले सहनुबाहेक के हुन्छ र ? यही सम्झेर उनी पहिले अप्रेसन गरेको मलेसियाको अस्पताल पुगिन् । डाक्टरसँग सल्लाह गरिन् । डाक्टरले चार दिनपछि अप्रेसन गर्न सुझाब दिए । ‘ती चार दिन यसरी बिताएँ कि त्यस्तो दिन कसैको जीवनमा नआओस् भन्ने कामना गर्छु,’ उनले भनिन्, ‘एउटा भागको क्यान्सरको पीडा नसेलाउँदै अर्को अंगमा पनि क्यान्सर भएको खबर थाहा पाउनु कति पीडादायी थियो होला ?’ उनको ओभरीको क्यान्सरको अप्रेसन गरियो । पहिलो अवस्थामा रहेछ । जुन सहजै भयो ।

वर्षदिन डिप्रेसन
उनलाई पूर्ण रूपमा तंग्रिन एक वर्ष लाग्यो । ‘त्यो समय म डिप्रेसनमा गएँ । एन्जाइटी भयो, बाहिर जान मन लागेन, अत्यन्तै चिन्ता लाग्थ्यो,’ नेतृ सुजाताले त्यो अवस्था सम्झिइन्, ‘मलाई भित्रैदेखि भने एकदम बाँच्ने इच्छा थियो । निद्रा नपर्ने, डर लाग्ने, छटपटी हुने सबै समस्या भोगेँ ।’

तर, आत्मबल नै ठूलो कुरा हो भन्ने उनले त्यतिवेलै अनुभूति गरिन् । त्यही आत्मबलले उनलाई यो सबै अवस्थाबाट पार लगायो । त्यही आत्मबलले क्यान्सर र डिप्रेसनलाई जितेकी उनी विश्वास नगर्ने भगवान्माथि विश्वास गर्ने भएकी छन् । ‘मलाई भगवान्मा विश्वास लाग्दैनथ्यो । क्यान्सर भएपछि म आत्तिएँ, के–के सोचेँ, तर निको भयो,’ उनी भन्छिन्, ‘अचेल संसारमा अदृश्य शक्ति छ भन्ने लाग्छ ।’ उनले घरमै मनोचिकित्सक बोलाइन् । काउन्सेलिङ गराइन् । ‘औषधि पनि खाएँ, त्यसले जीवन रमाइलो लाग्न थाल्यो, मन शान्त भयो,’ उनले भनिन्, ‘त्यसपछि औषधि छाडेर मेडिटेसनमा लागेँ ।’

एकजना आफन्तले आध्यात्मिक गुरु शैलेन्द्र शर्मालाई सुजाताको घरमै लिएर आए । उनले सुजातालाई दिनमा दुईपटक मेडिटेसन गराए । ‘त्यसले मलाई नयाँ जीवन पाएको अनुभूति भयो,’ उनले भनिन्, ‘जे जति गल्ती गरेँ, गरेँ, अब धेरै कुरा गर्न बाँकी छ भन्ने लाग्न थाल्यो ।’ आत्मबल, योगा र उपचारकै कारण आफू सामान्य अवस्थामा आएको उनी बताउँछिन् ।

अचेल हरेक दिन बिहान ४० मिनेट मेडिटेसन गर्ने र त्यसपछि व्यायाम गर्ने गरेको उनी बताउँछिन् । आत्मबल, विश्वास र नियमित जीवनचर्याले आफू पूर्ववत् अवस्थामै आएको नेतृ सुजाताको भनाइ छ ।

पात्र २ :  आत्मविश्वास औषधि

तारा पोखरेल, नर्स

पेसाले नर्स तारा पोखरेलले पनि त्यही हिम्मतले क्यान्सरलाई जितेकी छन् । जीवनका ४० वर्ष प्राध्यापनमा बिताएकी उनले दुई वर्षअघि नुहाउँदै गर्दा आफूलाई क्यान्सर भएको सुइँको पाइन् । नर्सिङ संघकी अध्यक्षसमेत रहेकी पोखरेल भन्छिन्, ‘बाथरुममा नुहाइरहेकी थिएँ, स्तनमा सानो गाँठो देखियो । म चिकित्सकीय पेसामा भएकीले स्तनमा आउने परिवर्तन क्यान्सरको लक्षण हुन सक्छ भन्ने लाग्यो ।’ त्यही लख काटेर उनले लगत्तै नेपाल क्यान्सर अस्पतालमा जाँच गराइन् । क्यान्सर भएको पक्का भयो । ‘आत्तिएर भएन,’ उनले भनिन्, ‘१० महिना उपचार गराएँ, अहिले पुरानै जीवनशैलीमा छु।’

क्यान्सर जितेर नियमित दैनिकीमा फर्किएकी पोखरेललाई भेट्ने हरेकले ‘तपाईं हिँड्न सक्नुहुन्छ, काम गरिरहनुभएको छ ?’ लगायतका जिज्ञासा राख्छन् । त्यसलाई उनी ‘क्यान्सर लागेपछि निको हुँदैन’ भन्ने सामाजिक सोचको उपजका रूपमा लिन्छिन् । समाजमा अहिले पनि क्यान्सरलाई असाध्य रोगका रूपमा हेरिने गरेको छ । ‘तर, समयमै उपचार गरे क्यान्सर पूर्ण रूपमा निको हुने रोग हो,’ उनले भनिन्, ‘म आफैँ त्यसको उदाहरण हुँ । क्यान्सर रोगप्रति हाम्रो गलत मानसिकता बनेको छ ।’

पोखरेलको क्यान्सर देखिनुअघिको र उपचारपछिको दैनिकीमा कुनै फरक छैन । ‘झन् आत्मविश्वास बढेको छ,’ उनले भनिन्, ‘अप्रेसन गरेर स्तन फालेको केही समयपछिबाटै म नियमित काममा फर्किसकेकी थिएँ ।’ क्यान्सरबारे अनेक धारणा बोकेर उनीकहाँ आउने मानिस उल्टै छर्लंग भएर फर्किन्छन् ।

तारालाई भेट्नेहरू बलियो आत्मविश्वास लिएर फर्कन्छन् । ‘क्यान्सर भनेको त मार्ने रोग हो’ भन्ने मनोविज्ञानमा बाँचेकाहरू उनलाई भेटेपछि ‘यो त निको हुने रोग पो रहेछ’ भन्ने बुझेर जान्छन् । आफ्नो दाहिने स्तन काटेर फालिएको उनले बताइन् । अहिले पेसागत जिम्मेवारी बोकेर उनी देश–विदेश घुम्छिन् । ‘खै, मलाई त पहिला र अहिले कुनै फरक परेजस्तो लाग्दैन, सायद आत्मविश्वास संसारको ठूलो औषधि हो ।’

पात्र ३ : क्यान्सर जित्न आत्मबल

शान्ता चौधरी, पूर्वसभासद्

देशको संविधान लेख्न कस्सिएकी नेकपा एमालेकी नेतृ शान्ता चौधरीका कदमलाई पनि स्तन क्यान्सरले अवरुद्ध पार्न खोज्यो । उनले पाठेघर र स्तन दुवै क्यान्सर झेलिन् । ‘पाठेघरसम्बन्धी समस्या थियो, सेतो पानी पनि बग्थ्यो, चिलाउँथ्यो, गनाउँथ्यो,’ पूर्वसभासद्समेत रहेकी चौधरीले भनिन्, ‘सानै उमेरमा विवाह भयो, त्यही कारणले इन्फेक्सन भयो कि भन्ने सोचेँ, तर जाँचका क्रममा क्यान्सर देखियो।’

करिब आठ वर्षपहिलेको घटना उनले सम्झिइन् । पाठेघरको मुखमा पहिलो स्टेजमै रहेको क्यान्सर देखिएपछि उपचार सहज भएको उनको भनाइ छ । ‘भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको सेल खुर्केर फालियो,’ उनले भनिन्, ‘त्यहीवेला स्तनमा पनि स–साना गिर्खा देखा परे । जाँच गराएँ, स्तन क्यान्सर पनि देखियो ।’ एकैपटक दुई थरी क्यान्सर भएपछि सही नसक्नु पीडा त भयो,’ उनले भनिन्, ‘धैर्य र साहसले आफूलाई सम्हालेँ ।’

पचाएपछि सामान्य
क्यान्सर ‘ठूलो’ रोग हो भन्ने उनलाई पनि लाग्थ्यो । ‘तर, जसले क्यान्सर पचाएको छ, उसलाई सामान्य लाग्छ,’ शान्ताले भनिन्, ‘क्यान्सर भएको छ भन्नेबित्तिकै मैले पनि केही सोच्न सकिनँ, अत्यन्तै पीडा भयो, भाग्यले सुरुमै थाहा भएकाले उपचार सजिलो भयो ।’

क्यान्सर जित्न उपचारसँगै आत्मबल चाहिने उनको अनुभव छ । ‘आत्मबल भयो भने जस्तो रोग पनि पचाउन सकिन्छ,’ उनले भनिन्, ‘अप्रेसनका लागि अस्पताल पुगेपछि मेरो मन अलि शान्त भयो, मेरो भन्दा जटिल अवस्थाका बिरामी पनि त्यहाँ थिए । उनीहरूलाई देखेर चित्त बुझाएँ ।’

उनी अहिले औषधि सेवन गर्दिनन् । नियमित चेकजाँच गराउन भने जान्छिन् । ‘आत्मबल जुटाएर संघर्ष गरेकी छु,’ उनले भनिन्, ‘त्यही आत्मबलले क्यान्सर पराजित भयो ।’

पात्र ४ : पहिलाजस्तै दैनिकी

शोभा प्रधान बिजुक्छे केन्द्रीय कोषाध्यक्ष
नेपाल क्रान्तिकारी महिला संघ

घर, परिवार, करिअर र राजनीतिमा संघर्ष गरेकी शोभा प्रधान बिजुक्छेलाई सबैभन्दा ठूलो पीडाको क्षण आफूलाई स्तन क्यान्सर भएको पत्ता लागेको दिन थियो ।

नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय सदस्य बिजुक्छेले पनि क्यान्सरसँग ठूलै संघर्ष गरिन् । सबै कुरा ठिकठाक चल्दै थियो । त्यहीवेला ०५६ सालतिर उनलाई स्तन क्यान्सर भयो ।

‘सुरुमा स्तनमा सानो गाँठो देखियो । चेकजाँच गराएँ । दाहिने स्तनमा क्यान्सर देखा पर्‍यो,’ बिजुक्छेले भनिन्, ‘क्यान्सर शब्द सुन्नेबित्तिकै मर्छु कि जस्तो लाग्यो ।’ उनी मात्र होइन ‘क्यान्सर’ भन्नेबित्तिकै प्रायः सबै डराउँछन् । ‘तर, जे हुनु भइसक्यो, अब डराएर हुँदैन भन्ने लाग्यो,’ उनले भनिन्, ‘अनि कसरी योसँग लड्ने भन्ने साहस जुटाएँ ।’

पछिल्लो समय महिलामा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको उनको भनाइ छ । उनले क्यान्सर भएको थाहा पाउनेबित्तिकै उपचारका क्रममा स्तन नै काटेर फालिन् । पहिलो स्टेजमै भएकाले क्यान्सर अरूतिर फैलिन पाएन । ‘अहिले स्वस्थ छु,’ उनले भनिन्, ‘रेगुलर फलोअपमा जान्छु, बाँकी जीवन पहिलाको जस्तै सामान्य चलेको छ ।’ नयाँ पत्रिकाबाट