धरान / वित्तिय अपराध मौलाएको भन्दै केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीको टोलीले पूर्वका विभिन्न शहरमा अप्रेसन सुरु गरेको छ । ब्युरो र क्षेत्रीय अनुसन्धान टोलीले आइतबार र सोमबार ६ वटा अवैध कम्पिनीमा छापा मारी आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

सिआइवीको टोलीले सोमबार धरान, इटहरी र विराटनगरमा एकै पटक छापा मारेको थियो । सोमबार दिउँसो तरहराको गोल्डेन चौकस्थित पशुपति गहना गृहमा छापा मारेको डिएसपी औलियाले बताए ।सिआइवीको नेतृत्व र क्षेत्रीय व्युरो विराटनगरको अगुवाईमा भईरहेको पछिल्लो कारवाहीमा सुनचाँदी व्यवसायी तथा इन्भेष्टमेन्ट कम्पनी खोलेर वित्तिय कारोबार गर्नेहरुलाई विशेष निगरानी राखेको छ ।

आइतबार टोलीले धरानको हँलेसी गहना गृहमा छापा मारेर संचालक दम्पतीलाई पक्राउ गरेको थियो । संचालक चन्द्र विक र अनिता विकलाई खातापातासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

उनीहरुले हलेसी इन्भेष्टमेन्ट प्रालिमार्फत करोडाैंको कारोबार गरेको खुलेको छ । करिव सात करोड कारोवार गरेको पासबुक, हिसाव खातासहित उनीहरुलाई नियन्त्रणमा लिएको इप्रकाका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी पौडेलले बताए । ‘सिआइवीको टोलीले आज पनि धरानस्थित बरगाछीमा रहेको एक कम्पनिमा छापा मारेको तर केही भेटिएन । आज पनि छापा जारी रहेको छ ।’ डिएसपी पौडेलले भने । धरानमा भएका बैंकिङ घोटालाका विषयमा सुनचाँदी व्यवसायीले पनि अवैधरुपमा पासवुक नै बनाएर वचत संकलन तथा धितो कारोवार गर्ने गरेको भेटिएको थियो ।

पक्राउ पर्नेमा आपन ईन्भेष्टमेन्ट प्रा.लि., ईटहरीका ४० वर्षीय भीमप्रसाद चौधरी र श्याम पेशकार थारु, चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका संचालक राजु साह, मन्सुन ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरी संचालक सुनिल गुरागाई छन् । उनी ४ नंं वडा का वडा सचिव समेत हुन् ।

यस्तै छिन्ताङ् ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद भर्पाई रसिद प्याड, खाली रसिद प्याड, भरेको बचत पासबुक थान, खाली बचत पासबुक थान, दैनिक नगद संकलन चार्टलगायत सामान बरामद गरिएको डिएसपी औलियाले जानकारी दिए ।

 

सुन पसलेहरुले सुन कारोवारभन्दा सुन धितो राखेर महंगो व्याजमा ऋण प्रवाह गर्दै आएका छन् । बजारमा च्याउसरी खुलेका सुनचाँदी व्यवसायीले आफ्नो मुख्य धन्धा नै ऋण प्रवाहलाई बनाएका छन् ।

 

सुनसरीमा मात्रै ५० भन्दा वढी कम्पनीले वचत संकलन र लोन प्रवाहको काम गरिरहेको सिआइवी स्रोतले जानकारी दिएको छ । वैंकबाट सस्तो व्याजदरमा लोन निकालेर ईन्भेष्मेन्ट कम्पनीका नाममा चर्को व्याज असुल्ने गरेको वताईएको छ । कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा खुलमखुल्ला यस्ता कम्पनी संचालन हुँदै आएका छन् ।

राष्ट्र वैंक र सहकारी विभागबाट अनुमति नलिकन वचत संकलन तथा ऋण प्रवाहको काम गर्न नपाइने कानुनी व्यवस्था छ । तर ईन्भेष्टमेन्ट कम्पनी दर्ता गरेर वैंकीङ कारोवार गदेै आएका छन् । आम्दानीको स्रोत नखुल्ने पैसा करोडौं रुपैया ईन्भेष्टमेन्ट कम्पनीमा होल्ड भएर वसेको सिआइवीका अधिकारीले बताएका छन् ।

यसरी भयो अप्रेसन

करिव ६ महिनाअघि धरानका केही बैकहरुमा घोटाला भएको सामाचार सार्वजनिक भएको थियो । सुन व्यवसायी संजय राईको पुतलीलाईन स्थित सुन पसलमा छापा मार्ने क्रममा सिआईवीले ईम्यानुएल ईन्भेष्टमेन्ट कम्पनीको नामका पासवुक र कागजात फेला पारेको थियो ।

६ महिना अघि भेटिएको ईम्यानुयल ईन्भेष्टमेन्ट कम्पनीको खोजीमा कम्पनी रजिष्टारको कार्यालमा जाँदा पूर्वमा मात्रै एकसय वढि ईन्भेष्टमेन्ट कम्पनी संचालनमा रहेको नयाँ तथ्य भेटिएपछि अप्रेशन शुरु गरिएको सिआईवीका एक अधिकारीले जानकारी दिएका छन् ।

संचालक र कर्मचारीको भागमभाग

सिआइवीले ईन्भेष्ट कम्पनी , तिनका संचालक र कर्मचारी पक्राउ गर्न थालेपछि ईन्भेष्ट कम्पनीको धन्धा चलाउँदै आएकाहरुमा भागदौड मच्चिएको छ । ईन्भेष्टमेन्ट कम्पनीका कार्यालयहरु ताला लगाएर संचालक, लगानीकर्ता र कर्मचारीहरु एकाएक फरार भएका छन् ।

सिआइवीले सुनचाँदी पसलमा छापा मारेर पासवुकसहित संचालकलाई नियन्त्रणमा लिएपछि सुनचाँदी व्यवसायीमा आतंक मच्चिएको छ । प्रायः सुन पसलहरुले सुन कारोवार भन्दा पनि सुन धितो राखेर महगो व्याजमा ऋण प्रवाह गर्दै आएका छन् । बजारमा च्याउसरी खुलेका सुनचाँदी व्यवसायीले आफ्नो मुख्य धन्धा नै ऋण प्रवाहलाई बनाएका छन् ।

 यस्ताे छ केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले तयार पारेकाे विवरण

आपन ईन्भेष्टमेन्ट प्रा.लि., ईटहरी सुनसरी

पक्राउ सङ्ख्या :२

ईटहरी उ.म.न.पा. ०८ बस्ने वर्ष- ४० का  भीम प्रसाद चौधरी

ईटहरी उ.म.न.पा. ०६ बस्ने वर्ष- ५० का  श्याम पेशकार थारु

बरामद सामानहरु:

  • नगद भर्पाई रसिद प्याड
  • खाली रसिद प्याड
  • भरेको बचत पासबुक थान-१
  • खाली बचत पासबुक थान -१२६८
  • भरेको ऋण माग फारम थान- ७
  • व्यावसायिक ऋण लगानी फाईलहरु थान-१०७
  • कम्पनीको प्रस्तावना र नियमावली
  • बैक भौचर र बिलहरुको फाईल थान-८
  • आम्दानी/खर्चको अभिलेख किताब थान-१
  • नगदी रसिद प्याड थान ११
  • भर्पाई रसिद प्याड थान ११
  • दैनिक नगद संकलन चार्ट भएको फाईल थान ९ र खाली प्याड थान१
  • संचालक समितिको माईन्युट रजिष्टर थान १
  • कर्मचारी नियुक्तिको करारनामा फाईल थान ४
  • तमसूकको खाली फर्म्याट थान १
  • सवारी साधनमा लगानी गरेको अभिलेख सम्बन्धी फाईल थान १
  • सांग्रिला डेभलपमेन्ट बैंकको प्रयोग भईसकेको चेकबुक थान ४
  • सांग्रिला डेभलपमेन्ट बैंकको प्रयोग हुँदै गरेको चेकबुक थान १
  • सांग्रिला डेभलपमेन्ट बैंकको बैंक स्टेटमेन्ट फाईल थान १
  • CPU लगायत कम्प्युटर सेट थान २

स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम रु. २,३९,४७,६६०/-( दुइ करोड उन्चालिस लाख सत्चालिस हजार छ सय साठी )

२. हलेसी ईन्भेष्टमेन्ट प्रा.लि. धरान, सुनसरी

पक्राउ संख्या २

जिल्ला संखुवासभा बाला गा.पा. घर भई हाल सुनसरी धरान ५ बस्ने वर्ष ३१ का चन्द्र ब. वि.क.

जिल्ला संखुवासभा बाला गा.पा. घर भई हाल सुनसरी धरान ५ बस्ने वर्ष २८ की अनिता वि.क.

बरामद सामानहरु:

  • खाली पासबुक थान ७९३
  • भरिएको पासबुक थान १०८
  • ल्यापटप थान १
  • दैनिक बचत रजिष्टर थान १
  • आम्दानी खर्च रजिष्टर थान १
  • चल्ती खाता रजिष्टर थान १
  • व्यक्तिगत खाता रजिष्टर थान १
  • संगम लेखेको रजिष्टर थान १
  • बचत खाता २०७४ लेखेको रजिष्टर थान १
  • नगदी रसिद ठेली थान ५
  • राजिनामा लिखत थान ४
  • ब्लूप्रिन्ट नक्सा थान २
  • धितो रखिएको जग्गाधनी पूर्जा थान १
  • तमसूक लिखत थान २
  • हलेसी गहना गृहको सापटी लगानी लिखत कागज थान १
  • कर्जा स्वीकृति कागज थान १
  • रकम जम्मा गरेको र निकालेको कागजात पाना १२८
  • कम्पनी रजिष्ट्रारको कार्यालयको पत्र पाना ५
  • २०७४ दैनिकी खाता थान १
  • विभिन्न बैंकका भौचर भएको फाईल थान १

स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम रु. ६,९९,८०,७३७ /- ( छ करोड उनान्सय लाख असी हजार सात सय सैंतीस रुपैयाँ )

३.चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगर, मोरङ

पक्राउ संख्या १

जिल्ला मोरङ विराटनगर म.न.पा.१२ बस्ने वर्ष २७ का राजु साह

बरामद सामानहरु:

  • सञ्चालक समितिको वैठकको मइन्युट थान१
  • नेपाल बङ्गलादेश बैंक लि. को चेक बुक थान १
  • दैनिक रकम बचत फाइल थान १
  • तमसुक लोनको फाईल थान १
  • बचतकर्ताले भर्ने आबेदन फारम भएको फायल थान १
  • कर्जा दिएको सक्कल तमसुक पाना ३
  • दृष्टी बन्धक सक्कल कागज पाना १
  • धितोको जग्गा धनी प्रमाण पूर्जा पाना २

स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम रु. ८,६१,२७४/- (आठ लाख एकसठ्ठी हजार दुई सय चौहत्तर रुपैयाँ)

  • मन्सुन ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरी, सुनसरी

पक्राउ संख्या १

जिल्ला सुनसरी  ईटहरी  उ.म.न.पा.वडा नं. ४ बस्ने वर्ष ३४ का सुनिल गुरागाई

बरामद सामानहरु:

  • बचत तथा ऋण पास बुक थान -१४
  • डिपोजिट स्लिप थान- ७६
  • बचत रजिष्ट्रर थान-१
  • ऋण रजिष्ट्रर थान-१

स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन  गरेको बचत रकम रु ५०००,०००/- (पचास लाख रुपैयाँ )

 

  • छिन्ताङ् ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी, सुनसरी

पक्राउ सङ्ख्या : २

जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. ०८ बस्ने वर्ष-२८ का डिल्ली प्रसाद आचार्य  

जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. ०८ बस्ने वर्ष- ३५ का प्रकाश आचार्य

बरामद सामानहरु:

  • बचत पासबुक थान ५२४
  • ऋण पासबुक थान ५२२
  • कलेक्सन रसिद थान ९
  • नगद रसिद थान १०
  • कर्जा फारम थान २
  • भर्पाई प्याड थान ६
  • तमसुक प्याड थान १

(उक्त ईन्भेष्टमेन्ट कम्पनीले स्थानीय जनताबाट बचत संकल्न ऋण प्रवाह गर्ने कार्य भर्खर शुरु गरेको )

 

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु :-

  • माथी उल्लेखित ईन्भेष्टमेन्ट कम्पनीहरुले कम्पनी रजिष्ट्ररको कार्यालयमा दर्ता गरेको उदेश्य विपरित कार्य गरेको
  • वित्तिय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैक तथा सहकारी बिभगको स्वीकृत नलिई अवैधानिक रुपमा वचत संकल्न तथा ऋण प्रवाह गर्ने कार्य गरेको
  • बैक तथा सहकारीको ब्याज भन्दा बढी ब्याज दिने प्रलोभन देखाई बचत संकल्न गरेको र उक्त बचतलाई २४ % भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको ।
  • उक्त ईन्भेष्टमेन्ट कम्पनीले स्थायी रुपमा कार्यालय एक ठाउँमा नराखी आफनो सुविधाको लागि झोलाबाट नै कार्यालय संचालन  गरेको ।
  • हाल सम्म अवैधानिक रुपमा संकलन गरेको रकम रु ९,९७,८९,६७१/-(नौ करोड सन्तानब्बे लाख उनान असी हजार छ सय एकहतर) देखेता पनि विगो रकम अझै बढन सक्ने देखिएको   ।