धरान / प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि पूर्वको धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्रमा भक्तजनको भीड लागेको छ ।

 पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेको छ । यहाँ तीन दिनसम्म मेला आयोजना गरिएको छ । 

 दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको  वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

२७ गतेसम्म लाग्ने मेला बराहक्षेत्र मन्दिर क्षेत्रको कोकाहा र सप्तकोसी नदी किनारमा लागिरहेको छ । नेपाल तथा भारतको बिहार, दार्जिलिङ, सिक्किमबाट एक लाखको हाराहारीमा भक्तालु आउने अनुमान आयोजकले गरेको छ ।

हिन्दु धर्मशास्त्र स्कन्ध र वराह पुराणअनुसार भगवान् विष्णुले कोकाहा कौशिकी तटमा पहिलो पटक श्राद्ध गरेको हुनाले मानव जाति आफ्ना स्वर्गीय पितृको श्राद्ध गर्न आउने परम्परागत धार्मिक आस्था छ ।

दिवङ्गत भएका आफ्ना पुर्खा, पूर्वज जो पितृलोकमा छन्, उनीहरूलाई नै हाम्रो सनातन संस्कारले पितृको संज्ञा दिएको छ । धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देव ऋण, गुरु ऋण र पित् ऋण)मध्ये पितृ ऋण तिर्ने माध्यम श्राद्धलाई मानिन्छ ।

वराहक्षेत्र संरक्षण मञ्च, वराहक्षेत्र वातावरणीय तथा सरसफाइ संस्था, गुप्त वराह सम्बर्द्धन समिति र वराह दर्शन फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको मेलामा तीर्थयात्रीको लागि मन्दिर क्षेत्रमा स्नान घर, शौचालय, श्राद्ध तर्पण गरिने स्थललगायत निर्माण गरिएको छ । 

 सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ ।

  यसै आधारमा आज सुनसरीको बराहक्षेत्रसँगै राजधानीको गोकर्णेश्वर उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

 दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिइ गरिने श्राद्ध शास्त्रीयरुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको जानकारहरु बताउछन् ।

    महालय परपक्ष र पितृपक्षसमेत भनिने सोह्रश्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघरतिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ  ।