धरान ।सुनसरीको धरानमा  १० के रन खुल्ला  दौड प्रतियोगिताको १२ औँ संस्करणको तयारी शुरु भएको छ । 

dharan run  2

निरन्तर हरेक वर्ष हुँदै आएको उक्त प्रतियोगिता यो वर्ष भने यही फागुन १२ गतेको लागि तय भएको छ । आयोजकले आज धरानमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष रोमु राईले यो वर्षको प्रतियोगिता यही फागुन १२ गते हुने र उक्त प्रतियोगिताको तयारी शुरु भएको वताउनु भएको छ ।

उहाँका अनुसार यो वर्ष  प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहित ३ हजारको सङ्ख्यामा सहभागीहरू दौडने अनुमान गरिएको छ ।प्रतियोगितामा खुल्ला तर्फ महिला तथा पुरुषले प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार, ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । १२ वर्षमुनिका र १२ देखि १५ बर्षसम्मकाले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् ।

दौडको निम्ति यो वर्ष नयाँ रुट कायम भएको जनाइएको छ ।  पुतली लाइनबाट सुरु भई देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हात्तीसार क्याम्पस, रेडक्रस भवन,अमरहाट कर्भड हल, जिरो पोइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चौक, पानीटंकी, कल्याण चौक, मङ्गलबारे, रत्न चोक, बुद्ध चौक, दुर्गा चोक हुँदै अन्तिम विन्दु पुतली लाइन हुने भएको छ ।

नयाँ रुट धरानमा लागु गरिएको ‘वान वे ’ प्रणालीको समर्थनमा निर्धारण गरिएको अध्यक्ष राईले बताउनु भएको छ । प्रतियोगिता फागुन १२ गते  बिहान साढे ७ बजे देखि हुने दौडको समापन भानुचौकमा समापन तथा पुरस्कार वितरण कार्यक्रम जनाइएको छ ।

प्रतियोगितामा १२ वर्षमुनिका बालबालिकालाई ३ किमी दौडाइने छ । १२ वर्ष मुनिका बालबालिकाको दर्ता शुल्क ४ सय,अन्य समूहको मङ्सिर २१ गते सम्म ४ सय, माघ २९ सम्म ५ सय र सो भन्दा पछि फागुन ५ गते सम्म दर्ता गर्दा ७ सय शुल्क निर्धारण गरिएको छ । फागुन ६ गते दर्ता  प्रक्रिया पूर्ण रूपमा बन्द हुनेछ ।

प्रतियोगितामा धरानका स्थानिय धावक धावककालाई प्रोत्साहन स्वरूप आकर्षक पुरस्कार दिइने छ । सोही अवसरमा ह्वेल चियर रेस पनि गराइने छ । सहभागी सबैलाई टिसर्ट उपलब्ध गराइने तथा दौड पुरा गर्नेहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

प्रतियोगिताबाट खर्च कटाएर बचेको रकम धरान रन समूहको नेवा एजुकेसन फण्डमा जम्मा गरिने अध्यक्ष राईले बताउनु भएको छ  । नेवा एजुकेसन फण्डले सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आएको छ । २०६९ सालमा प्रथम नेवा च्यारेटी ८ के९रन हुँदै यसपालि १२ औँ नेवा च्यारेटी १० के रन हुने भएको हो ।

खुल्ला दौडमा सहभागी विजेताहरूले तोकिएका रुट हुँदै अन्तिम विन्दु पुग्न तय गरेको समय ‘एक्युरेट’ पारदर्शी बनाउन धरान १० के रनले यसपालि जुत्ताको लेसमा टाइमिङ चिप सिस्टम राख्ने भएको छ ।

फोटो ः– विकास चाम्लिङ राई