• नगिता लेप्चा राई
शरीरको सबैभन्दा माथिल्लो भागमा धमाससात बस्ने अङ्ग टाउको हो । हामी तपाई सबैको टाउको छ । तर मेरो विचारमा टाउको सबैको हुँदैन । त्यसैकारण जनसङ्ख्या गणनाको समयमा टाउको नगनेर खुट्टा गन्ती गरी त्यसलाई दुइले भाग गरी जनसङ्ख्या निर्धारण गर्ने प्रस्ताव सेन्सस् डिपार्टमेण्टमा उठेको थियो भन्ने हल्ला सुनिएको थियो । प्रस्ताव मलाई नराम्रो लागेन । मेरो विचारमा,  पदसङ्ख्या गनिनै नै हाम्रो सामाजिक रीतिथितिसित सामञ्जस्य राख्नु हो । म सहमति हुनुको अर्को पनि कारण छ हामी पद मर्यादाको कुरा मात्रै सुन्छौं तर टाउको मर्यादाको कुरा कहिल्यै सुन्दैनौं । बड़े बड़े डाकू, हत्यारा, कुख्यात बदमाश वा जेलबाट भागेका कैदीहरूका टाउको बाहेक अरु कसैको टाउकोको मूल्य घोषणा गरेको छ सरकारले ?  बड़े बड़े ख्यातिप्राप्त साहित्यकारहरूले पाउऩे पुरस्कार तिनीहरूका टाउकाको मूल्य हो ? हुन पनि सक्छ । नहुन पनि सक्छ । थोरै साहित्यकारलाई टाउकोबाट सिर्जना भएको सिर्जनाको निम्ति पुरस्कृत गरे पनि धेरै साहित्यकारहरूलाई टाउको हेरेर होइन उनको लबी, चाप्लुसी हेरेर पुरस्कार प्रदान गरिन्छ भन्ने बजारभरि नै हल्ला सुनिन्छ । 
टाउको होस् कि नहोस् एउटा गतिलो पदमा आसिन भयो कि तपाई माननीय । यसैकारण कालो अक्षर भैँसी बराबर ठान्ने गाउँका मुखिया पनि हाम्रो निम्ति माननीय । कनीकुथी सही मात्र गर्नु जान्ने मन्त्री पनि हाम्रो निम्ति पूवास्तवमा पद मर्यादा नै असल कड़ी हो । भक्ति गर्दा हामी खुट्टामाथि नै हाम्रो टाउको राख्छौं तर कदाचित टाउकोसित टाउको ठोक्काउँदैनौं । जुन माननीय महादयप्रति हाम्रो भक्ति बड़ी हुन्छ तिनीहरूको पदसङ्ख्या बढ़ाउनु नै हामी हाम्रो परम कर्त्तव्य ठान्छौं ।
जुन वस्तुको गुरुत्व जति बढ़ी हुन्छ त्यो वस्तु त्यति निम्नगामी हुन्छ । यो विज्ञानको कुरो हो । त्यसैले गुरुत्वकै कारणले खुट्टा माटोमा अड़िएको हो । टाउकाको गुरुत्व कम भएकोले नै हामी शिर उचालेर हिँड्छौं ।
वैज्ञानिकहरूले ‘मान्छे’को परिभाषा बताउँदै पदयुगल (पदजोड़ी)कै महत्व दिँदै भनेका छन् - “म्यान टूल मेकिङ बाइ पेड” अर्थात् हतियार तयार गर्न सक्षम द्विपद प्राणी नै मानिस हो । यसो हो भने कुखुरालाई पनि “मिल मेकिङ बाई पेड” अर्थात् भोजन तयारी गर्न सक्षम भन्दा के बिग्रन्छ र ?
ग्रीक पुराणका दानव स्फिडक्सको सम्झना आइरहेछ यतिबेला मलाई । यो दानव बाटाको छेउको एउटा अग्लो चट्टानमाथि बसिरहन्थ्यो र पथयात्रीहरूलाई सोध्ने गर्दथ्यो –कुन प्राणी विहान चार खुट्टाले , दिउँसो दुइ खुट्टाले अनि साँझमा तीन खुट्टाले हिँड़्छ ? यस प्रश्नको सठिक उत्तर दिएका थिए थिब्स नगरका राजकुमार इडिपसले । यो प्रश्न पुरानो भइसक्यो तर यस प्रश्नको उत्तर तपाई जान्नुहुन्छ सायद ।
दानवले जुन प्राणीबारै प्रश्न गरेको थियो त्यो प्राणी हो मानिस । शैशवकालमा नानी बामे सर्छ, यसपछि दुइ खुट्टाले अनि बूढ़ेसकालमा लौरो हातमा लिएर हिँड्छ...ती मानिसलाई त्रिपद भनिन्छ । तर शैशवकालमा मानिसलाई चतुष्पद र वार्धक्यमा त्रिपद विशिष्ट भन्दैनौं हामी । चेपेगाँड़ा, भ्यागुता होइन, बामे सर्ने शिशु पनि पूर्णाङ्ग मानिस होइन । लौरो टेकेर हिँड़्ने वृद्धलाई हामी पदमर्यादा दिँदैनौं ।
मानिसको पद जस्तो पदाधिकार पनि छ । यो अधिकृत पद जन्मसूत्रमा पाउन पदयुगलको तुलनामा बढ़ी मरत्वपूर्ण छ । असल हिँड़्न थालेपपछि हामी भूमिमा दण्डयमान रहन सक्छौ तर समाजमा प्रतिष्ठाको आसन पाउँदैनौं ।  समाजको आँखामा मनुष्यपद मान्य हुनु हो भने  एउटा अर्जित पद पनि चाहिन्छ । यो पद नै मानिसको आइडेण्टिटी हो । यो तेस्रो पदको निम्ति नै कोही वकिल, कोही अफिसर, म्याजिष्ट्रेट, कोही सचिव, कोही अध्यक्ष हुने गर्छन् ।  जुन मानिसले पैत्रिक पदयुगल बाहेक कुनै थप पद अर्जन गर्न सक्दैन त्यो मानिस युगल खुट्टा हुँदाहुँदै पनि अपदस्थ हुन्छन् । तिनको आकार जस्तै किन नहोस् तिनी बेकार...फगत बेकार मात्र हुन्छन् ।
यसकारण जति पनि पदस्थ (उच्चो ओहोदा) मानिसहरू छन् तिनीहरू जम्मै त्रिपद प्राणी । यसो र मानिसलाई हतियार निर्माणकारी द्विपद नभनेर गृहपालित त्रिपद प्राणी भन्नु नै समिचिन देखिन्छ । यो परिभाषाको नाफा के छ भने,  यसमा स्वार्थहीनरुपले मानिसलाई सहजै चिन्न सकिन्छ । किनभने मानिस बाहेक अऩ्य कुनै गृहपालित प्राणी त्रिपद हुँदैनन् । प्रसङ्गवश यहाँ भन्न मन लाग्यो, त्रिपद नभए मानिस साधारणतः गृहपालित हुँदैन । तृतीय पद हासिल नगरे गृहिणी पाइँदैन अनि गृहिणी हासिल नभए कोही गृहपालित हुँदैन । मनुले भनेका छन्, गृह होइन, जाया (श्रीमती) नै गृह हो । जायाहीन (श्रीमती बेगरको) गृह अरण्य समान हुन्छ । अझ त्यो गृहमा उवाँ...उवाँ...भएन भने नारायण त्यो गृह श्मशानतुल्य हुन्छ । 
अर्को कुरा, साधारण मानिसको तुलनामा जसको गुरुत्व बढ़ी हुन्छ तिनको पदसङ्ख्या पनि अनुपातिकरुपमा हरदर बढ़ी हुन्छ । तिनीहरू कोही चतुष्पद, बहुपद हुन्छन् ।  देश तथा देश सेवामा जो समर्पित हुन्छन्  तिनीहरूलाई प्रायः नै एकाध पदमा आसिन रहनुपर्छ । यिनीहरूमध्ये जसले एकचोटि दुइ पद वा पोर्टफोलियो लिई राख्छन् तिनीहरूलाई चतुष्पदी गोत्रका भन्न सकिन्छ । यस्ता महत्वपूर्ण व्यक्तिहरू पनि छन्  जो एकैचोटि विभिन्न कमिटी, एकभन्दा धेर सङ्घ-संस्था तथा स्कूल-कलेजका सचिव वा अध्यक्ष पदमा आसिन छन् ।  पदसङ्ख्यामा यिनीहरूले धेरैले नै चङ्गालाई पनि जिताउँछन् । यिनीहरू कोही समपद, कोही माकुराको खुट्टा जस्तो अष्टपद हुन्छन् । यस्ता पदमा आसिन हुनेहरूले भत्ता पनि  पाउँछन् तर गोप्य रुपमा । तर यो गोप्य भत्तालाई अफ दि रेकर्ड मानिलिनुपर्छ । यो पिथोगोरसको कुनै थ्योरी होइन भारतीय थ्योरी हो ।
(खोलाचन्द फाप्री, जलपाइगड़ी, भारत)