बिराटनगर / एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी मैदानमा थिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थिए । तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् । प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा गरेको छ । यससँगै अव राईलाई मुम्य मन्त्रि हुने बाटो खुलेको छ ।

दलको नेता चुनिएपछि शेरधनले भने- फागुन २ भित्र प्रदेश सरकार

एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलको नेता शेरधन राईले अब प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्ने बताएका छन् । उनका अनुसार ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार बन्नेछ । पार्टीको आन्तरिक दलको नेता चयन भएपछि राईले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ ।’

फागुन २ भित्र प्रदेश सरकार बन्ने भन्दै उनले प्रदेशलाई भ्रष्टाचारमुक्त सम्बृद्ध बनाउने बताए । उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । राईले भने, मैले कुनै भेदभावको दृष्टिले हेर्नेछैन । सबै माननीय सदस्यहरुलाई समान दृष्टिले हेर्ने र जिम्मेवारी प्रदान गर्नुपर्छ र म गर्छु पनि ।’

को हुन् शेरधन राई ?

27545054_1566920830082522_7590060730516707160_n

२०२७ साल फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति गरेका हुन् । बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट जन्मिएका उनी भलिबल खेलाडी पनि हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन् । ०४७ सालमा पार्टीको सदस्यता लिएका राईले त्यसपछि २ पटक सम्म विद्यार्थी संगठनको पूर्वाञ्चल प्रमुख भएर काम गरे । त्यसपछि भोजपुर जिल्लाको पार्टी कमिटिमा निर्विरोध चयन हुँदै ४ पटक भूमिका निर्वाह गरे । ‘भोजपुर जिल्लाको इतिहासमा म नै निर्विरोध निर्वाचित भएको एउटा मात्रै पात्र हुँ,’ राईले भने, ‘पदाधिकारी लेबलमा लामो समय काम गर्ने र उत्कृष्ट काम गरेको म नै हुँ ।’

२०५४ सालमा एमाले विभाजन हुँदा होस् या ०६२÷०६३ सालपछि भएको पहिलो संविधानसभा पछि अशोक राईहरुले पार्टी छाड्दा पनि अविचलित भएर राई एमालेमै रहिरहे । ०५६ सालको निर्वाचनमा सबैभन्दा कान्छो सांसदको रुपमा २७ वर्षमै राज्यको निति निर्माण गर्ने तहमा पुगेका राई ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी भएका थिए ।

संविधानसभामा रहँदा सुशासन समितिमा रहेर काम गरेका राई केपी ओली नेतृत्वको सरकारका पालामा उत्कृष्ट संचारमन्त्री भएर काम गरेको सबैले बताउँछन् । ‘सरकारको सफल संचारमन्त्रीको रुपमा मैले काम गरेको थिएँ,’ उनले भने, ‘मेरा सबै कार्यकाल सफलतापूर्वक सम्पन्न भएका छन् ।’

गाउँमै ७ कक्षासम्म अध्ययन गरेका राईले भोजपुरको घोडेटारमा रहेको सगरमाथा माविबाट एसएलसी, भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको पाटन क्याम्पसबाट एमएसम्मको अध्ययन गरेका छन् ।

शुक्रबार दिउँसो मोरङको जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । उनै राई यो प्रदेशबाट मुख्यमन्त्री बनेको हेर्न केही दिन मात्रै कुर्नुपर्नेछ ।

सपनाले थिचिएका शेरधन
शेरधनको राजनीतिक यात्रा सधैं रफ्तारमै दोडिरहेको छ । धेरै घुम्ती र मोड आए पनि गति तेज नै छ । तर, एउटा जीन्दगी पछाडि नै छोडिएको छ । उनको विवाह अहिलेसम्म भएको छैन । मुलत राजनीतिक दौडधुपको कारण नै विवाहको लागि समय नभएको उनले बताउने गरेका छन् । उनले राजनीति यात्रामा पाएको सफलताको कारण उनको निष्ठा र इमानदारिता नै हो । सबै कामहरु निष्ठा पूर्वक गरेको बताउँछन् शेरधन । उनी संसद, मन्त्री संसदीय समितिका सभापति भइसके । तर, उनको बुवाआमा भोजपुरको पसलभज्याङमै छन् । बुवा अझै हलो जोत्छन् । आमा पतकर बटुल्छिन् । शेरधनको लागि आफ्नो र परिवारको सुखभन्दा सबैको सुख महत्वपूर्ण रह्यो । भन्छन्,‘हामी सबैको सुखद र उज्यालो भबिष्यको लागि मेरो विगत र बर्तमान समपर्ण गरेको छु ।’