विराटनगर र नेकपा एमाले १ नम्बर प्रदेश संसदीय दलको नेताको निर्वाचनमा दुई जनाको प्रतिष्पर्धा हुने देखिएको छ । मुख्यमन्त्रीको दाबीसहितको उम्मेदवारी घोषणा गरेका जीवन घिमिरे चुनावी दौडबाट बाहिरिने सम्भावना देखिएपछि भीम आचार्य र शेरधन राईबीच प्रतिष्पर्धा हुने भएको छ ।

चुनावी प्रतिष्पर्धामा उत्रिन लागेका आचार्य एमाले केन्द्रीय कमिटी सचिवका साथै १ नम्बर प्रदेश इञ्चार्ज हुन् भने राई पार्टीको बैकल्पिक पोलिटब्यूरो सदस्यका साथै १ नम्बर प्रदेश सह–इञ्चाज हुन् । एमाले संसदीय दलको निर्वाचन भोलि शुक्रबार हुँदैछ ।

दुबैले जीत सुनिश्चित हुने दाबीसहित तीब्र लविङ सुरु गरेका छन् । मिडियामार्फत उम्मेदवारी घोषणा गरेका घिमिरेलाई भने टिममा रहने कि बाहिरिने दबाब बढेपछि द्विविधा बढेको बताइन्छ । एमाले पार्टीभित्र आचार्य र घिमिरे एउटै समूहको प्रतिनिधित्व गर्छन् । उनीहरू माधवकुमार नेपाल समूहका हुन् । राई पार्टीको संस्थापन पक्ष अर्थात केपी ओली समूहका हुन् । नेपाल समूहभित्रै दुई जनाको उम्मेदवारी परेको अवस्थामा मत बाँडिने भएकाले घिमिरेलाई उम्मेदवारी फिर्ता लिन दबाब बढेको हो ।

नेपाल समूहको बैकल्पिक नेता बन्ने दाउसहित घिमिरेले उम्मेदवारीको घोषणा गरेका थिए । तर, माधवकुमार नेपाल र झलनाथ खनालले आचार्यलाई आधिकारिक ठान्दै घिमिरेलाई उम्मेदवारी नदिन निर्देशन दिएको बुझिएको छ ।

आचार्यलाई सघाउन नेपाल तथा खनाल समूहबाट अर्का सचिव योगेश भट्टराई मैदानमा आएका छन् । भट्टराईसहित एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले अहिले आचार्यको पक्षमा माहौल बनाउने काम गरिरहेका छन् । त्यस्तै, अर्का पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय सल्लाहकार कमिटी सदस्य राजेन्द्र गौतमलगायत राईलाई संसदीय दलको नेता बनाउने लविङमा लागेका छन् ।

दुबैको जित्ने दाबी
१ नम्बर प्रदेशको संसदीय दलको नेता चयन सर्वसम्मत हुने सम्भावना लगभग सकिएको बताइन्छ । चुनावी प्रक्रियामा जाँदा दुबैले जित्ने दावी गरेका छन् । तर, दुबै पक्ष त्यतिकै सशंकित पनि छन् । २र४ मत पनि यताउता हुँदा परिणाम उल्टिने भएकाले कसले बाजी मार्ने भन्नेमा भगवान भरोसा भएको दुबै पक्षको भनाई छ । एमाले संसदीय दलमा ५१ जना सदस्य छन् ।

दुबै समूहले क–कसले आफूलाई मत देलान् भनेर सूचि बनाएका छन् । त्यस्तो सूचीको बर्गीकरण पनि गरेका छन् । जस्तोः शतप्रतिशत मत दिन्ने दुबै पक्षका ‘हार्डकोर’, विगतका सम्बन्धमा आधारमा मत दिन सक्ने, जातीय आधारमा मत दिन सक्ने, भूगोलका आधारमा मत दिन सक्ने, कुनै कारणले अर्कालाई मत नदिएर लाभको मत आफूलाई आउनेलगायतका आधारमा सूचि बर्गीकरण गरेका छन् । त्यस्तो सूचि बनाएर दुबै पक्ष कुनै बेला आनन्दित र कुनै बेला खिस्रिक्क हुने गरेका छन् ।

आचार्य समूहले ३२ जनाको कतै पनि दायाँबायाँ नहुने भनेर आफ्नो सूचि बनाएको छ । त्यस्तै, ४ जना अरु थपिने भनेर द्रष्टब्यसहितको अर्को सूचि पनि बनाएको छ । २ जनालाई गडबढीको सूचिमा राखेर अर्को अलग्गै सूचि पनि बनाएको छ । आचार्य समूहका एक नेता आप्mनो समूहले चुनाव जितिसकेको तर, घोषणा हुनमात्र बाँकी रहेको दाबी गर्छन् । उनी भन्छन्–‘मिडियामा हामी कम छायौं, तर त्यसैको कारणले चुनाव हार्छ भनेर कसैले भन्छ भने गलत सावित हुनेछ ।’

यता, शेरधन राई समूह पनि चुनाव जित्नेमा आपूmमा कुनै द्विविधा नभएको दावी छ । जनजातीको छोरो जनजातीको बाहुल्य रहेको प्रदेशबाट चुनाव हार्नै नसक्ने सो समूहको दावी छ । कम्तीमा ३ मतको फरकले चुनाव जित्ने राई समूहले दावी गरेको छ । सो समूहका एक नेताले सूचि लगभग मिल्दोजुल्दो नै भएको प्रतिक्रिया दिए । तर, केही नाम तलमाथि हुने उनले उल्लेख गर्दै त्यस्तो सूचि संसदीय दलको निर्वाचनमा खारेज हुने दावी गरे ।

शुक्रबार संसदीय दलको नेता छान्दै
एमालेले १ नम्बर प्रदेशको संसदीय दलको नेता चयन गर्न प्रेम पोखरेलको संयोजकमा तीन सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । निर्वाचन कमिटीले मंगलबार निर्वाचन कार्यक्रम पनि प्रकाशित गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ २६ गते मंगलबार ११ बजेदेखि एकै दिन निर्वाचनका सबै कार्यक्रम सम्पन्न भई संसदीय दलको नेता छान्ने काम सकिने छ । एमालेका संसदीय दलका नेता नै १ नम्बर प्रदेशको मुख्यमन्त्री हुने भएकाले सो निर्वाचनलाई धेरैले चासोपूर्वक हेरेका छन् । उद्घोशबाट