विराटनगर / एकल बहुमत पाएको एमालेबाट मुख्यमन्त्री को बन्छ भन्ने विषयले प्रदेश १ तातेको छ । प्रदेश १ का एमाले संयोजक भीम आचार्य र सहसंयोजक शेरधन राईमध्ये एकलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने कसरत एमालेभित्र भइरहेको छ । दलको नेता निर्वाचनबाटै टुंगो लाग्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

आकांक्षी तीन भोटिङ भए दुई मात्रै
प्रदेश १ मा एमालेका प्रदेश सदस्य ५१ जना छन् । दलको नेताका लागि आचार्य र राईसँगै जीवन घिमिरेले शीर्ष नेतृत्वसँग लबिङ गर्दै आएका छन् । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संयोजक आचार्य र सहसंयोजक राई अन्तिम अवस्थासम्म प्रतिस्पर्धामा रहने भएका छन् । आचार्य र राईबीच कडा प्रतिस्पर्धा भइरहँदा तेस्रो विकल्पका रूपमा जीवन घिमिरे अघि सरेका छन् । नेता माधवकुमार नेपाल पक्षका मानिने घिमिरेलाई शीर्ष नेतृत्वबाट साथ रहेको बताइए पनि अन्ततः नेपाल पक्षकै भीम आचार्यको पक्षमा घिमिरे लाग्ने एक नेताले बताए ।

एमालेले निर्वाचनमार्फत २६ माघमा प्रदेश १ को संसदीय दलको नेता चयन गर्नेछ । सोही प्रयोजनका लागि एमाले संसदीय दलको बैठक बोलाइएको छ । प्रदेश १ का संयोजक आचार्यले वरिष्ठताका आधारमा आफू संसदीय दलको नेताको प्रमुख दाबेदार रहेको बताए । ‘म पञ्चायतकालदेखि नै राजनीतिमा छु । अन्य साथीहरूले पनि आकांक्षा देखाउनुभएको छ । तर पार्टीका साथीहरू मतदाता सांसदले मलाई विश्वास गर्नुहुन्छ भन्ने लाग्छ,’ उनले भने ।

दलको नेताका आकांक्षी शेरधन राईले २६ माघअघि नै सर्वसम्मत नेता चयन गर्ने प्रयास भइरहेको बताए । ‘सकभर सर्वसम्मत रूपमा नेता चयन हुनेछ । नभए अन्तिम विकल्प भनेको भोटिङ नै हो । मैले पार्टीभित्र र सरकारमा जाँदा निर्वाह गरेको भूमिका राम्रो भएकाले मतदाता सांसदहरूले मलाई विश्वास गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भने ।

आचार्यको पक्षमा सर्वसम्मतको प्रयास, योगेश भट्टराई विराटनगरमा
आचार्य एमाले सचिव र प्रदेश १ को संयोजक पनि हुन् । वरिष्ठताको आधारमा आचार्य अघि रहेकाले उनको नाममा सर्वसम्मत गर्ने प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ । माधव नेपाल पक्षका मानिने सचिव भट्टराई अर्का सचिव आचार्यको नाम सर्वसम्मत गराउन विराटनगर आएको एमाले स्रोतको दाबी छ ।

सर्वसम्मत वा भोटिङ दुवैमा राई अघि हुने दाबी
एमाले अध्यक्ष केपी ओली पक्षधरले भने सर्वसम्मत वा भोटिङ जे भए पनि पूर्वमन्त्री शेरधन राई नै संसदीय दलको नेता चयन हुने दाबी गरेका छन् । वरिष्ठताको लेखाजोखाभन्दा पनि कार्यसम्पादनको हिसावमा राई अघि रहेको उनीहरूको तर्क छ । ‘मन्त्री हँदासमेत शेरधन राईको भूमिका महत्वपूर्ण रह्यो । पार्टीको पोलिटब्युरो सदस्य र युवा पनि छन् । उनैलाई दलको नेता बनाउनुपर्छ,’ संस्थापन पक्षका एक नेताले भने ।

अधिकांश सांसद दलको नेता चयन गर्ने विषयमा खुलेर लागेका छन् । सांसद परशुराम मेघी गुरुङले वरिष्ठताको आधारमा प्रदेश १ का संयोजक नै दलको नेता बन्नुपर्ने बताए । ‘पार्टीभित्र वरिष्ठताको महत्व हुन्छ । यस हिसावमा पनि प्रदेश १ को संयोजक दलको नेता बन्ने लाइनमा हुनुहुन्छ । उहाँ नै चुनिने सम्भावना बढी छ,’ उनले भने ।

सर्वसम्मतको प्रयास गर्दैछौँ : योगेश भट्टराई
संसदीय दल चयन गर्नका लागि एमाले सचिव योगेश भट्टराई र सांसद भानुभक्त ढकाल विराटनगरमै छन् । सचिव भट्टराईले पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मतको प्रयास गर्नु र नभए मतदानबाट टुंगो लगाउन सर्कुलर गरेको बताए । ‘प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेता को भन्ने विषय २६ गतेसम्ममा टुंगो लाग्नेछ । त्यसअघि सर्वसम्मतको प्रयास भइरहेको छ । अहिले यसै भन्न सकिन्न,’ उनले भने ।

कांग्रेसको संसदीय दलको नेता फागुन पहिलो साताभित्र
कांग्रेसले फागुन पहिलो साताभित्र प्रदेश संसदीय दलको नेता चयन गर्ने भएको छ । कांग्रेसले सातवटै प्रदेशमा संसदीय दलको विधान तयार गर्न नेता मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिले केन्द्रीय समितिलाई विधानको मस्यौदा बुझाएपछि र केन्द्रीय समितिले विधान पारित गरेपछि मात्रै दलको नेता चयन हुने प्रदेश १ का दलको नेताका आकांक्षी केदार कार्कीले बताए । उनका अनुसार विधान तयार भइसकेको सात दिनभित्र दलको नेता चयन हुनेछ । कांग्रेसबाट संसदीय दलको नेतामा केदार कार्की, हिमाल कार्की, राजीव कोइरालालगायतको चर्चा छ ।

संघीय समाजवादीमा जयरामको चर्चा
संघीय समाजवादीका तीन सदस्यले प्रदेश १ मा प्रतिनिधित्व गरेका छन् । तीमध्ये पूर्वसांसदसमेत रहेका जयराम यादव संसदीय दलको नेता बन्ने सम्भावना बढी छ । सत्तापक्ष र प्रतिपक्षीका लागि तीन सदस्य मात्रै रहेकाले प्रभाव नपर्ने भएकाले बिस्तारै दलको नेता चयन हुने सो पार्टीका एक नेताले बताए ।

राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आफैं सांसद, आफै नेता
राप्रपाबाट प्रदेश १ मा सांसद इन्दिरा राईले प्रतिनिधित्व गरेकी छिन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्बाहाङ्फेले प्रतिनिधित्व गरेकी छन् । एक सिट रहेको सो दलका संसदीय दलको नेता स्वतः प्रतिनिधित्व गरेका सांसद बन्नेछन् । माओवादी केन्द्रबाट टिकट नपाएर बागी उठेर जितेका नारायणबहादुर पुर्जा मगरले स्वतन्त्र सांसदको रूपमा प्रदेश १ मा प्रतिनिधित्व गरेका छन् ।

आचार्य र राई दिनभर सँगै, तर बोलचाल कम

विराटनगरस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा मंगलबार दिनभर राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ह्विप जारी गर्ने कार्यक्रम थियो । सो कार्यक्रमको अध्यक्षता प्रदेश १ का संयोजक भीम आचार्यले गरे भने कार्यक्रम सञ्चालन सहसंयोजक शेरधन राईले । बैठकमा एमालेका प्रदेश सांसद तथा गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको उपस्थिति थियो । बैठक हलमा सांसद तथा पार्टी कार्यकर्ताको घुइँचो थियो । राष्ट्रिय सभा निर्वाचनमा ह्विप जारीका लागि बैठक भनिए पनि बाहिर भने संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयको चर्चा बढी थियो ।

कार्यक्रममा दिनभरजसो भीम आचार्य र शेरधन राई छेउमै बसे । त्यसक्रममा उनीहरूबीच कमै मात्र बोलचाल भयो । बीचबीचमा दुवै नेता मोबाइलतिर हेर्दै फोनमा बोल्न बाहिर–भित्र गरिरहेका देखिए । उनीहरूको प्रस्तुति र हाउभाउले समेत एकले अर्काको नाममा सर्वसम्मत नेता मान्ने सम्भावना कम रहेको एमाले स्रोत बताउँछ ।

माओवादीमा चर्कियो आन्तरिक द्वन्द्व
प्रदेश १ इन्चार्ज गोपाल किरातीमाथि कारबाही माग

प्रदेश १ को संसदीय दलको नेता, सचेतक र उपसभामुख को बन्ने भन्ने विषयलाई लिएर माओवादी केन्द्रमा आन्तरिक द्वन्द्व चर्किएको छ । १३ र १४ माघमा प्रदेश पार्टी कार्यालयमा बसेको बैठकको निर्णयलाई उल्ट्याउँदै केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ इन्चार्ज गोपाल किरातीले एकल सिफारिस गरेको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको छ । असन्तुष्ट पक्षले किरातीलाई कारबाही माग गर्दै अध्यक्ष प्रचण्डसमक्ष १९ जना पोलिटब्युरो सदस्यको हस्ताक्षरसहित उजुरी दर्ता भएको छ । तर, उजुरीका हस्ताक्षर गर्ने केही सदस्यले नै हस्ताक्षर किर्ते गरेको भनेपछि माओवादीभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

उजुरीमा इन्चार्ज किराँतीले पार्टी गतिविधि कार्य गर्दै हिँडेको र अहिले आएर एकल ढंगले हस्तक्षेप गर्दै एकलौटी नाम सिफारिस गर्नु विधानविपरीत भएको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरिएको छ । उनीहरूले प्रदेश १ मा अध्यक्ष प्रचण्डकै रोहबरमा बैठक बसेर नाम टुंगो लगाउनुपर्ने माग गरेका छन् ।

सचिवालयको निर्णय उल्ट्याउँदै किराँतीद्वारा अरु नेताको सिफारिस
१३ र १४ माघमा बसेको प्रदेशस्तरीय सचिवालय बैठकमा सर्वसम्मत हुन नसकेपछि संसदीय दलको नेतामा टंक आङबुहाङ, इन्द्रबहादुर आङबो र रामकुमार राई, प्रमुख सचेतकमा मोहनकुमार खड्का, कुलप्रसाद साँवा र धिरेन्द्र शर्मा, उपसभामुखमा सरस्वती पोखरेल, उमिता बराइली, सरस्वती थेबे र सौभाग्यवती राईको नाम सिफारिस गरिएको थियो । तर, इन्चार्ज किराँतीले सचिवालयको निर्णयलाई उल्टयाउँदै सहइन्चार्ज सावित्री काफ्ले र सचिव हिमालको सहयोगमा दलको नेतामा इन्द्रबहादुर आङबो, सचेतकमा मोहनकुमार खड्का र उपसभामुखमा सरस्वती पोखरेलको नाम मात्र सिफारिस गरेको आरोप असन्तुष्ट पोलिटब्युरो सदस्यहरूको छ ।

माओवादी स्रोतका अनुसार प्रदेश १ मा दलको नेता, सचेतक र उपसभामुख र मन्त्री को को हुने भन्नेबारे द्वन्द्व चर्किएपछि २६ माघसम्म पुनः बैठक बसेर सहमतिमा टुंगो लगाइसक्ने र नलागे निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउने सम्भावना छ । प्रदेश १ मा वाम गठबन्धनको सरकारका लागि कुल १० मध्ये माओवादी केन्द्रले तीन मन्त्रालय र एक सभामुख प्राप्त गर्नेछ । अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।