अध्यक्ष ओलीसहित उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारीहरू डिनर बैठकमा सहभागी थिए । त्यसक्रममा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर स्वराजले लामो छलफल गरेको एमाले नेताहरूले जानकारी दिएका छन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आइपुगेकी हुन् । उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् । लगत्तै स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरिन् ।
स्वराजको सम्मानमा एमालेले होटेल सोल्टीमै रात्रिभोजको आयोजना गरेको थियो । रात्रिभोजमा एमाले टोली र स्वराजबीच छुट्टै छलफलसमेत भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
अर्थ राज्यमन्त्री राणाले गरे स्वागत
स्वराजलाई अर्थराज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा परराष्ट्रसचिव शंकरदास बैरागी, भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीसमेत उनको स्वागतार्थ उपस्थित थिए । विमानस्थल ओर्लिएलगत्तै उनी सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी थिइन् ।
भारतीय विदेशमन्त्री स्वराजले भ्रमणको कुनै ठोस एजेन्डा नरहेको बताएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन् ।
‘म यहाँ (नेपाल) मा मित्रहरूसँग भेटघाटका लागि आएकी हुँ, भ्रमणको सिलसिलामा मेरा कुनै एजेन्डा छैनन्,’ विमानस्थलमा स्वराजले भनिन् ।
उनको अभिव्यक्तिले बन्दै गरेको वाम गठबन्धन सरकारसँग सम्बन्ध सुधारका लागि भारत आतुर रहेको सन्देश दिएको छ ।
सुरुमै ओलीलाई भेटेर त्यसैको ‘वामअप’का लागि आफू नेपाल आएको उनले स्पष्ट सन्देश दिएकी छिन् ।
शुक्रबार राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट
विदेशमन्त्री स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट गर्दै छिन् । स्वराजको भेटको समय तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् ।
पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्बद्ध थिंकट्यांक आइडिएसएका नेपाल मामिला जानकार डा. निहार नायकले बताए ।
हाम्रा आयोजनालाई सहज ढंगले अघि बढाउन चाहन्छौँ
सुष्मा स्वराज, भारतीय विदेशमन्त्री
निर्वाचनमा तपाईंहरूले प्राप्त गर्नुभएको विजयप्रति बधाई भन्न चाहन्छु । मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारतका तर्फबाट तपाईंहरूलाई धेरै–धेरै बधाई छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ । तैपनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ ।
केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिका कामका लागि थप शुभकामना पनि छ ।
नेपाल–भारतबीच धेरै लामो गहिरो सम्बन्ध छ । यो सम्बन्धलाई धेरै राम्रोसँग अगाडि लैजानुपर्छ । नेपाल हाम्रा लागि अत्यन्त नजिकको छिमेकी मुलुक हो र छिमेकीप्रति हामीले पहिलो प्राथमिकताको नीति अवलम्बन गर्दै आएका छौँ ।
यो नीतिअनुसार पहिलेका कामलाई प्राथमिकतामा राखेरै सम्बन्ध अघि बढाउने भारत सरकारको नीति छ । हामीले अघि सारेका आयोजनालाई पनि त्यसअनुसार नै अघि बढाउन चाहिरहेका छौँं ।
नेपाल–भारत सम्बन्ध नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ
केपी ओली
काठमाडौंमा यहाँलाई स्वागत छ र बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ ।
आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौँ ।
हाम्राबीचमा साझा शत्रु गरिबी छ । हाम्राबीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौँ । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो । नयाँ पत्रिकाबाट